Comments Add Comment

बुटवलको चौराहा-गोलपार्क सडक विस्तार अझै लम्बिने

मुआव्जाका लागि घरजग्गाको थप प्रमाण पेश गर्न आयोजनाको आग्रह

५ माघ, बुटवल । अदालतको आदेशले अवरुद्ध बुटवलको चौराहा-चिडियाखोला सडक क्षेत्रका घर धनीलाई थप कागजात र प्रमाण पेश गर्न बेलहिया-बुटवल ब्यापारिक मार्ग आयोजनाले आग्रह गरेको छ ।

यो सडक खण्डमा सडक क्षेत्र अतिक्रमण गरी बनेका १५६ घर मध्ये ६ जनाको घरजग्गाबारे थप प्रमाण आवश्यक परेकाले १५ दिनभित्र पेश गर्न आयोजनाले सूचना जारी गरेको छ । यो सँगै सडक विस्तारको काम अझै लम्बिने भएको बछ ।

आयोजनाले कमलादेवी श्रेष्ठ/कृष्णकुमारी श्रेष्ठ,जनक कोइराला,किशोरकुमार श्रेष्ठ/निर्मला श्रेष्ठ,शायरा खातुन र जीवनलाल बज्राचार्यलाई थप प्रमाण र कागजात पेश गर्न भनेको हो ।

१५ दिनभित्र छानबिन गरी प्रमाण पुगे मुआब्जा दिएर जग्गा खाली गराइने छ । जग्गा खाली भएसँगै सडक विस्तार हुने आयोजनाले जनाएको छ ।
अदालतले पछिल्लो पटक जग्गाधनीहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत कानूनी प्रकृया पुर्‍याएर मुआव्जा दिएपछि मात्र सडक विस्तार कार्य गर्नु भन्ने आदेश दिएको थियो ।

अदालतको आदेश अनुसार निवेदकहरुका कागजात अध्ययन गर्दा १५६ जना निवेदक मध्ये १५० जनाको मुआब्जाका लागि प्रमाण नपुगेको र ६ जनाको हकमा थप कागजात हेर्नु पर्ने देखिएको हो ।

अदालतको आदेश बमोजिम कानुनी प्रक्रिया पुर्‍याएर सूचना प्रकाशन गरिएको आइतबार मात्रै सरुवा भएका आयोजना प्रमुख जिवेन्द्र मिश्रले बताए । ‘जिल्ला प्रशासन कार्यालयले आयोजनाको नाममा सूचना प्रकाशन गरेको हो,’ मिश्रले भने, ‘प्रशासनको सक्रियताले अव सडक विस्तार हुने संकेत देखिएको छ ।’

उक्त सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३५७ जनाले सडक सिमा मिचेकोमा १ सय जनाभन्दा बढीले यसअघि नै घर भत्काइ सडक खाली गरेका छन् ।

गत वैशाखमा सडक विस्तार रोक्न माग गर्दै अदालतमा रिट निवेदन परेको थियो । राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडक विस्तार कार्य तत्काल रोकी पाउँ भन्दै नारायणी देवी प्रधान लगायतका ३९ जना घरधनीले तुलसीपुर उच्च अदालतको बुटवल इजलासमा निवेदन दिएका थिए ।

सडकको ८२ फुट क्षेत्र मिचेर घर संरचना बनाएको भन्दै आयोजनाले सडक विस्तार गर्न खोजे पनि पटक पटक रोकिँदै आएको छ ।

आयोजनाले घर धनीहरुले घर टहरा भत्काएर सडक सीमा खाली नगरे आफ्नै मेसिनहरुको प्रयोग गरी भत्काउने र भत्काउँदा लागेको रकमसमेत घरधनीहरुबाट असुल गर्ने जनाएको छ ।

घरधनीहरुले दुई वर्षयता कहिले राजनीतिक नेतृत्व र कहिले अदालत जाँदै सडक विस्तारमा अवरोध गर्दै आएका छन् ।

आयोजनाले २०३४ असारभन्दा पहिले बनेका घरलाई मुआब्जा दिइसकेको छ । तर सडक अतिक्रमण गरी घर निर्माण गरेका घरधनीले अवरोध गर्दा सडक विस्तारमा ढिलाइ भएको छ ।

साढे तीन किलोमिटर यो सडक निर्माणको ठेक्का दुई वर्षअघि नै कन्चनजङ्घा-बिरुवा जेभिले पाएको हो । उसले ३० महिनामा सक्ने भनिएको सडक विस्तारको काम दुई वर्ष ढिलो भइसकेको छ ।

आयोजनाका प्रवक्ता गोविन्द श्रेष्ठले बुटवल-बेलहिया सडककै मापदण्डमा रहेर बुटवलको सडक विस्तार गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment