Comments Add Comment

उमेश घर फर्किँदा ७५ वर्षीया आमाको मुहारमा छाएको खुसी

१३ माघ, जनकपुरधाम। मृत्युको मुखमा पुगिसकेको छोरा घर फर्किदाको खुसी धनुषाको कमला नगरपालिका–५ पर्साकी ७५ वर्षीया अमरदेवी यादवलाई जति अरुलाई कमै थाहा होला ।

वैदेशिक रोजगारीका क्रममा पुगेर मृत्युदण्डको सजाय सुनाइएको पर्साका उमेश यादव सोमबार घर पुगेका छन् । उमेशलाई स्वागत गर्न श्रीमती सञ्जु र दुई छोरा जनकपुर विमानस्थलमै पुगेका थिए । तर अमरदेवी जान पाइनन् ।

एक त उमेरले साथ दिएन, अर्कोतिर एक वर्षदेखि प्यारालाइसिसले थपिएका श्रीमान भोलाको पनि हेरविचार गर्नुपर्ने थियो । त्यसैले उनी छोरा कतिबेला आउँला भनेर पिढीमा बसेर बाटो हेरिरहिन् ।

१४ वर्षपछि घर फर्किएका उमेशलाई स्वागत गर्न गाउँलेहरु पनि जम्मा भएका थिए । उनीहरुले बाजागाजासहित स्वागत गरे । जब उमेशलाई घर नजिकै देखिन्, अमरदेवीले आखाँ रसाए ।

उनी उमेशको स्वागतमा दैलोमा कलश राखेर बसेकी थिइन् । माया मारिसकेको छोरा घर फर्किँदाको खुसी उनको मुहार प्रष्ट देखिन्थ्यो ।अमरदेवीले आरती गरिन्, अनि उमेशको हातमा ५० रुपैयाँ राखेर मुख हेरिन् ।

श्रीमती र छोरालाई भेट्दा ….

धनुषाका उमेश यादव वैदेशिक रोजगारीका लागि साउदी अरेबिया उड्दा कान्छो छोरा हितेश भर्खर १८ दिनका थिए । जेठा छोरा कमलेश पनि २ वर्ष मात्र भएका थिए । साउदी गएको एक महिना १२ दिनमा भएको एउटा ‘दुर्घटना’ले उनी जेलमा मात्र पुगेनन्, मृत्युदण्डको सजाय सुनाइयो ।

सामाजिक अभियन्ता सरोज रायको पहलमा उनको ब्लडमनी तिरेर उमेशलाई स्वदेश फर्काइएका उनी सोमबार जनकपुर विमानस्थलमा ओर्लिँदा छोरा हितेश कोट पाइन्ट लगाएर स्वागतमा आएका थिए । उनी आमा एवं उमेशकी श्रीमती सञ्जु दुई छोरा कमलेश र हितेशका साथै आफन्तसहित उनलाई कुरिरहेका थिए ।

जब उनलाई सञ्जु र छोराहरुले देखे, उनीहरु पनि दौडिएर अंगालो मार्न पुगे । उनीहरु धेरैबेर रोइरहे, खुसीको आँखा उमेश, सञ्जु र छोराहरुले झारिरहे ।

यो पनि पढ्नुस् : फाँसीबाट बचेर आएका उमेश भन्छन्-जेलमा भएका नेपालीहरुका लागि लड्छु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment