Comments Add Comment
स्थानीय तहमा मनपरी :

आन्तरिक लेखापरीक्षकलाई नै नगरपालिका शिक्षा शाखा प्रमुखको जिम्मेवारी

सामाजिक सञ्जालमा आलोचना– रेफ्रीलाई नै गेम खेलाएजस्तो

१३ माघ, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाले आन्तरिक लेखापरीक्षक प्रमुखलाई नै नगर शिक्षा अधिकारीको जिम्मेवारी दिएको छ ।

नगरपालिकाका आन्तरिक लेखापरीक्षक प्रमुख एकलबहादुर राउतलाई नियमविपरीत नगर शिक्षा अधिकारीको जिम्मेवारी दिइएको हो ।

कानूनतः आन्तरिक लेखापरीक्षकको काम संस्थाको बेथिति र अनियमितता औंल्याउँदै आर्थिक सुशासन र पारदर्शिता कायम गर्नु हो । तर त्रियुगा नगरपालिकाले आम मान्यताविपरीत ०७६ माघ ९ गते आन्तरिक लेखापरीक्षक प्रमुख एकबहादुर राउतलाई शिक्षा शाखा प्रमुखको अतिरिक्त जिम्मेवारी थमाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाद्वारा हस्ताक्षरित पत्रमा ०७६ माघ ९ को निर्णयानुसार प्रचलित कानून अनुसार कार्यसम्पादन गर्न भनिएको छ ।

तथापि, कानूनमा आन्तरिक लेखापरीक्षकले यसबाहेकका काम गर्न नमिल्ने उल्लेख छ । लेखा समूहका कर्मचारीको सेवा परिवर्तन लोकसेवाले समेत गर्न मिल्दैन ।

नगरपालिकाका मेयर वलदेव चौधरीको आग्रहमा आन्तरिक लेखापरीक्षक राउतलाई शिक्षा शाखा प्रमुखको अतिरिक्त जिम्मेवारी दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले अनलाइनखबरलाई जानकारी दिए ।

‘नगरपालिकाको शिक्षा शाखा पूरै खाली भयो । नगर प्रमुखज्यूले पनि राउत अनुभवी व्यक्ति भएकाले अर्को व्यवस्था नभए सम्मका लागि  जिम्मेवारी दिऊँ भन्नु भयो । त्यसैले शिक्षा शाखाको शून्यता अन्त्य गर्न राउतलाई जिम्मेवारी दिएका हौं,’ थापाले भने ।

नगरपालिकाको यस्तो निर्णय प्रकाशमा आएसँगै रेफ्रीलाई नै गेम खेलाइएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

पूर्वसचिव भीम उपाध्यायले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘त्रियुगा नगरपालिकामा आलेप प्रमुख एकबहादुर राउतलाई नगर शिक्षा अधिकारी बनाएछन् । आलेपको काम अब मेयरले गर्ने होलान् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment