News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को सेमिफाइनलअघि इंग्ल्यान्डका कप्तान ह्यारी केनले टोली पूर्ण रूपमा एकताबद्ध रहेको स्पष्ट पारेका छन् ।
- क्वाटरफाइनलमा नर्वेलाई २–१ ले हराउँदै इंग्ल्यान्ड अन्तिम चारमा पुगेपछि टोलीभित्र मतभेद रहेको भनी चलेको चर्चालाई केनले खण्डन गरेका छन् ।
- केनले प्रशिक्षक थोमस टुचेलको शैलीलाई खेलाडीले सकारात्मक रूपमा लिएको र उहाँ संसारकै उत्कृष्ट प्रशिक्षकमध्ये एक रहेको बताएका छन् ।
३० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलअघि इंग्ल्यान्डका कप्तान ह्यारी केनले टोली पूर्ण रूपमा एकताबद्ध रहेको बताएका छन् ।
नर्वेविरुद्धको क्वाटरफाइनलपछि प्रशिक्षक थोमस टुचेल र जुड बेलिङहमबीच मतभेद भएको चर्चा चलिरहेका बेला केनले त्यस्तो कुनै अवस्था नरहेको स्पष्ट पारेका हुन् ।
इंग्ल्यान्डले क्वाटरफाइनलमा नर्वेलाई २–१ ले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो । खेलपछि टुचेलले आफ्नो टोली ‘भाग्यमानी’ रहेको र प्रदर्शनबाट आफू सन्तुष्ट नभएको बताएका थिए । त्यसबारे सोधिएको प्रश्नमा बेलिङहमले ‘जे भए पनि भयो, मैदानमा खेल्न निकै कठिन थियो’ भन्दै प्रतिक्रिया दिएका थिए ।
यही प्रतिक्रियालाई लिएर विभिन्न सञ्चारमाध्यममा टोलीभित्र असन्तुष्टि भएको चर्चा चलेपछि कप्तान केनले त्यसको खण्डन गरेका छन् ।
‘यस्तो कठिन खेल सकिएको पाँच मिनेटमै यस्तो प्रश्न सोधिएको थियो । त्यतिबेला प्रशिक्षकले के भनेका थिए भन्ने जुडलाई नै थाहा थिएन’ केनले भने, ‘यस्ता प्रतियोगितामा इंग्ल्यान्डबारे विभाजनको कथा बनाउन सजिलो हुन्छ। तर वास्तविकता ठीक उल्टो छ। हामी यहाँसम्म आइपुगेका छौं भने त्यसको कारण हाम्रो एकता हो ।’
केनले टुचेलको शैली पूर्व प्रशिक्षक सर ग्यारेथ साउथगेटभन्दा फरक भए पनि त्यसलाई टोलीले सकारात्मक रूपमा लिएको बताए ।
‘उहाँ मनमा लागेको कुरा खुला रूपमा भन्नुहुन्छ। कुनै तयारी गरेर बोलेको जस्तो हुँदैन। त्यही कारण खेलाडीले उहाँलाई विश्वास गर्छन्। उहाँ संसारकै उत्कृष्ट प्रशिक्षकमध्ये एक हुनुहुन्छ,’ उनले भने ।
प्रतिक्रिया 4