News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका तीन अध्यादेशबारे विषय विज्ञसँग परामर्श गर्दैछन्।
- जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, मेलमिलाप, क्षतिपूर्ति र परिपूरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अध्ययनकै क्रममा छ।
- प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश फिर्ता माग्दै नेपाल पत्रकार महासंघले आइतबारदेखि मंसिर २० गतेसम्म दोस्रो चरणको आन्दोलन सुरु गरेको छ।
१३ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेर जारी हुन बाँकी अध्यादेशबारे विषय विज्ञसँग छलफल गर्दैछन्।
राष्ट्रपतिकहाँ तीन वटा अध्यादेश छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश र जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश र प्रेस काउन्सिल ऐन संशोधन सम्बन्धि अध्यादेश ।
२३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाहरूको छानबिन, मेलमिलाप, क्षतिपूर्ति तथा परिपूरण प्रदान गर्न गठन गरिने आयोगसम्बन्धी प्रस्तावित अध्यादेश मन्त्रिपरिषद्को मङ्सिर ४ गतेको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
जेनजी आन्दोलनका क्रममा पीडित भएका व्यक्ति तथा परिवारलाई न्याय, क्षतिपूर्ति र उचित परिपूरण उपलब्ध गराउने तथा गम्भीर अपराधबाहेकका मुद्दालाई छिटो र व्यवस्थित रूपमा टुंग्याउने कानुनी आधार तयार गर्ने भनिएको अध्यादेश राष्ट्रपति कार्यालयमा अध्ययनकै क्रममा छ ।
अदालतमा विचाराधीन रहेका मुद्दा तथा प्रहरी अनुसन्धानमा रहेका उजुरी संकलन गरी थप छानबिन गर्ने र पीडित तथा सम्बन्धित पक्षबीच मेलमिलापको वातावरण बनाउने विषय कति कानुन सम्मत छ वा छैन भनेर राष्ट्रपतिले विज्ञहरूको राय लिन लागेका हुन् ।
कर्तव्य ज्यान र योजनाबद्ध रूपमा हातहतियार प्रयोग गरी गरिएको चोरी जस्ता कसुरलाई गम्भीर अपराध र गम्भीर अपराधबाहेकका मुद्दा मेलमिलाप, क्षतिपूर्ति वा परिपूरणमार्फत टुंग्याउने विषय गम्भीर विषय रहेको र यो विषय अध्यादेशबाट अगाडि बढाउनु कति उचित छ भनेर राष्ट्रपतिले परामर्श लिन लागेका हुन् ।
साथै, राष्ट्रपतिकहाँ रहेको नेपालमा प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रेस तथा अभिव्यक्ति स्वतन्तासँग जोडिएको भनेर नेपाल पत्रकार महासंघ आन्दोलित छ ।
सरकारले कात्तिक १७ गते प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्ने अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो ।
यो पनि जारी भएको छैन । नेपाल पत्रकार महासंघले यो प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश फिर्ता नै लिन समेत माग राखेको छ।
सरोकारवाला पक्षसँग परामर्श नगरी अध्यादेश ल्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र संसदीय प्रक्रियाविपरीत भएको महासंघको ठहर छ ।
आफूहरूको माग सम्बोधन नभएको भनेर नेपाल पत्रकार महासंघले आइतबारदेखि यही मंसिर २० गतेसम्म दोस्रो चरणको आन्दोलन सुरु गरेको छ ।
यो पृष्ठभूमिमा राष्ट्रपतिले विज्ञहरूको राय लिन लागेका हुन् ।
को-को विज्ञसँग राय लिन लागिएको हो यसबारे राष्ट्रपतिको कार्यालयले केही खुलाएको छैन ।
बरु प्रेस स्वतन्त्रतासम्बन्धि गम्भीर विषयमा समेत सरोकार राख्ने विषय जोडिएको कानुन अध्यादेशबाट ल्याउने खोजेपछि राष्ट्रपति कार्यालय यसलाई अघि बढाउने कि नबढाउने दोधारमा छ । त्यसैले राष्ट्रपति कार्यालयका अधिकारीहरू भन्छन्, ‘विधेयक अध्ययनकै क्रममा छौं ।’
‘संविधानमा भएका मौलिक हक समेत जोडिएका विषयसँग सरोकार राख्ने विषयसँग सम्बन्धित कानुनहरू संसद्बाट नआइ अध्यादेशबाट आयो । त्यसैले यसमाथि अध्ययन हुँदैछ’, राष्ट्रपति कार्यालयका एक अधिकारीले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4