+
एसीसी यू-१९ महिला प्रिमियर कप :

नेपालको लगातार तेस्रो जित, समूहविजेता बन्दै क्‍वाटरफाइनलमा

२०८३ असार  ३० गते १०:३५ २०८३ असार ३० गते १०:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले हङकङलाई १८१ रनले पराजित गर्दै लगातार तेस्रो जितसहित समूहविजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ।
  • नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको हङकङ २० ओभरमा ९ विकेट गुमाएर ३० रनमात्र बनाउन सफल भयो।
  • कप्तान सोनी पाख्रिनले ६० बलमा १३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ९० रन बनाएर टोलीको जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्।

३० असार, काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकाल्दै समूहविजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको छ ।

समूह ‘डी’ अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा नेपालले हङकङमाथि १८१ रनको अर्को फराकिलो जित हासिल गरेको हो ।

नेपालले दिएको २१२ रनको बलियो लक्ष्य पछ्याएको हङकङले पूरा २० ओभरमा ९ विकेट गुमाएर ३० रन मात्र बनाउन सक्यो ।

वोङ विङले सर्वाधिक १३ रन बनाइन् । अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालका लागि कप्तान सोनी पाख्रिनले ४ ओभरमा ४ रन दिएर ४ विकेट लिइन् । मनिषा उपाध्यायले २ तथा कृश्मा गुरुङ र स्न्हा महराले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो । कप्तान सोनी पाख्रिनले सर्वाधिक ९० रन बनाइन् । ६० बलमा उनले १३ चौका र १ छक्का प्रहार गरिन् । सावित्री धामीले ५२ तथा अलिशा यादवले अविजित २३ रन बनाइन् ।

नेपालले यू-१९ स्तरमा बनाएको यो दोस्रो सर्वाधिक योगफल हो भने जारी प्रतियोगिताको सर्वाधिक योगफल समेत हो । यसअघि सन २०२५ महिला यू-१९ टी-२० विश्वकप छनोटमा नेपालले कुवेतविरुद्ध २१३ रनको योगफल बनाएको थियो ।

हङकङका लागि निमरा अरबले २ तथा वोङ विङ र आरुज फातिमाले १-१ विकेट लिए ।

नेपालले यसअघि पहिलो खेलमा कतारलाई १०५ रनले अनि दोस्रो खेलमा सिंगापुरलाई १५१ रनले पराजित गरेको थियो ।

एसीसी यू-१९ महिला प्रिमियर कप नेपाली महिला यू-१९ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय