
१४ माघ, काठमाडौं । गायिका आस्था राउतलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हुन् ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृृष्णबहादुर कटवालले धरौटीमा छाड्ने आदेश भएको अनलाइनखबरलाई बताए ।
राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो ।
प्रकरणमाथि अनुसन्धान सकेर प्रहरीले सोमबारै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमाथि अध्ययन र विस्तृत अनुसन्धानका लागि सरकारी वकिलले ७ दिनको समय प्रशासनसँग मागेको थियो ।
तर, सोमबार प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि चार दिनको समय मात्र दिएको थियो । यद्यपि, चौतर्फी विरोध र दबाबपछि दोस्रो दिनमै अभियोग पत्र दायर गर्यो ।
राउतले गएराति हिरासतमा भने बस्नु परेन । उनलाई ब्लु क्रस अस्पताल, त्रिपुरेश्वर भर्ना गरिएको थियो ।
‘हाइपर टेन्सन’का कारण समस्या भएको भन्दै उनलाई प्रहरीले अस्पताल लगेको थियो ।

प्रहरीप्रतिको बुझाइ फेरिएको छः राउत
प्रशासनबाट छुटेपछि राउतले प्रहरीको प्रशंसा गरिन् ।
हँसिलो अनुहारमा बुबा हरिबहादुरसँगै प्रशासनबाट बाहिर निस्किएकी राउतले उपस्थित सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिइन् ।
उनले भनिन्, ‘प्रहरीप्रतिको मेरो गलत बुझाइ दुई दिनमा फेरिएको छ । मैले प्रहरीलाई जुन रुपमा बुझेकी थिएँ, त्यो होइन रहेछ ।’
उनले प्रहरी साँच्चै जनताको साथी रहेको अनुभूति भएको पनि बताइन् । उनले थपिन्, ‘गल्ती मबाटै भएको थियो । उहाँहरुले मलाई कुनै पनि नराम्रो व्यवहार गर्नुभएन ।’
के भएको थियो ?
यसअघि १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो ।
सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।
राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । प्रहरीले नियन्त्रणमा लिएपछि उनले कानूनी रुपमा जे हुन्छ, सहर्ष स्वीकार गर्न तयार रहेको प्रतिक्रिया दिएकी थिइन् ।
प्रतिक्रिया 4