Comments Add Comment

‘कांग्रेसले खबरदारी नगर्दा सरकार निरंकुश’

१४ माघ, काठमाडौं । नेपाली कांग्रेस निकट पेशाकर्मीले कांग्रेसले सरकारलाई प्रभावकारी रुपमा खबरदारी गर्न नसकेको टिप्पणी गरेका छन् ।

सोमबार प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस निकट पेशाकर्मीहरुले कांग्रेस कमजोर भएकै कारण सरकार निरंकुश भएको धारणा राखे ।

नेपाल बार एसोसिएसनका पूर्वमहासचिव सुनील पोखरेलले सरकारले ल्याएका विधेयकमा कांग्रेसले समयमै खबरदारी गर्न नसक्दा सरकार झन् निरंकुश हुँदै गएको टिप्पणी गरे ।

पछिल्लो उदाहरण सूचना प्रविधि विधेयक भएको उनको भनाइ छ । ‘समयमै खबरदारी गर्दा गुठी विधेयक फिर्ता भयो तर, सूचना प्रविधि विधेयक संसदीय समितिबाट पास भएको छ । समितिमा छलफलमा हुँदा हामीले आफ्ना कुरा कति र कुन ढङ्गले राख्यौं ? त्यो पर्याप्त थियो त ?’ पोखरेलको प्रश्न छ ।

सरकारले ल्याएका विधेयकमा भन्दा कांग्रेस नेतृत्वको ध्यान भागवण्डामा गएको उनको आरोप छ । ‘संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा कांग्रेस भाग खोज्न गयो । त्यो आयोग तत्कालिन माओवादीहरुको मुद्धा चोख्याउने ठाउँ हो । त्यसको जिम्मा अब कांग्रेसले पनि लिँदैछ’ पोखरेलले भने ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले सरकारले कुन बेला कस्तो विधेयक ल्याउँछ भनेर कुरेर बस्नुपर्ने स्थिति रहेको बताए । ‘अहिले हामी सरकारले ल्याउन लागेको आमसञ्चार विधेयकको ब्यग्र प्रतीक्षामा छौं । त्यहाँ पनि मिडिया काउन्सिलमा जस्तै ब्यवस्था राखेर ड्राफ्ट भएको सुनिएको छ’ विष्टले भने ।

नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकारले एकपछि अर्को विधेयक ल्याएर प्रतिपक्षी र जनतालाई अल्झाइरहेको बताए ।

अभिव्यक्ति स्वतन्त्रता खोस्ने गरी एकपछि अर्को विधेयक ल्याउने र सबै विधेयक उस्तै गरी आए भन्ने गराएर प्रतिपक्षी र जनतालाई थकाउने सरकारको सोच रहेको उनको जिकिर छ । आचार्य भन्छन्, ‘जनता थाकेपछि आफू अनुकुल कानून बनाउन सकिन्छ कि भन्ने कम्युनिस्टलाई लागेको होला । त्यस्तो हुन दिनु हुन्न ।’

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुस्कर आचार्यले सत्तारुढ दल ट्रेड युनियन अधिकार खोस्न लागि परेको गुनासो गरे ।

उनी भन्छन्, ‘ट्रेड युनियनबाटै सत्तामा पुगेका कम्युनिस्टहरु अहिले आफु उक्लेको भर्‍याङ फ्याक्न खोज्दैछन् । यसमा कांग्रेस बोल्नुपर्ने छ ।’

निजामती कर्मचारीमा ट्रेड युनियन राख्ने कि नराख्ने भन्ने बहस प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा चलिरहेको छ । यसतर्फ संकेत गर्दै आचार्यले यस्तो बताएका हुन् ।

हाम्रा समाचार आएनन् : नेता पाण्डे

कार्यक्रममा कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पनि उपस्थित थिए । उनले आफूरुले मिडियामा स्थान पाउन नसकेको गुनासो गरे ।

‘मैले संसदमा बोलेको भाषण मिडियामा छपाउन डेढ बर्ष मेहनत गर्नुपर्यो । हामीले बोलेका कुरा बाहिर आउँदैनन् । अनि कहाँ संसदमा कांग्रेसको उपस्थिति देखिन्छ ?’ नेता पाण्डे भन्छन्, ‘हाम्रा कुरा मिडियामा नआएपछि जनताले खै कांग्रेस भनेका हुन् । हामी संसदमा निरन्तर सरकारको कार्यशैलीविरुद्ध बोलिरहेका छौं ।’

सांसद पाण्डे यत्तिमा रोकिएनन् । ‘हामीले मिडियामा आउन के गर्नुपर्‍यो  ? कुर्सी भाँचे मात्रै हाम्रो समाचार आउने हो ? सरकार पुरै नियन्त्रणमुखी भयो भनेर बोलिरहेकै छौं । यो कुरालाई यहाँ (प्रेस युनियन) हरुले बाहिर ल्याइदिन पर्‍यो ।’

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सोमवार पारित गरेको मिडिया काउन्सिल विधेयकका केही बुँदामा आफुहरुको असहमति रहेको पनि उनले बताए ।
‘पत्रकारले परीक्षा दिनुपर्ने विषयमा हाम्रो असहमति छ । यसलाई रोक्न अझै कोशिस गर्छौं’ पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment