Comments Add Comment

पानोरमा प्रकरण : गल्ती होटलको कि भारतीय पाहुनाको ?

केरलाका मुख्यमन्त्रीको माग– नेपालले क्षतिपूर्ति दिनुपर्छ

१४ माघ, काठमाडौं । गत मंगलबार मकवानपुरको पर्यटकीय क्षेत्र दामनस्थित एक रिसोर्टमा एउटै कोठाभित्र सुतेका ८ भारतीय पर्यटकको मृत्यु भयो । यसबारे सरकारले छानविन अगाडि बढाइरहेको छ ।

तर, भारतको केरला राज्यका मुख्यमन्त्रीले भने उक्त घटनाका पीडित परिवारलाई नेपालको सरकारले नगद क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । केरलाका मुख्यमन्त्री पिनारयी विजयनले आफ्नो केन्द्र सरकारका विदेशमन्त्री डा. एस. जयशंकरलाई आइतबार पत्र लेख्दै नेपालसँग क्षतिपूर्ति माग्न सुझाएका हुन् । पत्रमा उनले भारतीयहरुको मृत्युमा होटलको उपकरण जिम्मेवार रहेको दाबी गरेका छन् ।

उनले विदेशमन्त्रीलाई लेखेका छन्, ‘ती व्यक्तिहरु बसिरहेको होटलको कोठामा राखिएको उपकरणले काम नगर्दा सो घटना भएको खुल्न आएको छ । उनीहरुको मृत्युले परिवारजनमा ठूलो धक्का पुगेको छ । अहिलेसम्म आएको विवरण हेर्दा सेवा प्रदायकबाट हेलचेक्र्याई भएको र उपकरण ठीक अवस्थामा नरहेको बुझिन्छ । त्यसैले म अनुरोध गर्दछु कि यसमा नेपाल सरकारलाई विस्तृत जाँचबुझ गर्न आग्रह गरियोस् । साथै, पीडित परिवारलाई नेपाल सरकारबाट उचित आर्थिक क्षतिपूर्ति दिलाउन पहल होस् ।’

हेर्नुस् चिठी
यस विषयमा भारत सरकारबाट नेपालमा भने कुनै औपचारिक पत्र नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने, ‘त्यस्तो कुनै पत्र आएको मेरो जानकारीमा छैन, आयो भने अनि छलफलको विषय हुन्छ ।’

भारतको केरला राज्यस्थित तिरुअनन्तपुरमबाट नेपाल घुम्न आएका दुई भारतीय परिवार गत सोमबार राति मकवानपुरको थाहा नगरपालिका ४, सीमभञ्ज्याङस्थित एभरेस्ट पानारोमा रिसोर्टमा बास बसेका थिए । पोखरा घुमेर भारत फर्किने क्रममा रहेका उनीहरु बस भाडामा लिएर राति ९ः३० बजे सो रिसोर्टमा आएका थिए ।

८ जना वालबच्चासहित १५ जनाको संख्यामा रहेका उनीहरुले ४ वटा कोठा बुक गरे । तर, भोलिपल्ट बिहान एउटै कोठामा ८ जना बेहोस अवस्थामा फेला परे ।

उनीहरुलाई उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याइयो । तर, ह्याम्स अस्पतालमा पुर्‍याउँदा सबैको मृत्यु भइसकेको जानकारी डाक्टरले दिए ।

त्यसरी मृत्यु हुनेमा चार जना बच्चाहरु ५ वर्षीय अभी कप, ७ वर्षीय अर्चना कप, ५ वर्षीय वैशनव कप र ९ वर्षीया बन्द्रा कप छन् ।

त्यसैगरी ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण कप र ३२ वर्षीय सरिया कपको मृत्यु भएको छ ।

मृत्यु हुने उनीहरु दुई जोडी श्रीमान–श्रीमती र उनीहरुका चार छोराछोरी हुन् ।

अर्को परिवार भने छुट्टै कोठामा सुतेकाले सुरक्षित रह्यो ।

के कारणले दुई परिवारका ८ जना एउटै कोठामा सुतेका हुन् भन्ने खुलेको छैन । अघिल्लो रात उनीहरुले होटलका कर्मचारीसित जोर जबरजस्ती गरेर हिटर कोठामा लगेको प्रहरी छानविनमा देखिएको छ । सोही हिटर बालेर झ्याल–ढोका बन्दी गरी सुत्दा निस्सासिएर उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरुको शरीरमा चोटपटक देखिएको छैन । ढोकाभित्रबाट चुकुल बन्द थियो ।

जानकारहरुका अनुसार ग्यास हिटरका कारण कोठामा कार्वन मनोअक्साइड निर्माण हुन्छ । कुनै रंग र गन्ध नहुने यो ग्यास निकै विषाक्त हुने गर्छ । यसबाट रगतमा अक्सिजनको मात्रा कम हुन्छ । यसले लगभग शरीरका सबै अंग प्रभावित हुने र मृत्यु हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

यस घटनाको छानविन गर्न सरकारले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा छानविन समिति बनाएको छ । उक्त समितिलाई १५ दिनको म्याद दिइएको छ ।

संयोजक थापाले पनि आफूहरुको अनुसन्धानमा रिसोर्टका कर्मचारीले दिन नमान्दा नमान्दै पाहुनाले जबरजस्ती हिटर लगेको होटलवालाको भनाइ उधृत गर्दै बताए ।

‘उनीहरुको जबरजस्तीले नै दुर्घटना भएको प्रारम्भिक अध्ययनले देखाएको छ । यसबारे हाम्रो निचोडलाई प्रतिवेदनमा खुलाउने छाै‌ं,’ उनले भने ।

समिति स्थलगत अध्ययन सकेर अहिले प्रतिवेदन लेखनमा जुटिरहेको छ । गत ७ माघमा गठन गरिएको समितिले ८ गतेबाटै काम थालेको थियो । १५ दिनभित्रै प्रतिवेदन बुझाउने थापाले बताए ।

‘पाहुनाको जबरजस्ती मात्र नभएर रिसोर्टका कमजोरी र पूर्वाधार अभावको विषयलाई पनि प्रतिवेदनमा समेट्ने छाैं, आगामी दिनमा सुधारका लागि सुझाव पनि प्रस्तुत गर्नेछौं,’ उनले भने ।
होटल एसोसिएसन नेपालकी अध्यक्ष सिर्जना राणाले यस घटनामा होटलको मात्रै कमजोरी नरहेको बताइन् । उनले यसलाई दुर्भाग्यपूर्ण घटनाको संज्ञा दिइन् ।

‘हामीले पनि यो घटनाका विषयमा सोधखोज गरेका हौं । यसलाई एउटा दुर्भाग्यपूर्ण र दुखदायी घटनाको रुपमा लिनुपर्छ,’ उनले भनिन् ।

राणाका अनुसार होटलको कोठामा एसी नभए पनि इलेक्ट्रिक ब्ल्याङ्केट उपलब्ध रहेको पाइएको छ । चारवटा कोठा बुक गरेर ८ जना एउटै कोठामा सुत्नु पाहुनाको गल्ती देखिएको उनले औंल्याइन् ।

‘एउटै कोठाभित्र आठ जना सुत्नु, अनि झ्याल ढोका थुनेर हिटर बाल्नु पाहुनाको कमजोरी देखिन्छ, यसको सत्यतथ्य चाहिँ सरकारी प्रतिवेदनमै आउला,’ उनले भनिन् ।

भ्रमण वर्षको पहिलो गाँसमै ढुंगा

सोमबार बागमती प्रदेशको प्रदेशसभा बैठकमा पनि यो विषय उठेको थियो । केही सांसदहरुले रिसोर्टको पूर्वाधारलाई लिएर प्रश्न उठाएका छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसकी सांसद विजया श्रेष्ठ केसीले भ्रमण वर्षको उत्साहमा रहँदा पहिलो गाँसमै ढुंगा परेको बताइन् । उनले प्रश्न गरिन्, ‘२० औं वर्षदेखि चर्चित रहेको पानोरमा रिसोर्टमा एसी किन छैन ? गार्डेन हिटर ल्याएर कोठामा जोड्न मिल्छ कि मिल्दैन ?’

नेकपाकी प्रदेशसभा सदस्य मनु सिग्देलले भ्रमण वर्षको सुरुवातमै भएको दुःखद घटनाले होटल र रिसोर्टको मापदण्डमाथि प्रश्न उठाएको बताइन् । एभरेस्ट पानोरमा रिसोर्ट मापदण्ड अनुसार सञ्चालन भए–नभएको छानविन गरी कारवाही गर्नुपर्नेमा उनले जोड दिइन् ।

होटल एशोसिएसन हानकी अध्यक्ष राणा हालै होटलको नयाँ मापदण्ड जारी भएकाले अब त्यसअनुसार सबैले आफूलाई अपग्रेड गर्ने बताउँछिन् ।

‘होम स्टेदेखि फाइभ स्टारसम्म सबैले यो मापदण्ड कार्यान्वयन गर्नुपर्छ, त्यसपछि पूर्वाधारसम्वन्धी प्रश्न आउँदैन,’ उनले अनलाइनखबरसित भनिन् ।

घटनाबारे थप बुझ्न अनलाइनखबरले एभरेस्ट पानोरमा रिसोर्टका सञ्चालक सुदेश गौतमलाई बारम्बार सम्पर्क प्रयास गर्दा उनले फोन रिसिभ गरेनन् ।

पानोरमा रिसोर्ट दामन क्षेत्रको चर्चित दुईतारे होटल हो । यहाँ विदेशी तथा आन्तरिक पर्यटकको राम्रै चहल–पहल हुने गर्छ । यसमा ३० वटा डिलक्स रुम छन् ।

काठमाडौंबाट ८० किलोमिटर दक्षिण–पश्चिममा निकै रमणीय स्थानमा रहेको यो होटलबाट हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यो रिसोर्टमा कटेज शैलीका घरहरु रहेका छन् । प्रत्येक घरमा दुई कोठा छन् ।
यो पनि पढ्नुहोस हानले होटेलहरुलाई भन्यो : मापदण्ड अनिवार्य पालना गर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment