
१३ माघ, काठमाडौं । प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतले कानूनभन्दा माथि कोही नभएको बताएकी छन् ।
राउत सिक्कम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने महिला सुरक्षाकर्मीसँग विवाद भएको थियो । त्यसलाई लिएर उनले फेसबुक लाइभमा प्रहरी संगठनलाई गालीगलौज गरेपछि उनको चर्को आलोचना भयो । उनले सामाजिक सञ्जालबाटै माफी समेत मागेकी थिइन् ।
तर प्रहरीले भने अभद्र व्यवहारको मुद्दा चलाउने भन्दै जिल्ला प्रशासनबाट पक्राउ अनुमति लियो ।
त्यसपछि नागरिकसँग बदला लिन खोजेको भन्दै आलोचना भएपछि प्रहरीले परिवारले उपस्थित गराए पक्राउ नगर्न सकिने अभिव्यक्ति दियो । त्यसअनुसार सिक्किमबाट फर्किएपछि राउत आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भइन् ।
प्रहरीले उनीसँग सोधपुछ गरेको छ र अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराउँदैछ ।
त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राउतले ‘कोअपरेट’ गर्न नै आफू प्रहरीमा उपस्थित भएको बताइन् । उनले भनिन्, ‘कानूनभन्दा माथि कोही पनि छैन, म पनि छैन । कानूनका हिसाबले जे मलाई हुन्छ, त्यो सहर्ष स्वीकार गर्छु ।’
यो घटनाले आफूलाई संयमित हुनुपर्छ भन्ने पाठ सिकाएको समेत उनले बताइन् । प्रहरीले आफूलाई सौहादपूर्ण वातावरणमा आफ्नो कुरा राख्न दिएको समेत गायिका राउतले बताएकी छन् ।
प्रतिक्रिया 4