१४ माघ, काठमाडौं । प्रहरीले गायिका आस्था राउत प्रकरणबारे अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
प्रहरीले बुझाएको रायको आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार दिउँसो अभियोग पत्र दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले अभियोग पत्र दायर भइसकेको अनलाइनखबरलाई बताए ।
योसँगै प्रहरीले थुनछेक बहसका लागि राउतलाई जिल्ला प्रशासन कार्यालय पुर्याएको छ । मंगलबारै बहस सकिए प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटी वा साधारण तारेखमा राउतलाई छाड्न सक्छन् ।
यसअघि १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो ।
सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।
राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जोही दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । त्यसपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौं उपस्थित गराएको प्रहरीले उनीमाथि अनुसन्धानका लागि चार दिनलाई अनुमति पाएको थियो ।
प्रतिक्रिया 4