Comments Add Comment

चल्नै छाडे फिल्मका लोकगीत

माघे संक्रान्तीको अवसर पारेर चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक भयो । यो गीतमा नायक दिलिप रायमाझीदेखि नायिका प्रियंका कार्कीसम्मले अभिनय गरेका छन् । चलचित्रमा गीत छान्न सिपालु मानिने निर्माता किरण केसीले यो गीत तयार पारेका हुन् । तर, पनि यो गीतले दर्शकको ध्यान तान्न सकेन । सार्वजनिक भएको ५ दिनमा चलचित्रको गीतलाई ३ लाख भ्यूज मिलेको छ । गीतले बजारमा खासै गतिलो प्रभाव पारेको छैन । चलचित्रको टिमले अब नयाँ गीत सार्वजनिक गर्दा अझै ध्यान दिनुपर्ने अवस्था छ ।

हुनत, हरेक कुरा धेरै भयो भने त्यसले दर्शकको ध्यान तान्न सक्दैन । सायद, पछिल्लो समयमा चलचित्रमा लोकलयका गीतको अवस्था यस्तै हुँदैछ । ‘सुर्के थैली खै’ बोलको गीत हिट भएपछि नेपाली चलचित्रमा लोकलयका गीत राख्ने प्रचलन खुबै बढ्यो । यसपछि, चलचित्रका गीतमा लोकलयका गीत अनिवार्य जस्तै भयो । राजनराज सिवाकोटी यस्ता गीत बनाउन माहिर देखिए । तर, अब त उनका गीत पनि कमजोर देखिन थालेका छन् ।

तिहारपछि सार्वजनिक भएका आधा दर्जन चलचित्रमध्ये अधिकांश चलचित्रमा लोकगीत समावेश छन् । तर, ती सबै गीतले बजारमा कुनै तहल्का पिट्न सकेका छैनन् । चलचित्रमा लोकलयका गीत राखेर चर्चा पाउने र दर्शकको आकर्षण खोज्ने क्रम बढेको छ । तर, यसले गतिलो नजिता दिन सकेको छैन ।

चलचित्र ‘सेन्टी भाइरस’को ‘फनफनी’ बोलको गीतदेखि चलचित्र ‘लभ डायरीज’को ‘छमछम’ बोलको गीतको हालत पनि कमजोर रह्यो । नायक विराज भट्टले बनाएको ‘साङ्लो’को ‘चरीले काफल’ बोलको गीतको अवस्था पनि गतिलो रहेन । बरु, यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि चर्चा चुलिएको छ ।

अब, चलचित्र बनाउने मेकरले एउटा लोकगीत राख्नैपर्छ भन्ने भावले गीत तयार पार्नु फाइदाजनक नहुने देखिएको छ । चलचित्रमा कथाको माग भएको खण्डमा यस्ता गीत आवश्यक छन् । तर, एउटा गीत राखेको खण्डमा चलचित्र चल्छ भन्ने सोचबाट भने बाहिरिन जरुरी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment