Comments Add Comment

ह्याकरको खुलासापछि एनआरएन अमेरिकाका प्रवक्तासहित २ निलम्बित

नक्कली फेसबुक पेज खोलेर चरित्र हत्या गरेको दाबी

१४ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्ल निलम्बनमा परेका छन् । नक्कली फेसबुक पेजमार्फत गैरआवासीय नेपाली संघका विभिन्न व्यक्तिविरुद्ध निरन्तर चरित्र हत्या गरेको पुष्टि भएपछि एनआरएन अमेरिकाको आकस्मिक बैठकले उनीहरूलाई कारबाही गरेको हो ।

भट्टराई र मल्लले पदीय आचरणविपरीत कार्य गरेको भनी एनआरएनका आजीवन सदस्य प्रसन्न संग्रौलाले उजुरी गरेपछि सो उजुरीको प्रारम्भिक छानबिनका क्रममा दुवै जनाले नक्कली फेसबुक पेज खोलेर चरित्र हत्या गरेको पाइएको छ । यसबारेमा ४५ दिनभित्र विस्तृत छानबिन गर्न वरिष्ठ उपाध्यक्ष डा.अर्जुन बन्जाडेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

छानबिन समितिमा २ जना पछि थप गर्ने गरी कानुनी सल्लाहकार धन बस्नेत, सल्लाहकार सञ्जय थापा राख्ने निर्णय भएको महासचिव पशुपति पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् ।

अमेरिकामा आईटी विज्ञका रूपमा कार्यरत प्रसन्न संग्रौलाले भट्टराई र मल्लले छद्म नामबाट चलाएको ‘सीधा कुरा’ नामको फेसबुक पेज ह्याक गरेर सबै डाटा तथा प्रमाण पेस गरेपछि अमेरिकामा बस्ने नेपालीहरूबीच खैलाबैला मच्चिएको छ । सो पेजबाट विभिन्न व्यक्तिलाई गु्रप मेसेजमा जोडेर चरित्रहत्या तथा धम्की दिइएको पाइएको छ ।

उनीहरूले आफ्ना विरोधी गैरआवासीय नेपालीहरूको चरित्रहत्या गर्न सो फेसबुक पेज दुरुपयोग गरेको पाइएको एनआरएन अमेरिकाले जनाएको छ । एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष केशव पौडेलनिकट ओम र शिवले एनआरएन महाधिवेशनका बेला हालका अध्यक्ष कुमार पन्तविरुद्ध सो पेजबाट निरन्तर विभिन्न आरोप लगाएका थिए ।

संग्रौलाले गत बुधवार फेसबुक लाइभमा आएर आफूले सीधा कुरा नामको नक्कली फेसबुक प्रोफाइल पेज ह्याक गरेको स्वीकार गर्दै उक्त पेज शिव मल्ल र ओम भट्टराईले चलाएको डिजिटल फुटप्रिन्ट समेत पत्ता लगाउन सफल भएको खुलासा गरेका थिए । ४९ मिनेट लामो लाइभ भिडियोमा उनले कसरी ह्याक गरियो र सो पेजबाट के–कस्ता सामग्री प्रवाह भए भन्नेसमेत देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment