
१४ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि व्यंग्य गर्नु पर्यो भने हास्य कलाकारहरु बोलेकै बुझिँदैन भन्छन् । तर देउवाले अरुले बोलेको बुझेनन् भने ?
आइतबार प्रतिनिधिसभामा यस्तै भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्षमा प्राकृतिक धक्काहरु देखिएको बताउँदा देउवाले धक्का मात्र सुनेछन् क्यारे, ठूलो धक्का आउँछ रे नेपालमा । कहाँबाट आउँदैछ । हामीले पनि थाहा पाउनु पर्योे, हामी सहयोग गर्न तयार छौं भन्दै प्रधानमन्त्रीमाथि नै कड्किए ।
प्रधानमन्त्रीले के भनेका थिए ?
हामी भर्खर नयाँ वर्ष २०२० मा प्रवेश गरेका छौं । यो नयाँ वर्ष २०२० लाई हामीले नेपाल भ्रमण वर्षको रुपमा अगाडि सारेका छौं । यसमा सुरुमै हामीलाई केही धक्काका संकेतहरु प्रकृतिक हिसाबले देखा परेका छन् । जसलाई हामीले सावधानीपूर्वक समाना गर्नुपर्नेछ । सरकार त्यसको तयारीमा लागेको छ ।
देउवाले के भने ?
प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभएको छ । धक्का आउँदैछ रे ! के धक्का हो यो ? कहाँबाट आउँदैछ ? धक्का भन्ने सुनेँ मैले आज । ठूलो धक्का आउँछ रे नेपालमा । कसले धक्का दिने बाला छ, हामीले पनि थाहा पाउनु पर्यो । नेपालमा धक्का दिने को छ, थाहा पाउनुपर्यो । सहयोग गर्न तयार छौं । कसले धक्का दिनसक्छ ? हामी पनि हेरौं । तर धक्का कसले दिँदैछ प्रधानमन्त्रीले बोल्नु भएको छैन ।
सायद यसैलाई भनिन्छ, म गर्छु आग्राको कुरा, सम्धी गर्छन् गाग्राको कुरा ।
प्रधानमन्त्रीले प्रकृतिक धक्काको कुरा गर्दा विपक्षी दलका नेता देउवाले अरु नै धक्का बुझेछन् क्यार ! कसले धक्का दिँदैछ भन्ने थाहा दिनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया 4