News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्कुल स्पोर्ट्स फेडरेसन र हिसानबीच विद्यालय स्तरको खेलकुद विकास, प्रवर्द्धन र समन्वयका लागि पाँच वर्षको समझदारी पत्रमा हस्ताक्षर भएको छ।
- सम्झौताअनुसार दुवै संस्थाले संयुक्त रूपमा क्षेत्रीय तथा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्नुका साथै पूर्वाधार र खेल विज्ञानमा सहकार्य गर्ने भएका छन्।
- हिसानमा आबद्ध विद्यार्थी खेलाडीहरूले एनएसएसएफमार्फत अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट्स फेडरेसनका प्रतिष्ठित विश्वव्यापी प्रतियोगिताहरूमा सहभागिता जनाउने अवसर पाउनेछन्।
३० असार, काठमाडौं । नेपाल स्कुल स्पोर्ट्स फेडरेसन (एनएसएसएफ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच ५ वर्षेका समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार आयोजित एक कार्यक्रमकाबीच औपचारिक समझदारी पत्रमा एनएसएसएफका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ र हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्माले हस्ताक्षर गरे ।
देशभरिका हिसानमा आबद्ध उच्च माध्यमिक विद्यालय र कलेजहरूमा संस्थागत विद्यालय खेलकुदको व्यवस्थित विकास, प्रवर्द्धन र समन्वय गर्नु यो सम्झौताको मुख्य उदेश्य रहेको एनएसएसएफले जनाएको छ ।
हस्ताक्षर समारोहमा एनएसएसएफका उपाध्यक्ष मोहन कुमार कार्की, अन्तर्राष्ट्रिय स्कुल स्पोट्र्स फेडरेसनका कार्यकारी समिति सदस्य राजकुमार कार्की, हिसानका महासचिव रामहरि सिलवाल, एनएसएसएफका बोर्ड सदस्य तथा सीएफओ सोविनराज रेग्मी, एनएसएसएफका बोर्ड सदस्य खड्ग बहादुर थापा र एनएसएसएफकै बोर्ड सदस्य पदम रानाको उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार दुवै संस्थाहरू मिलेर क्षेत्रीय, प्रादेशिक र राष्ट्रिय स्तरका व्यवस्थित खेलकुद प्रतियोगिताहरू आयोजना र सञ्चालन गर्ने तथा यस रणनीतिक साझेदारी अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट आधिकारिक मान्यता प्राप्त गर्ने गरी वार्षिक मुख्य प्रतियोगिताहरू पनि आयोजना गरिने छ ।
यू–१९ बास्केटबल ३ बाइ३ च्याम्पियनसिप, एनएसएसएफ हिसान कप, एनएसएसएफ हिसान कमब्याट गेम्स र स्कुल प्रिमियर लिग आयोजना गर्ने सम्झौतामा उल्लेख छ ।
यसैगरी पूर्वाधार र खेल विज्ञानमा पनि सहकार्य गर्ने उल्लेख छ ।
सम्झौता अनुसार स्थानीय खेलकुद पूर्वाधारको स्तरोन्नति गर्ने, आबद्ध विद्यालयहरूलाई आधुनिक खेलकुद सामग्री उपलब्ध गराउने र एनएसएसएफ तथा आइएसएफ एकेडेमीको समन्वयमा खेल विज्ञान कार्यक्रम, कार्यशाला र शारीरिक शिक्षा पाठ्यक्रमहरू लागू गर्ने म्यान्डेट दिएको छ ।
यो साझेदारी पाँच वर्षको रहनेछ र यो साझेदारीको एक महत्त्वपूर्ण पक्ष नेपाली विद्यार्थी–खेलाडीहरूका लागि उत्कृष्ट अन्तर्राष्ट्रिय खेल मञ्चको ढोका खोल्नु पनि रहेको एनएसएसएफले जनाएको छ ।
एनएसएसएफले हिसान आबद्ध संस्थाहरूका खेलाडीलाई अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट्स फेडरेसन द्वारा सञ्चालित प्रतिष्ठित विश्वव्यापी प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्ने आधिकारिक अवसर प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
यी वृहत् कार्यक्रमहरू सञ्चालन गर्न दुवै निकायले संयुक्त रूपमा संस्थागत प्रायोजन, निजी सहयोग र सरकारी अनुदानहरू जुटाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमलाई पारदर्शी र जवाफदेही बनाउन एनएसएसएफ र हिसानका नेतृत्व सम्मिलित एक ’संयुक्त अनुगमन समिति’ तत्काल गठन गरिने र त्यसबाट परियोजनाको प्रगति समीक्षा गर्ने, प्रदर्शनको मूल्याङ्कन गर्ने एनएसएसएफले जनाएको छ ।
प्रतिक्रिया 4