News Summary
Generated by OK AI. Editorially reviewed.- ओपनर कुशल भुर्तेलको शतक तथा बलरहरूको शानदार प्रदर्शनमा नेपालले जर्सीविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा ८१ रनको सहज जित हासिल गरेको छ ।
- नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको जर्सी ४१ ओभरमा १६९ रनमै समेटिँदा हेमन्त धामीले ४ र आरिफ शेखले ३ विकेट लिएका छन् ।
- ब्याटिङतर्फ शतक प्रहार गरेका कुशल भुर्तेलले ११७ बलमा १०५ रन बनाए भने बलिङतर्फ हेमन्तले ७ ओभरमा ३७ रन खर्चिएर ४ विकेट लिएका छन् ।
३० असार, काठमाडौं । ओपनर कुशल भुर्तेलको शतक तथा हेमन्त धामी र आरिफ शेखको शानदार बलिङ मद्दतमा नेपालले जर्सीविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा जित हासिल गरेको छ ।
सोमबार राति ग्रानिभलमा सम्पन्न खेलमा नेपालले जर्सीमाथि ८१ रनको जित हासिल गरेको हो । ब्याटिङमा भुर्तेलले शतक बनाए भने बलिङमा हेमन्त धामीले ४ अनि आरिफले ३ विकेट लिँदै जर्सीलाई धराशायी बनाएका थिए ।
नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको जर्सी ४१ ओभरमा १६९ रनमा अलआउट भयो । चार्ली ब्रेनन ८२ रनमा अविजित रहेपनि जित दिलाउन सकेनन् । डानियल बिरेलले ४१ रन बनाए ।
नेपालका लागि हेमन्तले ७ ओभरमा ३७ रन दिएर ४ विकेट लिए भने आरिफले ५ ओभरमा ९ रन दिएर ३ विकेट लिए । करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।
जर्सी १२औं ओभरमा ३९-५ अनि २०औं ओभरमा ५९-८ को अवस्थामा पुगेको थियो र ब्रेनन र बिरेल मिलेर ९४ रनको साझेदारी गरेका थिए । यद्यपी नेपालले साझेदारी तोड्न सफल भयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २५० रन बनाएको थियो ।
यसअघि ३१औं ओभर चलिरहँदा नेपाल १५८-२ को अवस्थामा रहँदा वर्षा भएपछि करिब डेढ घण्टा खेल रोकिएको थियो । खेल पुन: सुरु हुँदा ओभर घटाइएको थिएन ।
भुर्तेल ११७ बलमा १०५ रन बनाएर आउट भए । उनले १३ चौका प्रहार गरे । त्यस्तै भीम सार्कीले ३९ रन बनाए ।
एक समय २९औं ओभरमा १४८-१ अनि ३५औं ओभरमा १७२-२ को बलियो अवस्थामा देखिएपनि नेपाली टोलीको ब्याटिङ त्यसपछि धर्मरायो ।
जर्सीका लागि डानियल बिरेल, बेन्जामिन वार्ड र निक ग्रीनवूडले २-२ विकेट लिँदा जर्ज रिचार्डसन र चार्ल्स पर्चार्डले १-१ विकेट लिए ।
जर्सीसँग बुधबार अर्को एकदिवसीय खेल खेलेपछि नेपालले नेदरल्यान्ड्समा नामिबिया पनि सम्मिलित लिग २ को त्रिदेशीय शृङ्खला खेल्नेछ ।
प्रतिक्रिया 4