Comments Add Comment

आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

१३ माघ, काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको पुष्टि गरे ।

उनले अनलाइनखबरसँग भने, ‘जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भएको छ । अब अन्य कानूनी प्रक्रिया सुरु हुन्छ ।’

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो ।

राउतले सोमबार बिहान मात्रै प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन् ।

यो पनि पढ्नुहोस आस्था राउतलाई हिरासतमा राख्न म्याद थप्ने तयारी

यसअघि १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।

त्यसपछि यो प्रकरण बाहिर आएको थियो ।

राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जोही दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

सामान्य विवादमा पक्राउ पूर्जी जारी गरेको भन्दै प्रहरीको आलोचना समेत भएको थियो । त्यसपछि केही लचक बन्ने संकेत प्रहरीले दिएको थियो ।

तर, कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले म्याद थप गर्नुपरेको प्रहरी दाबी छ ।

यो पनि पढ्नुहोस प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था भन्छिन् : कानुनी रुपमा जे हुन्छ, सहर्ष स्वीकार गर्छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment