Comments Add Comment

अनलाइन सपिङको नाममा ठगी धन्दा, ६८ लाखसहित ८ जना पक्राउ

१७ जनाको ७८ वटा बैंक खाता, ठगीको सञ्जाल भारतसम्म

१४ माघ, विराटनगर । काठमाडौं बसोबास गर्दै आएकी छत्रकुमारी धमलाको नाममा खुलेको खाताले ठगी गरेको उजुरी महानगरीय अपराध महाशाखासम्म पुग्यो । उजुरी परेपछि अनुसन्धान गर्दा धमलाको नाममा खुलेको खाता बन्द भएको भेटियो ।

ठगी उजुरीको छानविनका क्रममा प्रहरीले नियन्त्रणमा लिएपछि मात्र धमलाले आफ्नो नाममा खाता खुलेको जानकारी पाइन् । अनुसन्धानका क्रममा विराटनगरबाट उनको नाममा बैंक खाता मात्र खुलेको थिएन् एनसेल सीमकार्ड पनि निकालिएको थियो । ठगी मुद्दामा धमला जिल्ला अदालत काठमाडौंको आदेशपछि गत कात्तिक २७ गते ५० हजार धरौटीमा छुटिन् ।

धमलाको नागरिकताको फोटोकपी प्रयोग गरी विराटनगरबाट बैंक खाता र सीमकार्ड निकालेको पाइएपछि काठमाडौं प्रहरीको समन्वयमा मोरङ प्रहरीले अनुसन्धान सुरु गर्यो । अनुसन्धानका क्रममा गत पुस ३ गते विराटनगरको सिभिल बैंकको एटीएम अगाडि संकास्पद गतिविधि गरिरहेका शिवजी खड्का पक्राउ परे । खड्कामाथि अनुसन्धान गर्दा धमलाको नाममा खाता खोल्ने र सीमकार्ड निकाल्ने व्यक्तिको पहिचान खुल्यो ।

खडकामाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले अनलाइन सपिङका नाममा ठगी धन्धा चलाइरहेको समूहलाई पक्राउ गरेको छ । नाइके भनिने निरञ्जन आचार्यसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

डेढ करोड भन्दा बढी रकम ठगी गरेको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले ठगी गर्ने गिरोह भारतसम्म रहेका कारण रकम बढ्न सक्ने बताएको छ । मोरङ प्रहरी प्रमुख विश्व अधिकारीले पक्राउ परेकाहरुको साथबाट करिब ६९ लाख नेपाली रुपैयाँ, सरकारी स्ट्याम, भन्सारका कागज, सीमकार्ड, चेकबुक र एटीएम बरामद भएको बताए ।

पक्राउ पर्नेमा खोटाङ जन्तेढुंगा गाउँपालिका– ४ का २२ वर्षीय शिवजी खड्का, २० वर्षीया देवी चौलागाई, मोरङ सुन्दरहरैचा नगरपालिका– ३ बस्ने विशाल अर्याल भनिने निरन्जनप्रसाद आचार्य, धरान उपमहानगरपालिका– २० विष्णुपादुका बस्ने २० वर्षीया भावना राई, सोही स्थानकी १९ वर्षीया सरिता परियार, २० वर्षीया वर्षा कार्की, २३ वर्षीय सानु गौतम र २१ वर्षीया लक्ष्मी कार्की छन् ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार पक्राउ परेकाहरु मध्ये मुख्य नाइके निरञ्जन हुन् । वेष्ट बाई नामक फेसबुक पेजबाट सामान अडरका नाममा पैसा लिँदै सम्पर्क विहीन हुने निरञ्जनले अन्य ७ जनालाई परिचालन गर्दै आएका थिए । आचार्यले युवतीहरुलाई भने बैंक खाता खोल्नका लागि मात्र प्रयोग गरेका थिए । चौलागाई र खड्का भने बैंकबाट पैसा निकाल्ने काम गर्दै आएका थिए ।

निरञ्जनको समूहको नेटवर्क भारतमा रहेको प्रहरीले दाबी गरेको छ । निरञ्जनले आफू भारतीय एजेण्टको कर्मचारी भएको बताएका कारण यो समूहको नेटवर्क भारतमा पनि भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आचार्यले विभिन्न बैंक मार्फत एक करोड भन्दा बढी रुपैयाँ भारतीय पक्षलाई बुझाएको स्वीकार गरेका छन् । उनले प्रत्येक अर्डरमा आफ्ना लागि ५ प्रतिशत कमिसन मात्र आउने बताएका छन् ।

भारतीय आधारकार्ड पनि बनाएका आचार्यको नेपाल र भारतमा बैंक खाताहरु छन् । उनले १७ जना व्यक्तीको ७८ वटा छुट्टा छुट्टै बैंक खाता खोलेका छन् । प्रहरीका अनुसार निरञ्जको मात्र ११ वटा बैंक खाता छन् । वर्षा कार्कीको १४, लक्ष्मी कार्कीको १३, सानु गौतमको २२ वटा वैंक खाता रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले नाम परिवर्तन गर्दै एउटै बैंकमा तीनवटासम्म खाता खोलेका छन् । पक्राउ पर्ने डरले ग्राहकले जम्मा गरेको पैसा निकालेपछि उनीहरुले ती बैंकका खाता बन्द गर्दै आएका थिए । युवतीहरुलाई एक वैंकमा खाता खोलेबापत २ हजार रुपैयाँ दिने चेक आफू प्रयोग गर्दै आएका थिए । यसरी खोलेका खाताहरु ग्राहकबाट पैसा उठाइसकेपछि भने बन्द हुने गरेका थिए ।

ग्राहकबाट बैंकमा जम्मा भएको रकम निकाल्नका लागि शिवजी खड्का र देवी चौलागाईलगायतलाई प्रयोग गर्दै आएका थिए । आचार्यले भने भारतीय बैंकहरुमा पैसा जम्मा गर्ने गरेका थिए ।

प्रहरीले खड्काको साथबाट ४२ हजार ५ सय, कोठाबाट ७ लाख १३ हजार रुपैयाँ बरामद गरेको थियो । निरञ्जनको साथबाट २६ हजार नगद र उनका जेठानले जम्मा गरेको ४१ लाख ९८ हजारसहित जम्मा ६७ लाख ९९ हजार ७ सय ५० रुपैयाँ बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा खड्का र आचार्यको घर र कोठाबाट २५ वटा नेपाली र पाँच भारतीय बैंकका सिमकार्ड भेटिएको थियो । ५८ वटा बैंकका चेकबुक र १५ वटा खाली चेकबुक पनि भेटिएको थियो । त्यस्तै सरकारी नक्कली कागज पनि फेला परेको थियो ।

ठगी गर्ने गिरोहमा भारतीयहरुको सञ्जाल पनि सक्रिय छ । प्रहरीले भारतमा बसेर नेपालमा गिरोह सञ्चालन गर्नेहरुमा मिश्रा राजुभाई, राजाराम त्रिपाठी, राजेश विश्वास जहेब हुसेन, कुनाल थमन, नमु श्रीकान्त, कंकिता थमन रनदप्रसाद साहलगायतका व्यक्तीहरु संलग्न रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुलाई मलुकी अपराधसंहिता अनुसार ठगी, बैंकिङ कसुर, सरकारी छाप किर्ते, दोहोरो नागरिकता र संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाउन लागिएको अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment