Comments Add Comment

उद्योग वाणिज्य महासंघमा नेता बन्न दौडधुप

कुन पदमा को–को छन् आकांक्षी ?

१४ माघ, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) मा यतिबेला चुनावी माहोल तातिएको छ । महासंघकी अध्यक्ष भवानी राणाको कार्यकाल सकिन २ महिनामात्रै बाँकी छँदा महासंघमा चुनावी सरगर्मी शुरु भएको हो ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विद्यमान व्यवस्थाअनुसार शेखर गोल्छा आगामी अध्यक्ष बन्ने पक्का छ । अध्यक्ष पक्का भए पनि अन्य पदहरुमा भने चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

महासंघ विभिन्न पदमा आकांक्षा राख्नेहरुले भेटघाट र सम्पर्कलाई तीव्र बनाएका छन् । केही आकांक्षीहरुले चुनावका लागि आफ्नो उम्मेद्वारी घोषणा नै गरेर भेटघाटलाई तीव्र बनाएका छन् भने कोही चाहिँ औपचारिक उम्मेद्वारी घोषणा नगरी छलफलमा जुटेका छन् । नयाँ नेतृत्व चुन्न आगामी चैत्रमा महासंघको अधिवेशन हुँदैछ ।

कुन–कुन पदमा को–को छन् त आकांक्षी ?

वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी

गोल्छा स्वतः अध्यक्ष बनेपछि सम्भवतः अर्को कार्यकालका लागि पनि विद्यमान व्यवस्था नै लागु हुनेछ । अर्थात अहिले जो वरिष्ठ उपाध्यक्ष छ, त्यो नै ( विधान संशोधन नभएको अवस्थामा) महासंघको २० औं अध्यक्ष बन्नेछ ।

यसकारण पनि वरिष्ठ उपाध्यक्षका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्याक्ष चन्द्र ढकालले सार्वजनिक समारोहबाटै उम्मेद्वारी घोषणा गरिसकेका छन् । ढकाल यस अघिका सर्वसम्मत उपाध्यक्ष हुन् । तर, यसपालि ढकालले उम्मेद्वारी घोषणा गरेसँगै सर्वसम्मत पाउने अवस्था कम देखिएको छ ।

ढकालसँगै अन्य २ जना उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ र किशोर प्रधानका साथै प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ पनि उपाध्यक्षका आकांक्षी देखिएका छन् । यसअघि नै वस्तुगतबाट उपाध्यक्ष भइसकेका दिनेश श्रेष्ठ काठमाडौं जिल्लाका अध्यक्ष पनि हुन् ।

बरिष्ठ उपाध्यक्षका अर्का बलिया आकांक्षी वर्तमान उपाध्यक्ष किशोर प्रधान यसअघि नै गोल्छासँग वरिष्ठ उपाध्यक्षमा लडिसकेका व्यक्ति हुन् । अहिले ढकालले वरिष्ठ उपाध्यक्षका लागि आफूलाई बलियो उम्मेद्वार दाबी गरिरहँदा प्रधान आफूले यसपटक बरिष्ठ उपाध्यक्षमा जित्ने दाबी गर्छन् ।

वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी उमेशलाल श्रेष्ठ नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ र चर्चित वामपन्थी नेतृ स्वर्गीय साहना प्रधानका छोरा हुन् र उनी पनि बलिया उम्मेदवार हुन् । श्रेष्ठ अहिले महासंघमा उपाध्यक्ष छन् ।

यसैवीच, विवादमा परेर कोषाध्यक्षबाट राजीनामा दिएका ज्ञानेन्द्रलाल प्रधानले समेत वरिष्ठ उपाध्यक्षका लागि आकांक्षा राखेको बुझिएको छ । यद्यपि यसपटकको चुनावमा ढकाल, श्रेष्ठ र प्रधानबीच कडा प्रतिस्पर्धा हुने उद्योगीहरु बताउँछन् ।

एशोसिएट उपाध्यक्षमा ज्योति, अग्रवाल र श्रेष्ठको दाबी

महासंघमा तीन उपाध्यक्ष हुने व्यवस्था छ, जसमा एक उपाध्यक्ष एशोसिएटबाट निर्वाचित हुनेछन् । गत अधिवेशनमा चन्द्र ढकाल एशोसिएटबाट उपाध्यक्ष चयन भएका थिए ।

यसपटक एशोसिएट उपाध्यक्षका लागि शौरभ ज्योतिले उम्मेद्वारी घोषणा गरेका छन् । आजभन्दा एक महिनाअघि नै उनले पत्रकार भेटघाट गरी आफू उम्मेद्वार हुने जानकारी गराइसकेका छन् । हुन त यसअघिको निर्वाचनमा पनि उनले उम्मेद्वारी दिने तयारी गरेका थिए । तर, अन्तितमा आएर उम्मेद्वारी नदिएका कारण नै ढकाल सर्वसम्मत उपाध्यक्ष बनेका थिए ।

यसपालि भने उम्मेद्वारी फिर्ता नहुने उनले बताएका छन् । पूर्वअध्यक्ष पद्म ज्योतिका जेठा छोरा शौरभ नाडाको अध्यक्ष हुँदै महासंघ प्रवेश गरेका थिए । उनी हाल महासंघको राजस्व समितिका सभापति छन् । एशोसिएटमा अहिले ९ सय बढी मत छ ।

अर्का आकांक्षी भने जोत्स्ना श्रेष्ठ हुन् । श्रेष्ठ रत्न तथा आभुषण संघकी वर्तमान अध्यक्ष हुन् । उनी महासंघको पर्यटन समितिकी सभापतिसमेत हुन् ।

जगदम्बा स्टिलका सञ्चालक साहिद अग्रवालले पनि एशोसिएट उपाध्यक्षमा आकांक्षा राखेको बुझिएको छ । फलाम तथा स्टील उत्पादन गर्ने उद्योगहरुको संस्था नेपाल रोलिङ मिल्स एशोसिएनका अध्यक्ष हुन् ।

जिल्ला नगर उपाध्यक्षमा सुमार्गी, तिवारी र पाण्डे

अर्को उपाध्यक्ष पद भने जिल्ला नगरको हो । महासंघमा ११० जिल्ला तथा नगर समितिहरु छन्, जसबाट एकजना उपाध्यक्ष छानिनु पर्नेछ ।

यो पदका लागि अरुण सुमार्गी, र केशव पाण्डेले आकांक्षा राखेका छन् । सुमार्गी मध्यमाञ्चल उद्योग वाणिज्य महासंघको अध्यक्ष साथै मकवानपुर उद्योग, वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् ।

अर्का आकांक्षी पाण्डे झापाका व्यवसायी हुन् । पूर्वका व्यवसायीहरुसँग राम्रै सम्बन्ध भएका उनले जिल्ला नगरको उपाध्यक्षमा आकांक्षा राखेको बुझिएको छ ।

महासंघको प्रदेश नम्बर ५ को अध्यक्ष गुणनिधि तिवारी समेत आकांक्षीका रुपमा देखिएका छन् ।

वस्तुगतमा पनि ३ जना आकांक्षी

महासंघमा १०३ वटा वस्तुगत संघहरु छन् भने द्वीदेशीय संगठनहरु १८ वटा छन् । यो पनि वस्तुगतमै जोडिन्छ ।

वस्तुगत उपाध्यक्षका लागि व्यवसायी अञ्जन श्रेष्ठ आकांक्षी देखिएका छन् । लक्ष्मी ग्रुपका अध्यक्ष रहेका श्रेष्ठ नाडा अटोमोवाइल डिलर्स एशोसिएसनका अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

त्यस्तै सौन्दर्य व्यवसायी कमला श्रेष्ठले पनि उपाध्यक्ष पदमा आकांक्षा राखेको बुझिएको छ । उनी हाल महासंघको केन्द्रीय सदस्य हुन् ।

महासंघको वस्तुगत उपाध्यक्षका लागि शंकर पाण्डेसमेत आकांक्षीका रुपमा छन् । नेपाल पश्मिना उत्पादक संघका पूर्वअध्यक्ष पाण्डे महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment