Comments Add Comment

अग्नि सापकोटालाई पूर्वसभामुख ढुंगानाको सुझाव– नेकपा र कांग्रेसलाई समदूरीमा राख्नुस्

१३ माघ, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार अग्निप्रसाद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएकोमा ०४८ सालका सभामुख दमननाथ ढुंगानाले सफलताको शुभकामना दिएका छन् । सापकोटा चुनौती नै चुनौतीका बीचमा सभामुख बनेको ढुंगानाको प्रतिक्रिया छ ।

‘बाहिरकाले विवादित छवि देखे पनि संसदले उहाँलाई योग्य र वैध देखेको छ’ पूर्वसभामुख ढुंगानाले अनलाइनखखबरसँग भने, ‘सापकोटाजी एउटा उद्देश्य बोकेर, संघर्ष गरेर आएका व्यक्ति हो । उहाँमा कठिन परिस्थिति झेल्ने क्षमता र चुनौतीहरूलाई सामना गर्न सक्ने सार्मथ्य छ ।’

अब सभामुख सापकोटाले सत्तापक्ष र प्रतिपक्षसँग समदुरीमा रहेर भूमिका खेल्नुपर्ने ढुंगानाको सुझाव छ ।

नेकपा नेता सापकोटा सभामुख निर्वाचित भएकोमा तपाईको धारणा के छ भन्ने अनलाइनखबरको प्रश्नमा पूर्वसभामुख ढुंगानाले यस्तो प्रतिक्रिया दिए–

सभामुख बन्नुअघि नै उहाँ विवादित बन्नुभयो । नेपालको संसदीय इतिहासमा सभामुखको कुर्सीमा बस्नुअघि यति धेरै विवादित कोही पनि भएका थिएनन् ।

सापकोटाजीको उम्मेदवारी परेपछि राष्ट्रपतिका विज्ञ सल्लाहकारले आफ्नो पदबाट राजीनामा दिए । मानव अधिकारकर्मीहरूले पनि विरोध जनाइरहेका छन् । सभामुखमा निर्वाचित नगर्नू भनेर सर्वोच्च अदालतमा रिट पनि परेको छ । यी सब हेर्दा भन्न सकिन्छ उहाँ चुनौती नै चुनौतीको बीचमा सभामुख बन्नुभएको छ ।

दुबै सदनको नेतृत्व गर्ने व्यक्ति निर्विविादित हुनु सबैभन्दा राम्रो हो ।

तर, यी सबै प्रकरणमा सकारात्मक पक्ष पनि नभएको होइन । बाहिरकाले विवादित छवि देखे पनि संसदले उहाँलाई योग्य र वैध देखेको छ । त्यसैले सभामुख निर्वाचित भइसक्नुभएको छ ।

सापकोटाजी एउटा उद्देश्य बोकेर, संघर्ष गरेर आएका व्यक्ति हो । उहाँमा कठिन परिस्थिति झेल्ने क्षमता र चुनौतीहरूलाई सामना गर्न सक्ने सार्मथ्य छ ।

सभामुख चयन भइसकेपछि सदनमा सबैको विश्वास जितेर काम गर्नुपर्ने हुन्छ । सत्तारुढ वा विपक्षी दलहरूलाई समदुरीमा राखेर काम गर्नुपर्ने हुन्छ । जे कारणले गर्दा विवादित बन्नुभयो, त्यसलाई मध्यनजर गरेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment