Comments Add Comment

नेपालका एक्ला मुस्लिम फुटबलरको कथा : … अनि फुटबल छाडेँ

८ माघ, काठमाडौं । नेपालले खेलेको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कुन हो ? पहिलो टिम कस्तो थियो ? कसले गोल गर्‍यो ? यसको यकिन तथ्याङ्क पनि छैन ।

यद्यपि धेरैले सन् १९६३ मा बंगलादेशको ढाका (तत्कालिन पाकिस्तान)मा गएर खेलेको ‘आगा खाँ गोल्डकप’लाई नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भन्छन् । त्यसमा नेपालले गोल समेत गरेको थियो, तर क्लब विरुद्ध । त्यसैले नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल भने सन् १९८२ मा यमबहादुर घलेले एसियन गेम्समा कुवेतविरुद्ध गरेको गोललाई मानिन्छ ।

तर त्यसअघि नै नेपाली खेलाडीलेले सन् १९६३ मा विदेशमा गएर नेपालको लागि पहिलो गोल गरिसकेका थिए । त्यही प्रतियोगिता खेलेका अफ्ताब उद्धिनलाई मान्ने हो भने नेपालले पहिलो खेलमै गोल गरेको थियो ।

‘हामीले बंगलादेशमा ढाका वान्डर्सविरुद्ध पहिलो खेल खेलेका थियौं । त्यसमा हामी ७-१ ले हार्‍यौं । नेपालको लागि प्रकाश राणाले गोल गरेका थिए । उनी नै नेपालको लागि गोल गर्ने पहिलो खेलाडी हुन्’ उद्धिनले भने ।

अफ्ताब उद्धिनको अर्को परिचय पनि छ, उनी नेपालका लागि खेल्ने पहिलो र हालसम्मको एक मात्र मुस्लिम खेलाडी हुन् ।

यसमा उनलाई गर्व छ । तर अरु मुस्लिम खेलाडी राष्ट्रिय टिममा आउन नसकेकोमा भने उनी चिन्तामा छन् । ‘म पहिलो मुस्लिम फुटबलर बनेँ । तर अरु खेलाडी पनि आउनुपर्ने आउन सकेनन् । कम्तीमा १० जना जति आउनुपर्ने हो तर आएनन् ।’

उनको अर्को परिचय पनि छ ‘ज्यानमारा डिफेण्डर’ । डिफेन्समा खेल्ने खेलाडीको काम विपक्षीलाई गोल गर्नबाट रोक्ने हो । तर उनी यतिसम्म गर्थे कि बल रोक्ने खेलाडीलाई समेत बलसँगै हानिदिन्थे । किन त ? ‘मेरो काम नै बल रोक्ने हो । मैले छाडे त गोल भइगो नि । त्यसो गर्दा कहिलेकाहीँ मान्छे समेत उडाइदिन्थेँ ।’

घरेलु फुटबलमा त उनी त्यसो गर्थे नै, पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा समेत त्यो बानी छाडेनन् । ढाका वान्डरर्सको टिममा भारतका मोहम्मद स्पोर्डिङ लगायत क्लबबाट खेलेका चर्चित खेलाडीहरु थिए । ‘खेलाडी त म चिन्थिन थेँ । सबैलाई उस्तै ब्यवहार गर्ने हो । खेलपछि उनीहरुले मसँग आएर हात पनि मिलाए । नेपालको एक मात्र मुस्लिम खेलाडी भनेर खुशी भए बधाई दिए ।’

नेपालले पहिलो खेल हारेपनि दोस्रो खेलमा बंगलादेशको पुलिस टिमलाई पराजित गरेको उनले सम्झिाए । ‘हामीले ढाका पुलिसलाई २-० ले हरायौँ । बच्चु राणा र प्रकाश रानाले गोल गरेका थिए’ उनी भन्छन् । उनका अनुसार तेस्रो खेलमा भने इन्डोनेसियाली टिमसँग नेपालले बराबरी खेलेको थियो ।

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले तीन खेल खेल्यो । त्यसको कथा त्यतिमै सकियो ।

यसरी बनेको थियो टिम

नेपालमा ए डिभिजन लिग सुरु भइसकेको थियो । फुटबलमा नर शम्शेर चर्चित नाम थियो । उनैको नेतृत्वमा विदेशमा खेल्न जाने टिम चयन भएको थियो । ‘हामीलाई हप्ता दिन अघिसम्म केही जानकारी थिएन । एक्कासी नर शम्शेरले सेलेक्सनका लागि बोलाए र भने, अब तिमीहरु बंगलादेश खेल्न जाँदैछौ । ब्लेजरहरु तयार पार । बंगलादेश खेल्न जानुपर्छ ।’

‘हामी करिब १८ जना जति गएका थियौं । सबै फरक फरक क्लबका । एउटा पोजिसन एउटा क्लबको अर्को पोजिसन अर्को क्लबको । मिलाउनै गाह्रो । त्यतिखेर नेपालको जर्सी सेतो निलो थियो । कप्तान थिए आरबी राजा ।’

नेपालीहरु संसारभर वीर गोर्खालीको नामले चिनिने । ‘बंगलादेशमा पहिलो पटक खेल्न जाँदा पनि विदेशीले त्यस्तै अपेक्षा गरेका रहेछन् । गोर्खालीहरु भनेर सुनेको योङ टिम ररहे भने अरु अचम्ममा परेका थिए’ अफ्ताबले सुनाए ।

काश्मीरदेखि इन्द्रचोकसम्म

अफताब उद्दिनको पुर्ख्यौली थलो भारतको काश्मीर हो । तर अहिले कर्मथलो बनेको छ नेपालको इन्द्रचोक । इन्द्रचोकमा उनीहरुको पहिलैदेखि व्यापार थियो पोतेको । उनको बुबाभन्दा दुई पुस्ताअघिका पुर्खाहरु काश्मीरदेखि काठमाडौंसम्म आएर पोते व्यापार सुरु गरेका थिए । उनले पनि त्यही गरे । फुटबल पनि खेले । उनी चौथो पुस्ताका हुन् । अहिले उनका छोराहरु समेत ठूला भइसकेका छन् । नाती पुस्ता समेत आइसकेका छन् ।

इन्द्रचोकमा उनीहरुको पोतो पसल छ । सुरुमा बुबाले काम गरे । अहिले उनी र छोराहरुले व्यापार हेरेका छन् । अफ्ताबका बुबा समसुद्धिनको राजा त्रिभुवनसँग राम्रो सम्बन्ध थियो । त्रिभुवनले धेरै माया गर्ने गरेको अफ्ताबले सुनाउँछन् ।

‘त्रिभुवन स्वीट्जरल्याण्ड उपचार गराउन जाने बेला बुबालाई सोध्नुभएको थियो, के चाहिन्छ समसुद्धिन ?’ तर अफ्ताबका बुबाले केही मागेनन् । ‘तपाईं फर्केर आउनुस् महाराज, त्यति भए पुग्छ । यति मात्र भन्नुभयो बुबाले’ उनले सम्झिए ।

‘अहिले भएको भए कहाँ त्यस्तो हुन्छ र ! भोलि कुनै कुरा पाइन्छ भन्यो भने आजै लिन जाम न भन्छौं’ फेरिएको समय र समाजबारे उनले सुनाए ।

शम्भु नामले चिनिने सम्सुद्धिनले २००४ मा मुस्लिमहरुको भैरव टिम समेत गठन गरेका थिए । एक पटक महावीर क्लबविरुद्ध खेलेपछि भैरव टिमको अस्तित्व बिलायो ।

अफ्ताबले आफ्नै बुवाको टिमविरुद्ध पनि खेले । २०२८ सालमा दशरथ रंगशामा उनका बुबा भेट्रान टिमबाट खेलेका थिए भने अफताब विद्या मन्दिरबाट ।

विस २००० मा जन्मिएका अफताबले पद्मोदय स्कुलमा पढ्दा फुटबल खेल्न सुरु गरेका थिए । त्यतिखेर हाइट नापेर फुटबल खेलाउने चलन थियो । साइकलको ट्युबले नापिन्थ्यो । अफ्ताबले फुटबल करियरमा संकटा क्लब, एनआरटी क्लब र विद्या मन्दिरबाट खेले । २०२२ सालमा उनले विद्या मन्दिरबाट लिग नै जिते । अर्को वर्ष उनको टिम दोस्रो भएको थियो ।

अनि फुटबल छाडेँ

दशरथ रंगशालमा एक पटक विद्यामन्दिर फ्रेण्ड्स युनियनबीच खेल भइरहेको थियो । अफ्ताव उद्धिनका बुबा पनि खेल हेर्न गएका थिए । त्यतिखेर फुटबल हेर्न दुवै टिमका उत्तिकै धेरै समर्थक रंगशाला जान्थे ।

दर्शकदीर्घाबाट उनलाई धेरैले धेरै नराम्रो भने । त्यही घटना नै उनको खेल छाड्ने कारण बन्यो । ‘खेल हेर्न बुबा पनि जानुभएको थियो । खेलका क्रममा दर्शकबीच झगडा पनि भयो । अनेकथरी गाली समेत गरे मलाई’ पुराना दिन सम्झिए, ‘खेल सकिएपछि बुवाले नै खेल छाडिदेउ भन्नुभयो । अनी मैले फुटबल छाडे ।’

यो सन् १९६५ सालतिरको कुरा हो ।

राणा र राज त्रिभुवनको पालाको मान्छे अफताब । फुटबलमा उनको विभिन्न खाले किस्सा छ । त्यो बेलाको फुटबल र अहिले धेरै अन्तर आइसकेको उनले समेत बुझेका छन् । ‘हामी आफैं खर्च गरेर खेल्नुपर्थ्यो । अहिलेको जस्तो सुविधा थिएन’ अफ्ताबले सुनाए, ‘तर अहिले धेरै सुविधा छ । बीचमा अली राम्रो थिएन । अहिले राम्रो हुँदै आएको छ । अझै सुधार गर्दै राम्रो गर्नुपर्छ ।’

पहिलेभन्दा धेरै राम्रो भएको उनको बुझाइ छ । अफ्ताबको समयमा विश्व फुटबलमा पेले, डियागो म्याराडोना लगायत नाम चलेका खेलाडी थिए । उनीहरुबाट पनि धेरै प्रभावित बनेका थिए । अफ्ताबले यति मात्र भने, ‘फुटबल उनीहरुको पेशा थिए हाम्रो लागि सोख थियो ।’

अफ्ताबको बुबाले फुटबल खेले । अफ्ताबले राष्ट्रिय टिमबाटै खेले । उनका तीन छोरो छन्, दुई छोराले खेलेपनि निरन्तरता दिएनन् । ‘हाइट भएकाले जेठो र माइलोले भलिबल खेल्थ्यो । जनकपुरमा ट्रेनिङ गर्न जाँदा गर्मीले भागेर आए । त्यसपछि खेलेनन् । अहिले जेठोले फिटनेस ट्रेनरको काम गर्छन् । त्यसमा अफ्ताब खुशी छन् । कान्छो छोरो भने विदेशमा छ ।

अब उनको चाहना छ नातीलाई फुटबल खेलाडी बनाउने । ‘नाती ६ वर्ष भयो । खेलाडी बनाउन मन छ’ अफ्ताबले कुराकानी बिट मार्दै भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment