Comments Add Comment

कोरोना भाइरस : नेपाल सतर्क भए पुग्छ !

१४ माघ, काठमाडौं । चीनबाट सुरू भएको कोरोना भाइरसको संक्रमण नेपालसहित ११ देशमा फैलिएको विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले जनाएको छ ।

विश्वभर २ हजार ७ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ, जसमध्ये चीनमा मात्रै २ हजार ७ सय ४१ जना छन् । चीन बाहिर ३७ जना मानिसमा कोरोना संक्रमणको पुष्टि हुँदा ३६ जना चीन ‘ट्रान्जिट’ बनाएर यात्रा गर्नेहरु छन् । कोरोना भाइरसबाट संक्रमित भएका मध्ये  भियतनाममा १ जनामा मात्र मानिसबाट मानिसमा सरेको डव्लुएचओले जनाएको छ ।

संगठनकाअनुसार रोग लागेका र मृत्यु भएकाको अनुपात ४ प्रतिशत छ । यसको मतलब १०० जना संक्रमित भएकामा ४ जनाको मृत्यु हुनसक्छ । त्यसैले जनस्वस्थ्य विज्ञहरुले कोरोनालाई तुलनात्मक रुपमा कमजोर भाइरस भनेका छन् । यो भाइरस लागेर मृत्यु हुनेहरु विशेषगरी दीर्घरोग लागेका तथा ७० वर्षमाथिका छन् ।

विश्व स्वास्थ्य संगठनकाअनुसार,  यसअघि सार्स र मेर्समा देखिएको मृत्युको अनुपात क्रमशः १५ प्रतिशत र करिब ४० प्रतिशत थियो । यसैगरी इन्फ्लुएन्जा ए, एच ५ एन १ (एभियन  फ्लू) मा यो अनुपात करिब ६५ प्रतिशत थियो भने इन्फ्लुयन्जा ए, एच १ एन १ मा एक प्रतिशतभन्दा पनि कम ।

यो तथ्याकंले पनि दीर्घरोग नबोकेका मानिसहरु धेरै डराउनु नपर्ने देखाउँछ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोला रुघाखोकी र ज्वरो आउँदैमा कोरोना भनेर अत्तालिनु नपर्ने बताउँछन् । उनकाअनुसार चीनको वुहानबाट फर्किएको  हो वा ज्वरो-रुघाखोकी लागेको छ भने मात्र कोरोना भाइरसको संक्रमण भएको हो कि भनेर डर मान्नुपर्छ । दुबै अवस्था छैन भने सामान्य मौसमी फ्लु हुनसक्ने भन्दै उनले भने,  ‘चीनबाट फर्किएका, ज्वरो र रुघाखोकी लागेकाहरुसँग संगत गर्नेहरु पनि कोरोना हो कि भनेर डराउनुपर्छ, अरुलाई संक्रमण हुने खतरा छैन ।’

त्यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर विवेककुमार लाल पनि कोरोना भाइरसबाट नेपाल सतर्क भए मात्र पुग्ने बताउँछन् । उनकाअनुसार मास्क लाएर हिँड्ने तथा साबुन पानीले हात धुने र भिडभाडमा यात्रा नगर्ने गरेमा कोरोनाको कुनै डर हुँदैन । कोरोना संक्रमण हुने अवधि ७ देखि १० दिनसम्म छ । चीन बाहिरको देशमा महामारीको रुपमा फैलिएको पनि छैन ।

त्यसैले नेपालीहरु कोरोना भाइरससँग डराउनु नपर्ने उनी बताउँछन् ।  ‘पछिल्लो अध्यनले चीन बाहिरका देशहरुमा कोरोनाको संक्रमण व्यापक नभएको देखाएको छ’ डाक्टर विवेककुमार भन्छन्, ‘मानिसबाट मानिसमा सर्ने भनेर पुष्टि भइनसकेकाले पनि डर मान्नु पर्ने अवस्था छैन । कोरोनाको संक्रमण भइहालेमा पनि सार्स र मेर्सको संक्रमण जसरी मानिसहरु मर्दैनन् ।’

जनस्वास्थ्य विज्ञहरुले नेपालमा कोरोनाबाट डर नभएको बताइरहँदा चीनमा भने वुहान लगायतका केही शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । नागरिकहरुलाई विदेश यात्रा नगर्न सचेत गराएको छ । अमेरिकी सरकारले पनि आफ्ना नागरिकहरुलाई चीन यात्रा नगर्न भनेको छ ।

तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ नेपालमा कोरोनाको महामारी फैलिने डर नभएपनि त्यसको पूर्वतयारी गरिरहेको बताउँछन् । उनकाअनुसार विमानस्थलको थर्मल स्क्यानरमा ज्वरोका बिरामी देखाए सिधै अस्पताल लैजानका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । कोरोना भाइरसको संक्रमण नहोस भनेर विमानस्थलदेखि अस्पतालसम्म स्वास्थ्यकर्मी र बेड तयारी अवस्था राखिएको छ ।

डव्लुएचओको समन्वयमा ल्याइएको थर्मल स्क्यानर मेसिन सञ्चालनमा आएपछि सबै विमानका यात्रुहरु अध्यागमनमा जानुअघि नै ज्वोरो नाप भइरहेको छ । अहिलेसम्म ३ जना यात्रुमा मात्र कोरोना भाइरसको लक्षण देखिएको छ । लक्षण देखिएपछि टेकु अस्पताल पठाइउँदा कोरोना नदेखिएको समेत प्रवक्ता श्रेष्ठले बताए ।

राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला टेकुकी निर्देशक डाक्टर रुना झा कोरोना भाइरसको परिक्षण गर्ने किट प्रयोगशालामा ल्याएको बताउँछिन् । उनकाअनुसार अब कोरोना जाँच गर्न पुगेकाहरुको परिक्षण नेपालमै हुन्छ । भन्छिन्, ‘अहिले हामी तयारी अवस्थामा छौं, तत्कालको लागि कुनै समस्या छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment