Comments Add Comment

मन्त्रीले जवाफ नदिएपछि गण्डकीमा कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध

फाइल तस्वीर ।

१३ माघ, पोखरा । सांसदले उठाएको प्रश्नको जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार गण्डकी प्रदेशसभा अवरुद्ध गरेको छ । ७ दिनभित्र सदनमा सांसदले उठाएको प्रश्नको जवाफ दिनुपर्ने व्यवस्थालाई सरकारले लत्याएको भन्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो ।

नियमानुसार माघ ५ गते सांसदले उठाएको प्रश्नको आइतबारको बैठकमा नै सम्बन्धित मन्त्रीले दिइसक्नुपर्ने थियो । आइतबार बसेको संसद बैठकमा कांग्रेस सांसद कुमार खड्काले यही विषयलाई लिएर नियमापत्ति गरेका थिए ।

सांसदले उठाएको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ नदिएसम्म संसदको कारबाही अगाडि बढ्न नसक्ने भन्दै खड्काले नियमापत्ति गरेपछि सभामुख नेत्रनाथ अधिकारीले अर्को बैठकमा मन्त्रीलाई जवाफ दिन आइतबार रुलिङ गरेका थिए ।

आइतबारको बैठकमा सम्बन्धित मन्त्री उपस्थित नभएकाले अर्को बैठकमा ७ दिनभित्र जवाफ दिनुपर्ने नियमलाई कडाईका साथ कार्यान्वयन गर्न सभामुख अधिकारीले रुलिङ गरेका थिए । सोमबारको बैठकमा पनि मन्त्रीबाट जवाफ नदिएको भन्दै कांग्रेसले संसद अवरुद्ध गराएको हो ।

माघ ५ गते बसेको बैठकमा बोल्ने अधिकांश सांसदले भौतिक पूर्वाधारसँग सम्बन्धित प्रश्न सरकारमाथि उठाएका थिए । पर्यटन, कृषि र अर्थसँग सम्बन्धित पनि सांसदले प्रश्न उठाएको तर सरकारले जवाफ दिने प्रयत्न नै नगरेकाले बैठक अवरुद्ध गर्नुपरेको कांग्रेसको भनाइ छ ।

प्रदेशसभा सञ्चालन नियमावलीमा सांसदले उठाएको प्रश्नको सरकारका तर्फबाट सम्बन्धित मन्त्रीले ७ दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था छ । संसदको गरिमामाथि ठेस पुर्‍याउने र अपहेलना गर्ने काम सरकारले गरेकाले कांग्रेसले संसद अवरुद्ध गर्नुपरेको सांसद खड्काले जानकारी दिए ।

सोमबारको बैठकमा वैठकमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलगायत ४ जना मन्त्री अनुपस्थित थिए । भूमि व्यवस्था, कृषि तथा सहकारी लेखबहादुर थापा, सामाजिक विकासमन्त्री नरदेवी पुन र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालमात्र वैठकमा उपस्थित थिए ।

आइतबारको बैठकमा पनि मुख्यमन्त्री पृथ्वीसुब्बा, अर्थमन्त्री किरण गुरुङ, भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, कृषिमन्त्री लेखबहादुर थापालगायत ५ जना अनुपस्थित थिए । कानुनमन्त्री हरिबहादुर चुमान र पर्यटनमन्त्री लम्सालमात्र उपस्थित थिए ।

माघ ५ गते बसेको बैठकमा बोल्ने अधिकांश सांसदले भौतिक पूर्वाधारसँग सम्बन्धित प्रश्न सरकारमाथि उठाएका थिए । पर्यटन, कृषि र अर्थसँग सम्बन्धित पनि सांसदले प्रश्न उठाएको तर सरकारले जवाफ दिने प्रयत्न नै नगरेकाले बैठक अवरुद्ध गर्नुपरेको कांग्रेसको भनाइ छ ।

संसदप्रति सरकार गैरजिम्मेवार बनेको कांग्रेस सांसद खड्काले बताए । यही विषयलाई लिएर अहिलेसम्म ५ पटकभन्दा बढी नियमापत्ति भइसकेको अवस्थामा पनि सरकार गम्भीर नबनेको कांग्रेसको भनाइ छ ।

सोमबार १ बजे सुरु हुने भनिएको वैठक कांग्रेसले अवरोध गरेपछि ३ बजेसम्म स्थगित भएको थियो । ३ बजे बैठक बस्ने भनिए पनि फेरि अवरोध भएपछि मंगलबार ११ बजेसम्मको लागि स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment