Comments Add Comment

सांसदको अगुवाईमा किसानले रोके अन्नपूर्ण मिलको चिनी

११ माघ, काठमाडौं । सर्लाहीको धनकौल-३ मा रहेको अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न किसानहरुले अवरोध गरेका छन् । किसानहरुको अगुवाई प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले गरेका थिए । त्यसेले कतिपयले यसलाई किसानको नाममा नेपाली कांग्रेसले राजनीति गरेको आशंका गरेका छन् ।

राकेशकुमार अग्रवालको अन्नपूर्ण चिनी मिलले झण्डै ४२ करोड रुपैयाँ उखु किसानलाई दिनुपर्नेछ । किसानहरु माइतीघर मण्डलामा आएर धर्ना दिएपछि सरकारले माघ ७ भित्र सबै रकम दिलाउने भनेर ५ बुँदे सहमति पनि गर्‍यो । तर मिलले ३ करोड ९० लाख रुपैयाँ दिएको बताएको छ, बाँकी रकम दिएको छैन ।

त्यसको काउन्टरमा उद्योग मन्त्रालयले मिल सञ्चालकको बैंक खाता रोक्का गर्न पत्रचार गरेको छ ।

तर शनिबार एकाएक अन्नपूर्ण चिनी मिलले चिनी लोड गर्न लागेको थाहा पाएपछि किसानहरु त्यहाँ पुगे । प्रदेशसभा सदस्य सिंह भन्छन्, ‘म विहान ८ बजेतिर मिलमा पुग्दा किसानहरु जम्मा भइसकेका थिए । उनीहरुले मिलमा ताला लगाएका छन् ।’

मिल प्रशासनले भने चिनी बेचेर कृषकको पैसा तिर्ने सहमति भएको र स्थानीय प्रशासनको चिनी सहजिकरणमा चिनी लोड गर्न लागिएको बताएको छ । चिनी मिलका लेखापाल शिवनाथ यादवकाअनुसार उद्योगमा करिव ८ हजार क्वीन्टल चिनी मौज्दात छ, जसमध्ये १० ट्रक काठमाडौं पठाउन खोजिएको थियो ।

सर्लाहीको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले पनि उद्योग र गृह मन्त्रालयको अनुरोधमा आफूहरुले चिनी बिक्रीका लागि सहजीकरण गर्न खोज्दा अवरोध भएको बताए । ‘स्टक चिनी सरकारकै निगरानीमा बिक्री गरेर किसानलाई पैसा दिने भन्ने छ र त्यसैका लागि सहजीकरण थालेका हौं’ प्रजिअ जिसीले भने ।

तर किसानहरुले मिलको गेटमा टायर बालेर प्रदर्शन गर्नुका साथै सडकमा खनेर अवरोध गरे ।

जबकी सरकारसँग पाँचबुँदे सहमति गरेको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरि श्याम रायले पनि शनिबार भएको आन्दोलनमा आफूहरुको संलग्नता नभएको बताए । ‘मिलले चिनी बेचेर पैसा दिने भनेको छ, त्यसैले हामीले अवरोध गरेका होइनौं’ रायले अनलाइनखबरसँग फोनमा भने ।

उसो भए कसले गरे आन्देालन ? उखु किसानको आन्दोलनमा राजनीति त घुसेन ?

चिनी मिल कांग्रेस नेताहरुले उखु किसानलाई उचालेको आरोप लगाएको छ भने स्थानीय प्रशासनले कसलाई किसान भन्ने कसलाई नभन्ने अन्यौल भएको प्रक्रिक्रिया दिएको छ ।

शनिबार चिनी रोक्न भएको आन्दोलनमा सलग्न प्रदेशसभा सदस्य सिंहको भनाइ भने फरक छ । उनकाअनुसार यसअघि पनि किसानको पैसा दिन बाचा गरेको मिलले धेरै पटक धोका दिएको छ । माघ ७ को भाका पनि त्यसरी नै गुजार्‍यो ।

मिल प्रशासनले ३ करोड ९० लाख किसानलाई दिएको भनेपनि क-कसलाई दिइयो भनेर सूची समेत टाँस्न सकेको छैन ।

उनी भन्छन्, ‘अब भएको चिनी पनि लैजान दिँदा किसानले पैसा पाउने ग्यारेन्टी के छ ?’

हाल स्टक भएको चिनी बेच्दा धेरैमा ६ करोडसम्म आउने बताइएको छ । यो रकमले किसानको सबै बक्यौता तिर्न पुग्ने पनि होइन । त्यसैले सिंह भन्छन्, ‘बाँकी ३०/३५ करोड तिरोस् न, त्यसपछि यो चिनी लैजान दिन्छौं र चिनी बेचेर किसानलाई देओस् । होइन भने कसरी विश्वास गर्ने ?’

यही अडानका साथ आन्दोलनमा उत्रिएका किसानहरुले चिनी लोड गरिएको तीन र नगरिएको चार वटा ट्रकलाई समेत भित्रै राखेर मिलको गेटमा ताला लगाएका छन् । प्रमुख जिल्ला अधिकारीले पनि यसबारे सहमति नभएसम्म चिनी लैजान सहजीकरण गर्ने आश्वासन दिएको प्रदेशसभा सदस्य सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment