Comments Add Comment

फाँसीबाट बचेर आएका उमेश भन्छन्-जेलमा भएका नेपालीहरुका लागि लड्छु

८ माघ, काठमाडौं । उमेश यादव दाह्री-कपाल काटेर चिरिच्याट्ट बनेका छन् । चिटिक्क मिलेको जुंगा राखेका छन् । खाडीको हावाले सेतै फुलाएको कपालमा कालो दलेका छन् । अनुहार फेसियल पनि गरेका छन् ।

यसैले उनको अनुहारमा चमक छ ।

उनले १३ वर्षपछि काठमाडौंको माटो टेकेका छन् । १८ दिनमा छाडेर गएका छोरा कस्तो भए होलान् ? तीन वर्षको जेठो छोराको त जुँगा आउन थाल्यो होला । श्रीमती के गर्दै होलिन् ? अनि आमा – बा कस्तो भए ! उनलाई देख्ने व्यग्र चाहना छ ।

तर उमेशलाई यो भन्दा बढी चिन्ता विवेक दाहालको छ, जसलाई साउदीको जेनरल कोर्टले फाँसीको सजाय सुनाइएको छ । ‘म जेलबाट निस्कने भएपछि उसले दुई दिनदेखि खाना खाएको थिएन । आज विहान मसँग रुँदै कुरा गरेको थियो । १४ वर्ष भइसक्यो उ जेल परेको’ उमेश भन्छन्, ‘उसका लागि म भोलि नै परराष्ट्र मन्त्रालय गएर उजुरी गर्छु । नेपालीलाई त्यसरी मर्न दिएर म कसरी खुशी हुन सक्छु र !’

यदि सरोज राय हुँदैनथे भने धनुषाका उमेश शायद फाँसीमा चढिसकेका हुन्थे । पहिला दुई पैतला काटिन्थ्यो, अनि घाँटी । अदालतले यस्तै सजाय सुनाएको थियो ।

तर, पासा पल्टियो, बुधबार रातको दुई बजे ३८ वर्षका उमेशले नयाँ जीवन पाए ।

०००

मेनपावर कम्पनीलाई एक लाख ४० हजार रुपैयाँ बुझाएर उमेश २००७ मा साउदी अवर पुगेका थिए । काम थियो भवन निर्माण, तलव साढे पाँच सय रिअल ।

तर उनले तलव बुझ्नै पाएनन् ।

उमेश साउदी पुगेको एक महिना १२ दिन पुगेको थियो । १२औं दिनको चर्को घाममा उनले घरमा रङ लगाउँदै थिए । उमेशसँगै थिए उनीभन्दा सिनियर पाकिस्तानी मजदुर । उमेशले नम्बर प्लेट तिप्दै थिए, भर्‍याङ भुइँमा झर्‍यो ।

पकिस्तानीले एक मुक्का बजाइदिए । उमेशको पनि २५ वर्षे जोस । छेउमा पाइप थियो । उचारेल चार पटक हिर्काए । उमेश चार दिनपछि गिरफ्तार भए ।

यो घटना भएको १६ दिनपछि अस्पतालमा पाकिस्तानी नागरिकको मृत्यु भयो । रियाद जेलमा चार दिन राखेर उनलाई जुवेल सेन्टर जेल पुर्‍याइयो, जुन जेलमा विवेक एक वर्ष अघिदेखि नै थिए । तर जब पाकिस्तानीको मृत्युको खवर सुने । उमेशको हंशले ठउँ छोड्यो । नछोडोस पनि किन ? सबैले भन्थे, ‘मान्छे मारेकोलाई मृत्युदण्ड नै दिन्छ ।’

उनी भन्छन्, ‘दुई वर्षसम्म बेहोसी नै थिएँ । नेपाल फर्किर्न्छु फकिन्नँ केही थाहा थिएन ।’

न खाना मिठो, न सुत्ने ठेगान । एउटा बेडमा चार जना सुत्नुपर्ने, त्यो पनि पालै पालो । उमेश भन्छन्, ‘दिमागका मर्ने बाहेक अर्को केही कुरा आउँदैनथ्यो । त्यसैले एउटा ट्याबलेट खायो तीन घण्टा सुत्यो ।’

एक वर्षपछि उमेशलाई अदालतमा हाजिर गराइयो । केही सोधेजस्तो गर्‍यो र कागजमा हस्ताक्षर गरायो । अनि फेरि जेल ल्याइपुर्‍यायो । अर्को एक वर्षमा फेरि अदालतमा हाजिर गरायो । अदालतमा केही सोध्ने बाहेक केही काम भएन । बरु उनले त्यहाँ अदालतमा नेपाली भेटाए, जसले भाषा अनुवादको काम गर्थे ।

उमेशले भने, ‘हजुर, मेरो घरमा खबर पुर्‍याइदिनु न ! मसँग मोवाइल भएन ।’

उनले कतारका एक नेपालीको नम्बर दिए । र, घरसम्म सम्पर्क गराइदिए । दुई वर्षपछि उमेशका परिवारका सदस्यहरुले थाहा पाए कि छोरा जेलमा छ । थाहा पाएर के गर्नु ? भगवानसँग प्रर्थना गर्नुबाहेक गर्नसक्ने केही थिएन ।

उमेशलाई पनि परिवारका सदस्य र पत्नीसँग कुरा गर्न मन थियो तर घरमा मोवाइल छैन । उनका एक जना अंकल गाविस सचिव । उनै अंकलले चार वर्षपछि श्रीमतीसँग कुरा गराइदिए । श्रीमतीले रुँदै भनिन्-कसरी पुग्नुभयो तपाई जेलमा ?

उमेशले जवाफमा सुक्क-सुक्क मात्र दिए । र, आँशु पुछ्दै आफ्नो धर्म निर्वाह गरे, ‘नआत्तिनु म एक महिनापछि फर्किन्छु ?’ मुकेशलाई श्रीमतीसँग कुरा गर्ने धित मरेका थिएन । तर उनको अगाडि आएर ठिंग प्रहरी उभियो । र, उसले हत्कडी लगाएर कालो कोठामा कोच्यो ।

जेलमा बस्दा उमेशसँग मोवाइल हुने कुरा भएन । उनकाअनुसार जेलभित्र चोरीको मोवाइल किन्न पाइन्थ्यो तर धेरै महंगो । विदेश जाँदा लागेको ऋण त तिर्न सकेका छैन, कसरी मोबाइल किन्नु ? त्यसैले जेलर साथीको मोवाइल लिँदै बेलामौकामा घरमा फोन लगाउथेँ उमेश ।

दिन वित्दै गयो, उनले हरेश खाँदै गए । उपाय लाग्छ कि भनेर मृतक पकिस्तानीको परिवारसँग पनि सम्पर्क गरे । दूतावासमा लगातार फोन गरिरहे । तर कसैले उनलाई सहयोग गरेन । त्यसैले जेलमा ट्याबलेट खाने, तीन दिनसम्म लड्ने गरेर जुवेर जेलको जीवन गुजारे ।

२०१८ को एकदिन जनरल अदालतले उमेशलाई फाँसीको सजायँ सुनयो । त्यो पनि पहिला खुट्टा र हात काट्ने अनि घाँटी । किनकी उनलाई हरप्पा मुद्दा लागेको थियो । उमेशले संसार बिर्सिए । भन्छन्, ‘त्यतिबेला दिमाग खाली हुँदोरहेछ । घर परिवारको पनि सम्झना आउँदोरहेनछ ।’ मृत्यू ध्रुवसत्य हो, तर पूर्वघोषितको मृत्युको खवरले मानिस कुन अवस्थामा पुग्छ होला ? यसलाई उमेशले शव्दमा व्यक्त गर्न सक्दैनन् ।

उमेश अब म मर्दैछु भन्ने खवरले जति आत्तिएका थिए, देश र नेपाली दूतावाससँग त्यत्तिकै आक्रोशित थिए । उमेशले सबै आक्रोश भिडियोमा पोखे, सहयोगको याचना गरे अनि कसैलाई फेसबुकमा राख्न लगाए ।

भिडियो भाइरल भयो । नेपालीहरु सहयोग गर्न चाहे । सरोज रायले पनि जनकपुरको एउटा पत्रिकामा समाचार देखे । मनमनै सोचे, यो मान्छेलाई छुटाउन पहल गर्छु ।’

सहयोग जुटाउन थाले, साउदी पुगेर नेपाली दूताबासको सहयोग लिए, न्यायाधीशशसँग कुरा राखे । राय फेरि मृतक पाकिस्तानी नागरिकको परिवार भेट्न पाकिस्तान पुगे । र, माफिनामा बनाए । सरोज भन्छन्, ‘म तीन पटकसम्म पाकिस्तान पुगेँ । पाकिस्तानी वकिल लगाएर परिवारलाई मनाएँ । अनि वकिलमार्फत ब्लड मनीको तीस लाख रुपैयाँ पीडितको परिवारलाई उपलब्ध गराएँ ।’

यो तीस लाख सरोजलाई मनकारी नेपालीहरुले जुटाइदिएका थिए ।

सरोजको दुई वर्ष लामो प्रयास बिहीबार विहान नौ बजे सफल भयो, जब उमेश त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिए । उमेश भन्छन्, ‘जेलका साथीहरुबाट सय-पचास रियाल सहयोग उठाएर नेपाल आएको हुँ ।’

नेपाल टेक्दा उमेशको गोजीमा सात रियाल थियो । उमेशले जेलमा आफूसँगै भएका पाँच जना नेपालीलाई छोडेर आएका छन् । केही दुर्घटनाका मुद्दामा जेल बसेका छन् त कोही के मुद्दामा । उनी भन्छन्, ‘त्यहाँ जेल परेपछि कसैले थाहा पाउँदैन । सहयोग गर्ने मान्छे भएन भने या त जीवनभर जेलमा सड्ने हो, या फाँसीमा झुण्डिने हो ।’

जुवेल जेलमा १२ जनाभन्दा बढी नेपाली रहेको बताउँछन् उमेश । भाषकै कारण कतिपय निर्दोष नेपाली जेलमा छन् । ‘सरकारले चाहने हो भने विवेकलाई दुई महिनामा निकाल्नसक्छ । दामोदर क्षेत्री दुर्घटनाको मुद्दामा फसेको तीन वर्ष भइसक्यो । उनीहरुको विषय लिएर अब परराष्ट्र जान्छु ।’

उमेशसँग सम्पत्ति छैन । तर थोरै भएपनि आश छ, सरकारले केही सहयाग गर्छ कि ! उनीसँग इच्छाशक्ति र चाहना चाहिँ छ, जेलमा भएका साथीहरुलाई नेपाल ल्याउन लड्ने । उनी भन्छन्, ‘दूताबासले केही गर्दैन, हामी नलडेसम्म केही हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment