Comments Add Comment

कांग्रेसको विवाद मिल्यो, १४ औं महाधिवेशन ०७७ फागुन ७ मै

१० माघ, काठमाडौं । साढे दुई महिनादेखि चलिरहेको नेपाली कांग्रेसको अन्तरिक विवाद समाधान भएको छ । र, १४ औं महाधिवेशन ०७७ फागुन ७ मा नै हुने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासहितका नेताहरुबीच शुक्रबार बूढानीलकण्ठमा झण्डै ७ घन्टा लामो वार्ता भएको थियो ।

वार्तामा महाधिवेशन कार्यतालिकासहित विवादित विषयहरमा सहमति जुटाएको उपसभापति विमलेन्द्र निधिले बताए । उनले भने, ‘सहमतिअनुसार पर्सि १ बजे बैठक बोलाइएको छ र यो बैठकमा सबै साथीहरुले भाग लिनु हुनेछ ।’

यसअघि २६ मंसिरमा बोलाइएको बैठक पौडेल र सिटौला समूहले बहिस्कार गरेको थियो । केही दिन बैठक स्थगित गरेर वार्ता गरेको संस्थापन पक्षले पुस १० मा बहुमतबाटै केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप्ने, महाधिवेशनको कार्यकातालिका बनाउनेसहितका निर्णयहरु गरेको थियो ।

यसबाट थप चिढिएको पौडेल र सिटौला समूहले बहुमतको निर्णय कुनै हालतमा नमान्ने बताएको थियो । तर कृष्ण सिटौलाको पहलमा भएको वार्तामा सहमति जुटेको छ ।

उपसभापति निधिका अनुसार अब १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति २०७७ फागुन ७–१० मै हुनेछ । तर त्यसको कार्यतालिका र कार्यविधि भने संशोधन हुनेछ ।

शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता छानविन गर्ने सहमति पनि भएको छ । ‘यो समितिलाई १३ औं महाधिवेशनका बेला नरहरि आचार्यको नेतृत्वमा बनेको समितिकै टीओआर दिने सहमति पनि भएको छ’, उपसभापति निधिले भनेका छन् ।

नेविसंघमा तदर्थ समिति

कांग्रेस शीर्ष नेताहरुबीच भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन ६ महिनाभित्र गर्ने गरी तदर्थ समिति गठन गर्ने सहमति भएको छ । सभापति देउवाले नियुक्त गर्नेछन् भने केन्द्रीय तदर्थ समितिमा पर्ने पदाधिकारी र सदस्यले आगामी महाधिवेशनमा भाग लिन पाउने छैनन् ।

साथै नैनसिंह महरको नेतृत्वको कार्यसमितिको म्याद सकिएको दिनसम्म ३२ वर्ष ननाघेकाहरुले आगामी महाधिवेशनमा भाग लिन पाउने पनि सहमति जुटेको छ ।

‘यसरी हामीले सहमति गरेका छौं’ उपसभापति निधिले भने, ‘१३ गते बस्ने बैठकमा महामन्त्रीद्वयले प्रस्तावहरु पेश गर्नुहुन्छ र सर्वसम्मतले पास गर्ने सहमति भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment