Comments Add Comment

कांग्रेस विवाद : शीर्ष तहमै सहमति खोजिने

६ माघ, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरुबीच नै सहमति खोजिने भएको छ ।

उपसभापति विमलेन्द्र निधिले पूर्वमहामन्त्रीद्धय कृष्ण सिटौला र प्रकाशमान सिंहसँग सोमबार बिहान छलफल गरेका थिए । पार्टी कार्यालय सानेपामा भएको छलफल महाधिवेशनलाई कसरी निश्पक्ष बनाउने भन्नेमा केन्द्रित भए पनि कुनै सहमति नभएको बैठकमा सहभागी नेता सिटौलाले जानकारी दिए ।

अब शीर्ष तहमा सहमति खोजिने भन्दै उनले भने, ‘अब सभापतिले रामचन्द्र पौडेलजीसँग सल्लाह गरेर बोलाउनु हुन्छ होला ।’ पौडेल स्वास्थ्य उपचारका लागि भन्दै हालै भारत भ्रमणमा गएका थिए । त्यसक्रममा उनले भारतीय जनता पार्टीका नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँग पनि भेट गरेका थिए ।

बरिष्ठ नेता पौडेल भारतमा हुँदा पनि निधि, सिटौला र सिंहबीच कुराकानी भएको थियो ।

पार्टी सभापति देउवाले २०७७ फागुन ७ लाई कायम राखेर महाधिवेशनको अन्य कार्यतालिका हेरफेर गर्न तयार रहेको बताएका छन् । पौडेल र सिटौला समूहको बहिस्कारका बीच पुस ११ मा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले एक वर्ष म्याद थप गर्दै १४औं महाधिवेशनको मिति तय गरेको थियो ।

पौडेल र सिटौला समूहले भने विधानका विभिन्न धाराहरु निलम्बन गरेकाले महाधिवेशन निश्पक्ष हुनेमा नै शंका गरेका छन् । ‘विधानका विभिन्न धाराहरु निलम्बन गरिएको छ, त्यसलाई हटाउने र क्रियाशील सदस्यता छानबिनका लागि छुट्टै समिति बनाउन कुरा भइरहेको छ । तर सहमति जुटेको छैन ।’

यस्तै भातृ गठनहरुका विषयमा पनि कुराकानी भइरहेको नेता सिटौलाले पुष्टि गरेका छन् । तरुण दलको म्याद छ महिना थप भएपनि चार जना मात्र पदाधिकारी छन् भने नेपाल विद्यार्थी संघमा नयाँ कार्यसमिति गठन गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment