Comments Add Comment

टोखाको न्हुजः खलले बोलायो देशभरका एक सय कवि

१४ माघ, काठमाडौं । टोखाको न्हुजः खलः पुस्तकालयले ‘राष्ट्रिय यूवा कविता प्रतियोगिता तथा राष्ट्रिय युवा कार्यशाला – २०७६’ आयोजना गर्ने भएको छ । यसमा ७७ जिल्लाबाट छानिएका एक सय जना युवा कविले प्रतिस्पर्धा गर्नेछन ।

युवा पुस्तामा ब्याप्त नकारात्मक धारणा र निराशालाई चिर्न जागरण युवा कविता महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ । कविता प्रतियोगितामा देशभरका १८ देखि २५ वर्षका युवाहरुले सहभागिता जनाउनेछन् ।

देशभक्तिको भावना, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षपोषण, राष्ट्रिय दायित्व र कर्तव्यको अभिव्यक्ति तथा राष्ट्रिय समृद्धिको चाहना तथा योजनाले भरिएका कविताहरु यस प्रतियोगितामा समावेश हुने आयोजक समितिले जनाएको छ ।

राष्ट्रिय सञ्चारमाध्यम र राष्ट्रिय युवा परिषद्को जिल्ला कार्यसमितिहरुमार्फत त्यस्ता युवाहरुको खोजी गरिने र यसरी संकलित कविताहरु मध्येबाट विज्ञ समूहको सिफारिसमा ७७ जिल्ला नै समेट्ने गरी १०० जना युवा कविहरुलाई प्रतियोगितामा सहभागी हुन ३ दिनका लागि काठमाडौं बोलाइनेछ ।

देशभक्ति भावना र त्यस भावनालाई शब्दमा सजाउन सक्ने १०० जना युवामाझ टोखा नगरपालिकाका ११० जना सोही उमेर समूहका स्नातक उत्तीर्ण युवाहरुसँग घुलन गरी अन्तर्क्रिया र छलफल गर्ने योजना बनाइएको न्हुज: खलका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

फागुन ११ गते काठमाडौंको प्रज्ञा भवनमा आयोजना हुने प्रतियोगितामा ४० वर्षमुनिका युवाले १५० शब्दमा समेटिएका कविता प्रस्तुत गर्नेछन् । माघ २५ गतेसम्म कविता बुझाइसक्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने युवा कविले ५० हजार,दोस्रोले ३० हजार र तेस्रोले २० हजार राशीको पुरस्कार प्राप्त गर्नेछन् । अन्य दुई कविलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने श्रेष्ठले बताए ।

सो अवसरमा देशको विकास र समृद्धिका बारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । ‘मेरो देश म चिनाउँछु’ शीर्षकमा प्रत्येक प्रदेशका सहभागीबाट छानिएका व्यक्तिले आफ्नो प्रदेशको अवस्था, समस्या र सम्भावनाका बारेमा प्रस्तुतिकरण गर्नेछन् ।

३ दिन सँगै रहँदा स्थानीय युवाहरुले नेपाल भरका सम्पूर्ण जिल्लाहरुको अवस्था, चुनौती, सम्भावना, भाषा, संस्कृति तथा संस्कारका बारेमा जानकारीसमेत पाउने हुँदा देशको विविधता र अवस्थाका बारेमा जान्न पाउने श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment