+
+
Shares

साउदी अरेबियामा आफ्नो सेना पठाउँदै पाकिस्तान

साउदी अरबमा पाकिस्तानी सैनिकको तैनाथी दुई देशबीच लामो समयदेखि कायम रणनीतिक साझेदारी र भ्रातृत्वपूर्ण सम्बन्धको हिस्सा भएको उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १७:३७

काठमाडौं । पाकिस्तानले साउदी अरेबियामा आफ्ना सैनिक तैनाथ गर्ने भएको छ । साउदी अरब प्रस्थान गर्न लागेका पाकिस्तानी सैनिकका लागि शनिबार बिदाइ समारोह आयोजना गरिएको छ ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) का अनुसार समारोहमा पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

बीबीसी उर्दूका अनुसार समारोहमा पाकिस्तानका लागि साउदी अरबका राजदूत डा. राजेह अल–तमीमी अल–बगामी, पाकिस्तानी सेनाका चिफ अफ जनरल स्टाफ लेफ्टिनेन्ट जनरल उमर अहमद बुखारी र लाहोर कोरका कमान्डर लेफ्टिनेन्ट जनरल मुहम्मद उमर बशीर पनि उपस्थित थिए ।

आईएसपीआरले जारी गरेको विज्ञप्तिमा साउदी अरबमा पाकिस्तानी सैनिकको तैनाथी दुई देशबीच लामो समयदेखि कायम रणनीतिक साझेदारी र भ्रातृत्वपूर्ण सम्बन्धको हिस्सा भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो तैनाथीले साउदी अरबको सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न पाकिस्तानको प्रतिबद्धता दर्शाउँछ ।’

आईएसपीआरका अनुसार पाकिस्तानले इस्लामका दुई पवित्र मस्जिद (हरमैन शरीफैन) को पवित्रता र साउदी अरबको सुरक्षाको रक्षा गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ ।

तैनाथ हुने पाकिस्तानी सैनिकले साउदी अरबको भूमिमा निर्धारित जिम्मेवारी निर्वाह गर्नेछन् । उनीहरूले दुई देशबीचको आपसी सहमति र विद्यमान रक्षा सहकार्यको संरचनाअन्तर्गत काम गर्ने जनाइएको छ ।

क्षेत्रीय सुरक्षा चुनौती बढिरहेका बेला पाकिस्तानी सैनिकको तैनाथीले साउदी अरबको रक्षा क्षमतालाई थप मजबुत बनाउने आईएसपीआरले जनाएको छ ।

विज्ञप्तिमा यस तैनाथीले दुई देशबीचको लामो समयदेखिको भ्रातृत्व, आपसी विश्वास र रणनीतिक सहकार्यलाई प्रतिबिम्बित गर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?