+
फिफा विश्वकप :

सेमिफाइनल खेलको रोचक प्रसंग, गोलको वर्षादेखि पेनाल्टी सुटआउटसम्म

२०८३ असार  ३० गते १६:३० २०८३ असार ३० गते १६:३०

फिफा विश्वकपको इतिहासमा सेमिफाइनल खेलहरू सधैं निकै रोमाञ्चक, नाटकीय र ऐतिहासिक हुने गरेका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्स, स्पेन, इंग्ल्यान्ड र अर्जेन्टिना प्रवेश गरेका छन् ।
  • विश्वकप इतिहासमा पहिलोपटक फिफा वरीयताका शीर्ष चार टोली नै सेमिफाइनलमा पुगेका छन् ।
  • अर्जेन्टिनाले हालसम्म खेलेका सबै छ वटा सेमिफाइनल खेलमा शतप्रतिशत जित हात पारेको छ ।

३० असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा १०० खेल सम्पन्न भएपछि अब सेमिफाइनल खेलको पर्खाईमा फुटबल समर्थकहरू छन् ।

४८ राष्ट्रले प्रतिस्पर्धा गरेको २३औं संस्करणको विश्वकपमा अब ४ टिम मात्र उपाधि होडमा बाँकी छन् । आज र भोली राति (भोलि बिहान र पर्सि बिहान) सेमिफाइनल खेल हुँदैछ । जहाँबाट दुई टोली उपाधि होडमा कायम रहँदा दुई टोलीको यात्रा यहीबाट सकिनेछ ।

फ्रान्स र स्पेनबीच भोलि बिहान १२:४५ बजे पहिलो सेमिफाइनल हुनेछ भने इंग्ल्यान्ड र अर्जेन्टिनाबीच पर्सि बिहान १२:४५ बजे सेमिफाइनल खेल हुनेछ ।

फिफा विश्वकपको इतिहासमा सेमिफाइनल खेलहरू सधैं निकै रोमाञ्चक, नाटकीय र ऐतिहासिक हुने गरेका छन् ।

फिफा विश्वकप २०२६ को सेमिफाइनल खेलअघि विश्वकपको सुरुआत (सन् १९३०) देखि हालसम्मका सेमिफाइनल खेलहरूका मुख्य विशेषता तथा रोचक तथ्यहरूलाई यहाँ प्रस्तुत गरेका छौं ।

युरोप र दक्षिण अमेरिकाको वर्चस्व

फुटबल विश्वकपको इतिहासमा सेमिफाइनल पुग्ने टोलीहरूमा अधिकांश युरोप र दक्षिण अमेरिकी महादेशका टोलीहरू नै छन् । अहिलेसम्म यी दुई महादेश बाहिरबाट दुई टोली मात्र सेमिफाइनल पुगेका छन् ।

सन् २००२ मा एसियाबाट दक्षिण कोरिया र २०२२ मा अफ्रिकाबाट मोरक्कोले सेमिफाइनल पुगेर इतिहास रचेका थिए । दक्षिण कोरियाले जापानसँग मिलेर विश्वकप आयोजना गर्दा ऐतिहासिक प्रदर्शन गर्दै अन्तिम चारमा पुगेको थियो ।

सर्वाधिक सेमिफाइनल खेल्ने जर्मनी

फिफा विश्वकपको इतिहासमा सबैभन्दा धेरै पटक सेमिफाइनल पुग्ने कीर्तिमान जर्मनीको नाममा छ । जर्मनी हालसम्म १२ पटक सेमिफाइनलमा पुगेको छ । जसमा चार पटक च्याम्पियन बनेको छ ।

त्यसपछि ब्राजिल र फ्रान्स समान ८ पटक र इटालीले ७ पटक सेमिफाइनल खेलेका छन् । हाल अर्जेन्टिनाल पनि सेमिफाइनल पुगिसकेको छ र सातौं पटक सेमिफाइनल खेल्ने तयारीमा छ ।

तीन संस्करणमा सेमिफाइनल नै भएन

फिफा विश्वकपमा केही यस्ता संस्करण पनि भए जसमा सेमिफाइनल खेल भएन । सन् १९५०, १९७४ र १९७८ को विश्वकपमा सेमिफाइनल नै भएन ।

सन् १९५० मा ‘फाइनल राउन्ड’ (शीर्ष ४ टोलीबीच खेल) खेलाइएको थियो । जसमा सबैन्दा धेरै अंक जोड्ने टिम च्याम्पियन बनेको थियो ।

यस्तै सन् १९७४ र १९७८ मा पहिलो चरण पछि दोस्रो चरण खेलाइयो र दोस्रो चरणको समूह विजेताहरू सिधै फाइनल पुग्ने प्रावधान राखिएको थियो ।

सबैभन्दा ठूलो अन्तरको जित

फिफा विश्वकपको सेमिफाइनलको कुरा गर्दा सन् २०१४ मा भएको ब्राजिल र जर्मनीबीचको सेमिफाइनललाई सायद कसैले भुलेका छैनन् । किनभने घरेलु टोली ब्राजिल आफ्नै मैदानमा जर्मनीसँग ७-१ को फराकिलो अन्तरले पराजित भएको थियो ।

जसलाई बेलो होरिजेन्टेको धक्काको रुपमा पनि चर्चा गरिन्छ । विश्वकप सेमिफाइनलको कुरा गर्दा सबैभन्दा ठूलो र स्तब्धपूर्ण नतिजा त्यही नै थियो । उपाधि दाबेदार ब्राजिललाई उसैको मैदानमा ७-१ ले पराजित गर्दै फाइनल पुगेको जर्मनीले अन्तिममा उपाधि नै जितेको थियो ।

गोलको वर्षा

विश्वकपको केही सेमिफाइनल खेलहरू यस्ता भएका छन् जसमा गोलको वर्षा नै भएको छ । विश्वकप इतिहासमा सुरुवाती संस्करणका सेमिफाइनल खेलहरूमा धेरै गोल भएका थिए ।

सन् १९३० को पहिलो विश्वकपमै दुवै सेमिफाइनलमा गोलको वर्षा भएको थियो । सन् १९३० को पहिलो विश्वकपमा अर्जेन्टिनाले अमेरिकालाई र उरुग्वेले युगोस्लाभियालाई समान ६-१ को अन्तरले पराजित गरेको थियो । सन् १९५४ को विश्वकप सेमिफाइनलमा पश्चिम जर्मनीले अस्ट्रियालाई पनि ६–१ गोल अन्तरले पराजित गरेको थियो ।

सन् १९५४ देखि १९७० सम्मका १० वटा सेमिफाइनल खेलमा मात्रै ५१ गोल भएका थिए । जुन औसत प्रतिखेल ५.१ गोल थियो । यस्तै पछिल्लो पटक सन् २०१४ मै ब्राजिलमा भएको विश्वकपको सेमिफाइनलमा जर्मनी र ब्राजिलबीचको खेलमा ८ गोल भयो । जर्मनीले उक्त खेल ७-१ ले जितेको थियो । सन् १९३८ को विश्वकप सेमिफाइनलमा हंगेरीले स्वीडेनलाई ५-१ ले पराजित गरेको थियो ।

सन् १९९० पछि आधुनिक फुटबलको विकास भएपछि विश्वकपको सेमिफाइनल खेलको शैली पनि परिवर्तनभएको छ । रक्षात्मक रणनीतिमा खेल्दा कम गोल हुने र अतिरिक्त समयमा खेल पुग्ने पनि देखिएको छ । धेरै जसो खेलहरू निर्धारित ९० मिनेटमा बराबरी भई अतिरिक्त समय वा पेनाल्टी सुटआउटमा लम्बिने गरेका छन् ।

शताब्दीकै उत्कृष्ट सेमिफाइनल खेल

सन् १९७० को विश्वकपमा इटाली र पश्चिम जर्मनीबीच भएको सेमिफाइनल खेललाई विश्वकप फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक खेलहरूमध्ये एक मानिन्छ । उक्त खेलको निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएको थियो तर अतिरिक्त समयमा मात्रै ५ गोल भयो । निकै रोमाञ्चक खेल इटालीले ४-३ ले जितेको थियो ।

जर्मनीले आठौं मिनेटमै अग्रता लिएको खेलमा इटालीले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा बराबरी गोल फर्काउँदै खेललाई अतिरिक्त समयमा पुर्‍याएका थिए । जहाँ इटालीले ३ गोल गर्दा जर्मनीले २ गोल गरेको गियो ।

पेनाल्टी सुटआउटको सुरुवात

पछिल्लो समय सेमिफाइनल खेलमा अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुग्ने चलन देखिएको छ । तर विश्वकप इतिहासमै पहिलो पेनाल्टी सुटआउट सन् १९९२ को सेमिफाइनल खेलमै भएको थियो ।

पश्चिम जर्मनी र फ्रान्सबीच भएको खेलमा पेनाल्टी सुटआउट भएको थियो । उक्त खेल पश्चिम जर्मनीले पेनाल्टीसुटआउटमा ५-४ ले जितेको थियो ।

निर्धारित समयमा १-१ र अतिरिक्त समयमको खेलपछि ३-३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको थियो ।

लगातार तीन पटक सेमिफाइनल

विश्वकप जस्तो ठूलो मञ्चमा लगातार सहभागी भएर उत्कृष्ट प्रदर्शन गर्नु चुनौतीपूर्ण मानिन्छ । तर केही यस्ता टिमहरू छन् जसले लगातार समूह चरण देखि राम्रो प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएका छन् ।

विश्वकप इतिहासमा लगातार तीन वा सोभन्दा बढी पटक सेमिफाइनल पुग्ने देशहरू मात्र तीनवटा (फ्रान्ससहित) छन् । जसमा जर्मनी सबैभन्दा अगाडि छ । जर्मनी दुई फरक अवसरमा लगातार तीन पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । यस्तै ब्राजिलले पनि लगातार तीन पटक सेमिफाइनल खेलेको छ ।

हाल फ्रान्स लगातार तेस्रो पटक सेमिफाइनल खेल्ने तयारीमा छ । सन् २०१८ मा च्याम्पियन बनेको फ्रान्स २०२२ मा उपविजेता बनेको थियो । फ्रान्स लगातार तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा समेत छ ।

यसअघि ब्राजिलले सन् १९९४ देखि २००२ सम्म लगातार तीन फाइनल खेलेको थियो । जसमा १९९४ र २००२ ब्राजिल च्याम्पियन बनेको थियो ।

सेमिफाइनलमा अपराजित अर्जेन्टिना

विश्वकप सेमिफाइनलको अर्को रमाइलो प्रसंग छ अर्जेन्टिनाको । अर्जेन्टिना त्यस्तो टिम हो जो सेमिफाइनलमा अहिलेसम्म अपराजित छ । ६ पटक विश्वकप सेमिफाइनल खेल्दा अर्जेन्टिनाले शतप्रतिशत जित हात पारेको छ ।

त्यसमा ३ पटक च्याम्पियन नै बन्दा ३ पटक भने उपविजेता बनेको छ । सन् १९३० को पहिलो विश्वकपमै फाइनल पुगेर पनि उपविजेता बनेको अर्जेन्टिनाले १९७८, १९८६ र २०२२ मा उपाधि जितेको थियो । १९९० र २०१४ पनि फाइनलमा खेल्दा अर्जेन्टिना उपविजेता बनेको थियो ।

शीर्ष वरीयताका टोलीहरूको महासंग्राम

आधुनिक प्रविधिको विकास र समयक्रमसँगै फुटबलको प्रतिस्पर्धा तिव्र र फरक किसिमको देखिएको छ । यस पटक उत्तर अमेरिकामा विश्वकपको सेमिफाइनल पुग्ने चारै राष्ट्र शीर्ष चार वरियता भित्रका छन् । जुनै विश्वकपमा विरलै हुने गर्छ ।

विश्वकप २०२६ मा फिफा वरीयताका शीर्ष चार टोलीहरू (अर्जेन्टिना, स्पेन, फ्रान्स र इंग्ल्याण्ड) नै सेमिफाइनलमा पुगेर इतिहासमै विरलै हुने समीकरण बनाएका छन् ।

आयोजक टोलीको दबाब र इतिहास

विश्वकप आयोजना गर्नु र घरेलु मैदानमा राम्रो प्रदर्शन गर्नु अवसर र चुनौती दुवै हुन्छ । घरेलु मैदानको फाइदा केही राष्ट्रले राम्रैसँग उठाएका छन् र च्याम्पियन पनि बनेका छन् ।

तर केही टिम भने सेमिफाइनलको दबाब झेल्न नसकेर घरेलु मैदानमा खेल्दा पनि बाहिरिएका छन् ।

जस्तै सन् १९९० मा इटाली, २००६ मा जर्मनी र २०१४ मा ब्राजिल घरेलु मैदानमा विश्वकप खेल्दा पनि सेमिफाइनलमा पराजित हुँदै बाहिरिएका छन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय