News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डविरुद्ध आफ्नो परम्परागत जर्सीको साटो गाढा निलो रङको अवे जर्सी लगाएर खेल्ने भएको छ ।
- सन् १९८६ र १९९८ को विश्वकपमा इंग्ल्यान्डविरुद्धको ऐतिहासिक जितमा प्रयोग गरिएको उक्त जर्सीलाई अर्जेन्टिनाले संयोग र अन्धविश्वाससँग जोडेर हेरेको छ ।
- बुधबार अमेरिकाको एटलान्टामा हुने खेलमा इंग्ल्यान्ड भने आफ्नो सेतो घरेलु जर्सीमै मैदान उत्रने तय भएको छ ।
३० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाले आफ्नो परम्परागत निलो–सेतो धर्के जर्सी होइन, गाढा निलो रङको अवे जर्सी लगाएर खेल्ने भएको छ ।
बुधबार अमेरिकाको एटलान्टामा हुने सेमिफाइनलमा इंग्ल्यान्ड भने सेतो घरेलु जर्सीमै मैदान उत्रनेछ । यस विश्वकपमा अर्जेन्टिनाले गाढा निलो जर्सी दोस्रोपटक प्रयोग गर्न लागेको हो ।
यसअघि समूह चरणमा जोर्डनविरुद्ध मात्र अर्जेन्टिनाले गाढा निलो जर्सी लगाएको थियो । अन्य सबै खेलमा निलो-सेतो धर्के डिजाइनको जर्सी प्रयोग भएको थियो ।
अर्जेन्टिनी सञ्चारमाध्यमका अनुसार यो निर्णय केवल जर्सी नियमका कारण मात्र नभई अन्धविश्वाससँग पनि जोडिएको छ । किनभने यही गाढा निलो जर्सीमा अर्जेन्टिनाले विश्वकपमा इंग्ल्यान्डविरुद्ध दुई ऐतिहासिक सफलता हात पारेको थियो ।
सन् १९८६ को विश्वकप क्वाटरफाइनलमा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ र अविस्मरणीय एकल गोलको मद्दतमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराएको थियो । त्यसबेला पनि अर्जेन्टिना गाढा निलो जर्सीमै खेलेको थियो ।
त्यसपछि सन् १९९८ को विश्वकप अन्तिम १६ मा पनि अर्जेन्टिनाले यही रङको जर्सी लगाएर पेनाल्टी सुटआउटमार्फत इंग्ल्यान्डलाई पराजित गरेको थियो ।
यद्यपी सन् २००२ को विश्वकपमा भने दुवै टोलीको जर्सी उल्टिएको थियो । त्यस खेलमा इंग्ल्यान्डले रातो जर्सी लगाएको थियो भने अर्जेन्टिना आफ्नो परम्परागत निलो–सेतो धर्के जर्सीमा उत्रिएको थियो । उक्त खेलमा इंग्ल्यान्ड १–० ले विजयी भएको थियो ।
फिफाले सामान्यतया दुवै टोलीलाई पहिलो रोजाइको जर्सीमै खेलाउने प्रयास गर्छ । तर रङ जुध्ने सम्भावना भए वा दृष्टिदोष भएका समर्थकलाई खेल हेर्न सहज बनाउन आवश्यक ठानेमा फरक रङका जर्सी प्रयोग गराइन्छ ।
इंग्ल्यान्डले क्वाटरफाइनलमा नर्वेलाई २–१ ले तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए ।
-बीबीसीबाट
प्रतिक्रिया 4