Comments Add Comment

प्रधानमन्त्रीसँग शिवमायाको गुनासो : मेरो गल्ती के हो ?

उपसभामुख तुम्बाहाङफेले सोमबार राजीनामा दिने

५ माघ, काठमाडौं । नेकपाको सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाइरहँदा आइतबार नै उपसभामुख शिवमाया तुम्बाहाङफे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगिन् ।

भेटमा प्रधानमन्त्रीले भूमिका बाँध्दै पार्टी एकीकरणको मनोविज्ञान र शक्तिसन्तुलनलाई ध्यान दिएर अग्नि सापकोटालाई सभामुख बनाउन लागिएको जानकारी उपभामुखलाई गराए ।

यसअघि तुम्बाहाङ्फेले नेकपा सचिवालयको निर्णय नमान्ने र उपसभामुखमाथि दलको ह्वीप नलाग्ने बताएकी थिइन् । उनले आफू सभामुख बन्न पाउनुपर्ने माग गर्दै आइरहेकी थिइन् ।

आइतबारको भेटमा पनि उपसभामुखले सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको भागिदार आफूलाई बनाउन नमिल्ने प्रधानमन्त्री ओलीलाई बताइन् । आफूले सभामुख छाड्नुपर्ने कारण के हो, पार्टीले लिखित रुपमा देओस् भन्नेसमेत उनले प्रधानमन्त्रीसँग माग गरिन् ।

बालुवाटार स्रोतले अनलाइनखबरसँग भन्यो, ‘उपसभामुखज्यूले आफ्ना कुराहरु प्रधानमन्त्रीसँग राख्नुभयो, तर सोमबार उपसभामुखबाट राजीनामा गर्न उहाँ तयार हुनुभएको छ ।’

आइतबार बिहान बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच अग्नि सापकोटालाई सभामुख बनाउने विषयमा सहमति जुटेको थियो । त्यसपछि बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ ।

सभामुख चयनबारे छलफल गर्न सोमबार बिहान नेकपा संसदीय दलको बैठक बोलाइएको छ । दलको बैठकपछि बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख तुम्बाहाङफेले राजीनामा दिने र ज्येष्ठ सदस्यले सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने नेकपा स्रोतले अनलाइनखबरलाई बतायो ।

नेकपा सांसद डा. शिवमाया तुम्बाहाङफे ०७४ साल चैत्र २ गते प्रतिनिधिसभामा उपसभामुख निर्वाचित भएकी थिइन् । सभामुख कृष्णबहादुर महराको राजीनामापछि उनले सभामुख बन्न पाउनुपर्ने माग गर्दै आएकी थिइन् ।

तर, सभामुख र उपसभामुख एउटै दलले नपाउने संवैधानिक प्रावधानका कारण नेकपाको भागमा सभामुख पद सुरक्षित गर्नका लागि तुम्बाहाङ्फे पछि हट्न बाध्य बनेकी छन् ।

त्यसो त महराले राजीनामा नदिएको अवस्थामै पनि नेकपाले सभामुख वा उपसभामुखमध्ये एउटा पद छाड्नुपर्ने विपक्षी दलले माग गर्दै आइरहेको थियो । यसबारे सर्वोच्च अदालतमा रिटसमेत परेको थियो ।

हुन त उपसभामुख छाडेपछि शिवमायालाई मन्त्री बनाएर व्यवस्थापन गर्ने चर्चा पनि नेकपाभित्र चल्दै आइरहेको छ । तर, प्रधानमन्त्रीसँग आइतबार भएको पावर सेयरिङबारे कुराकानी भए/नभएको खुलेको छैन । स्रोतका अनुसार नेकपा शीर्ष नेतृत्वले सोमबार बिहान शिवमायासँग थप छलफल गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment