Comments Add Comment

सोमबार राति नै अस्पताल भर्ना भइन् आस्था राउत

Photo Credit : फाइल तस्वीर

१४ माघ, काठमाडौं । गायिका आस्था राउतलाई हिरासतबाट अस्पतालमा लगिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले सोमबार साँझ नै राउतलाई अस्पताल भर्ना गरिएको अनलाइनखबरलाई बताए । ‘हाइपर टेन्सनका कारण समस्या भएपछि उहाँलाई अस्पताल लगिएको हो’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले भने ।

यसअघि १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।

राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । त्यसपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौं उपस्थित गराएको प्रहरीले उनीमाथि अनुसन्धानका लागि चार दिनलाई अनुमति पाएको थियो ।

सामान्य विवादमा पक्राउ पूर्जी जारी गरेर चार दिन म्याद थप गरिएको भन्दै प्रशासनको आलोचना भइरहेको छ ।

यो पनि पढ्नुस् 

प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था भन्छिन् : कानुनी रुपमा जे हुन्छ, सहर्ष स्वीकार गर्छु

आस्थाविरुद्ध प्रहरीको व्यवहार– काँक्राचोरलाई राइफल !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment