+
फिफा विश्वकप २०२६ :

यी हुन् फ्रान्स र स्पेनबीचको खेल खेलाउने रेफ्री

२०८३ असार  ३० गते १२:२२ २०८३ असार ३० गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेल फ्रान्स र स्पेनबीच हुने भएको छ ।
  • फिफाले उक्त महत्वपूर्ण खेलका लागि एल साल्भाडोरका इभान बार्टोनलाई मुख्य रेफ्री तोकेको छ ।
  • अघिल्ला चरणका खेलमा भएका विवादास्पद निर्णयपछि फिफाले रेफ्री छनोटलाई विशेष प्राथमिकता दिएको छ ।

३० असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा खेलाडीहरू जत्तिकै रेफ्रीहरू पनि चर्चामा छन् । प्रतियोगिताभरि केही विवादास्पद निर्णय भएपछि रेफ्रीमाथि पक्षपात गरेको आरोप लागिरहेको छ ।

त्यसैले विश्वकपका अन्तिम तीन महत्वपूर्ण खेलमा फिफाले रेफ्री छनोट कसरी गर्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ । फ्रान्स र स्पेनबीचको सेमिफाइनलअघि फिफाले उक्त खेलका लागि आधिकारिक रेफ्री टोली सार्वजनिक गरेको छ । यो छनोटले अघिल्ला विवाद र आरोपलाई फिफाले गम्भीर रूपमा लिएको संकेत गरेको छ ।

पहिलो सेमिफाइनल फ्रान्सविरुद्ध स्पेन खेलका लागि एल साल्भाडोरका २, निकारागुवाका १ र स्विडेनका २ रेफ्री छनोट भएका छन् । एल साल्भाडोरका इभान बार्टाेन पहिलो सेमिफाइनलको मुख्य रेफ्री रहनेछन् । यस विश्वकपमा बार्टोनले यसअघि समूह चरण र नकआउट चरणका खेल सञ्चालन गरिसकेका छन् भने यो उनको चौथो खेल हुनेछ ।

विश्वकप सुरु हुनुभन्दा केही महिनाअघि एल साल्भाडोर फुटबल महासंघले क्लाउजुरा प्रतियोगिताअन्तर्गत अगुइला र आलिआन्जाबीच भएको चर्चित खेलमा विवादास्पद निर्णय गरेको भन्दै बार्टोनलाई घरेलु प्रतियोगिताका दुई खेलका लागि निलम्बन गरेको थियो ।

डेभिड मोरान पहिलो सहायक रेफ्री र एन्टोनियो पुपिरो दोस्रो सहायक रेफ्री रहनेछन् । फ्रान्स–स्पेन खेलका लागि ग्लेन न्येबर्ग चौथो अधिकारी नियुक्त भएका छन् । उनले सन् २०२४ को यूईएफए च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बायर्न म्युनिखका तत्कालीन प्रशिक्षक थोमस टुहेलको आलोचना खेपेका थिए ।

उक्त खेलमा आर्सनलका गाब्रिएल मागाल्हाइसले गोलरक्षकको सिटीपछि पेनाल्टी क्षेत्रभित्र हातले बल छोए पनि न्येबर्गले पेनाल्टी दिएका थिएनन् ।

यस्तै, स्विडेनका महबोद बेगी रिजर्भ सहायक रेफ्रीको भूमिकामा रहनेछन् । फ्रान्स र स्पेनबीचको रोमाञ्चक भिडन्तअघि फिफासामु सबैभन्दा ठूलो चुनौती खेललाई कुनै पनि विवादबाट टाढा राख्नु हुनेछ ।

जारी विश्वकपमा रेफ्रीको निर्णयलाई लिएर विभिन्न आरोप हुँदै आएको छ । इजिप्टका मुख्य प्रशिक्षक होसम हसनले अर्जेन्टिनासँगको हारपछि सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय