News Summary
Generated by OK AI. Editorially reviewed.- म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ आसियानसँग सम्बन्ध सुधार र विदेशी लगानी आकर्षित गर्ने प्रयासस्वरूप शुक्रबार भियतनाम पुगेका छन्।
- हनोईमा उनले राष्ट्रपति टो लामसहित वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने र व्यापारिक मञ्चमा सहभागी हुने अपेक्षा गरिएको छ।
- भियतनाम र म्यान्माबीचको द्विपक्षीय व्यापार सन् २०२० को ८५ करोड ३० लाख डलरबाट सन् २०२५ मा ५९ करोड डलरमा झरेको छ।
१९ भदौ, बैङ्कक (रासस/एपी)। म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ आसियानसँग सम्बन्ध सुधार तथा विदेशी लगानी आकर्षित गर्ने प्रयासस्वरूप शुक्रबार भियतनाम पुगेका छन्। सन् २०२१ को सैनिक सत्ता कब्जापछि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा बढेको कूटनीतिक एकान्तता अन्त्य गर्ने उनको प्रयासका रूपमा यो भ्रमणलाई हेरिएको छ ।
राष्ट्रपति बनेपछि मिन आङ ह्लाइङले भारत, चीन, लाओस, थाइल्यान्ड, कजाकिस्तान, बेलारुस र रुसको भ्रमण गरिसकेका छन्। ती भ्रमणमा उनले सम्बन्धित देशका नेतासँग भेटवार्ता गर्नुका साथै व्यापारिक मञ्चमार्फत विदेशी लगानी भित्र्याउने प्रयास गरेका थिए। आलोचकहरूले भने यस्तो कूटनीतिक सक्रियता सत्तामा सेनाको पकड बलियो बनाउने उद्देश्यले भएको बताउँदै आएका छन् ।
भियतनाम र म्यान्माबीच लामो समयदेखि रक्षा तथा दूरसञ्चार क्षेत्रमा सहकार्य रहँदै आएको छ । तर दुई देशबीचको व्यापार घटेको छ । सन् २०२० मा ८५ करोड ३० लाख अमेरिकी डलर रहेको द्विपक्षीय व्यापार सन् २०२५ मा ५९ करोड डलरमा झरेको थियो । सन् २०२६ को पहिलो छ महिनामा व्यापार ३३ करोड ५० लाख डलर पुगेको छ ।
हनोईमा मिन आङ ह्लाइङले राष्ट्रपति टो लामसहित वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्नुका साथै व्यापारिक मञ्चमा सहभागी हुने अपेक्षा गरिएको छ । भियतनाम भ्रमण आसियान सदस्य राष्ट्रमा उनको तेस्रो भ्रमण हो ।
फेब्रुअरी २०२१ मा सेनाले आङ सान सुकीको निर्वाचित सरकार अपदस्थ गरेपछि म्यान्मा र आसियानबीचको सम्बन्ध बिग्रिएको थियो । आसियानले शान्ति योजना कार्यान्वयनमा प्रगति नभएको भन्दै मिन आङ ह्लाइङलाई उच्चस्तरीय बैठकमा सहभागी हुन रोक लगाउँदै आएको छ । पश्चिमी मुलुकहरूले पनि उनी र उनका सहयोगीमाथि प्रतिबन्ध लगाएका छन् ।
मिन आङ ह्लाइङको पछिल्लो कूटनीतिक सक्रियता म्यान्मालाई क्षेत्रीय संरचनामा पुनःस्थापित गर्ने र आर्थिक सहकार्य विस्तार गर्ने प्रयासका रूपमा आएको छ । यसैबीच, सन् २०२१ को सैनिक दमनपछि म्यान्मामा राष्ट्रव्यापी सशस्त्र प्रतिरोध र गृहयुद्ध जारी छ।
प्रतिक्रिया 4