News Summary
Generated by OK AI. Editorially reviewed.- म्यान्मामा सेनाले दुई दिनका छुट्टाछुट्टै हवाई आक्रमणमा बालबालिकासहित ७० भन्दा बढीको मृत्यु र ७० भन्दा बढी घाइते भएको विपक्षी समूह र सञ्चारमाध्यमले जनाएका छन्।
- नोभेम्बर २८ मा शान राज्यको पेखोन क्षेत्रमा विवाह तयारी भइरहेका बेला भएको आक्रमणमा २१ सर्वसाधारण मारिएका र ३० जना घाइते भएका छन्।
- रखाइन राज्यको म्राउक–यू नगरपालिकामा भएको आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने उद्धार अधिकारीले बताएका छन्।
१३ मङ्सिर, बैङ्कक (रासस/एपी)। म्यान्माको सेनाले दुई दिनमा गरेका छुट्टाछुट्टै हवाई आक्रमणमा बालबालिकासहित ७० भन्दा बढीको मृत्यु भएको विपक्षी समूह, उद्धारकर्मी र सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा ७० भन्दा बढी घाइते भएका छन् ।
नोभेम्बर २८ मा शान राज्यको पेखोन क्षेत्रमा विवाहको तयारी भइरहेका बेला लडाकू विमानले बम खसाल्दा २१ सर्वसाधारणको मृत्यु र ३० जना घाइते भएको करेन्नी राज्यको अन्तरिम कार्यकारी परिषद्का सचिव बान्या खुङ आङले बताए।
त्यसै दिन रखाइन राज्यको म्राउक–यू नगरपालिकाका दुई आवासीय क्षेत्रमा भएका आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु र दुई दर्जनभन्दा बढी घाइते भएको उद्धार अधिकारी वाइ हुन आङले जानकारी दिनुभयो । मृतकको सङ्ख्या अझै बढ्न सक्ने उनले बताए।
यसैगरी, नोभेम्बर २६ मा म्याग्वे क्षेत्रमा विद्यालय र बौद्ध गुम्बा रहेको परिसरमा भएको आक्रमणमा शिक्षक तथा बालबालिकासहित करिब २० सर्वसाधारण र लोकतन्त्र समर्थक नौ लडाकूको मृत्यु भएको राष्ट्रिय एकता सरकार ९एनयुजी० ले जनाएको छ । घटनामा २१ जना घाइते भएका थिए ।
सैनिक समर्थित सरकारले घटनाबारे तत्काल प्रतिक्रिया दिएको छैन । सेनाले यसअघि आफूले युद्धका वैध लक्ष्यमा मात्रै आक्रमण गर्ने र प्रतिरोधी समूहलाई आतङ्कवादी भन्ने गरेको थियो ।
सन् २०२१ मा सेनाले आङ सान सुकी नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि म्यान्मामा द्वन्द्व जारी छ । सैनिक समर्थित सरकारले विपक्षीको नियन्त्रणमा रहेका क्षेत्र पुनः कब्जा गर्न पछिल्ला महिनामा हवाई तथा स्थल कारबाही तीव्र बनाएको छ ।
रखाइनमा सन् २०१७ मा सेनाले रोहिङ्ग्या मुस्लिम समुदायमाथि गरेको कारबाही नरसंहार भएको अन्तर्राष्ट्रिय न्यायालयले एक साताअघि ठहर गरेको थियो । त्यसको एक सातापछि पछिल्ला हवाई आक्रमण भएका हुन् ।
प्रतिक्रिया 4