Comments Add Comment

नेपालमा कोरोना भाइरस : स्वास्थ्य क्षेत्रको कुरूप पक्ष देखाउने अर्को ऐना

१३ माघ, काठमाडौं । सोमबार सवा ४ बजे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक स्वास्थ्यकर्मीको म्यासेज आयो । म्यासेज हेर्नासाथ थाहा भयो, ‘ब्रेकिङ न्यूज’ रहेछ । ‘भेरिफाई’ गरेर झट्टपट्ट समाचार पोष्ट गरियो, ‘नेपालमा थप एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि ।’

केही मिनेटमै समाचार फैलियो ।

समाचार पोष्ट भएको केही मिनेटमा उही स्वास्थ्यकर्मीको फोन आयो । निराश आवाजमा उनले भने, ‘समाचार डिलिट पो गर्ने हो कि ?’

अनलाइनमा समाचार एकपटक पोष्ट भएपछि हजारौं पाठककहाँ पुग्छ । अझ आम मानिसको चासोमा रहेको कोरोना भाइरस जस्तो विषयको समाचार आउनासाथ मानिसहरु त्यसलाई सेयर गरेर फैलाउनतिर लाग्छन् । त्यही समाचार हेरेर मानिसले सतर्क रहनुपर्ने धारणा बनाइसकेका हुन्छन् । यस्तो बेला गलत समाचार फैलने अर्को डर हुन्छ । समाचार डिलिट गरेपछि उठ्ने प्रश्नहरुतिर अहिले छलफल नगरौं ।

ती स्वास्थ्यकर्मीको कुराले झसँग भएर हामीले सोध्यौं ‘सूचना गलत दिनुभएको थियो ?’

उनले, ‘हैन भने ।

फेरि सोधियो ‘संक्रमित मानिसको मृत्यु भयो ?’

उनले फेरि भने, ‘होइन ।’

फेरि सोध्यौं, ’त्यसो भए भयो चाहिँ के त ? किन समाचार डिलिट गर्ने ?’

‘स्वास्थ्य मन्त्रालयले कोरोनाका बारेमा हामी स्वास्थ्यकर्मीलाई नबोल्नु भनेको छ’ उनी यत्तिमै रोकिएनन्, ‘त्यति मात्र कहाँ हो र, यो रोग के कस्तो हो भन्ने बारेमा पनि नबोल्नु भन्ने निर्देशन छ ।’

‘खै के भनुम्, कसरी भनुम् ?’ उनी झन निराश सुनिए ।

ती स्वास्थ्यकर्मीको जवाफ कुनै ‘इण्डियन सिरियल’को ‘प्लट’ जस्तै थियो । उनले बोलेका हरेक शब्दले उत्सुकता बढाइरहेका थिए । अझ भनौं, गलत समाचार पो गयो कि भन्ने डर र उत्सुकताले रिपोर्टरको मुटुमा ढ्यांग्रो बजिसकेको थियो ।

हामीले ती स्वास्थ्यकर्मीलाई सोध्यौं, ‘तपाईलाई कोट गरेर थप मानिसमा कोरोना संक्रमण भएको छैन भनेर लेखौं त ?’

उनी झन आत्तिँदै बोले, ‘यो त झन हुँदै हुन्न।’

‘अघि स्रोतले बताएको भनेर लेखेको छ, अहिले मेरो नाम हाल्दा त झन गाह्रो हुन्छ’ यत्ति भनेर उनले ‘पछि कुरा गर्छु’ भन्दै फोन राखे ।

समाचारको सेयर संख्या बढेसँगै डरले मुटुको धड्कन पनि बढिरहेको थियो । अझ ‘कन्फर्म’ गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका निर्देशक डा. वासुदेव पाण्डेलाई फोन गरियो ।

कोरोना भाइरसको पछिल्लो अवस्थाको जानकारी माग्दा उनले भने, ‘गत शुक्रबार एकजनामा संक्रमण भएयता अरु मानिसमा संक्रमण भएको छैन ।’

त्यसपछि उनलाई फेरि सोध्यौं, ‘संक्रमण भएको पुष्टि भएको छैन भने अस्पताल भर्ना गरिएका दुईमध्ये एकलाई किन डिस्चार्ज गरियो ?’

‘स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठलाई सोध्नु, यो विषयमा बोल्ने आधिकारिक मान्छे उहाँ नै हो ।’ यत्ति भनेर उनले फोन काटे ।

बरु स्वास्थ्य मन्त्री भानुभक्त ढकालको फोन उठ्ला, तर प्रवक्ता महेन्द्र श्रेष्ठको ‘नो चान्स !’

झुक्किएर फोन उठिगयो भने सदावहार एउटै जवाफ, ‘मिटिङमा छु, पछि कल गर्नू ।’

श्रेष्ठको यो जवाफले आजित हुने स्वास्थ्य पत्रकारको सूची लामै छ ।

योपटक पनि त्यस्तै भयो । अस्पतालका निर्देशकको कुराले त समाचार गलत भएको संकेत गर्‍यो । तर, अस्पतालमै कार्यरत आधिकारिक व्यक्तिबाट आएको सूचनालाई कसरी गलत मान्नु ? आखिर स्रोत किन समाचार डिलिट गर्न चाहन्छ ? के भइरहेको छ त्यहाँ ?

प्रश्नमाथि प्रश्न थपिए । तर, उत्तर दिन कोही तयार भएनन् । अझ भनौं, उत्तर दिनेले झन् अन्योल मात्र बढाए ।

त्यसपछि फेरि सरुवा रोग अस्पतालमा कार्यरत अर्को स्रोतलाई फोन डायल गरियो ।

अरु दिन खुलेर बोल्ने उनी आज अक्मकिन थाले ।

प्रश्न सोध्नासाथ उनले भने, ‘यो विषयमा आधिकारिक रुपमा बोल्न स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई जिम्मेवारी दिइएको छ, हामीले केही भन्न मिल्दैन ।’

‘इन्फर्मल भन्नुस् न’ भन्दा उनले भने, ‘तपाईको समाचार गलत छैन ।’

उनको जवाफले मन ढुक्क भयो ।

तर, अर्को जिज्ञासा मष्तिष्कमा घुम्न थाल्यो–‘एकाएक के भइरहेको छ ? जनस्वास्थ्य प्रयोगशाला होस् या सरुवा रोग अस्पताल, सबै किन बोल्न डराइरहेका छन् ?’

प्रश्न सुनेर ती चिकित्सकले ‘मिलाएर बुझ्नुस् न’ भन्दै फोन राखे ।

‘ल के मिलाएर बुझ्ने ?’

यही जिज्ञासा मेट्न पहिलोपटक सूचना दिने स्रोतलाई फेरि फोन गरियो ।

उठाउनासाथ उनले भने, ‘सूचना सही हो, तर….।’

फेरि उनी ‘हिन्दी सिरियल’को कथाजसरी रहस्यमय पाराले प्रस्तुत भए ।

हामीले सोध्यौं ‘तर…के सर…. ?’

‘स्वास्थ्य मन्त्रालयले कोरोनाका बारेमा हामी कोही स्वास्थ्यकर्मीलाई नबोल्नु भनेको छ’ उनी यत्तिमै रोकिएनन्, अगाडि भने, ‘त्यति मात्र कहाँ हो र, यो रोग के कस्तो हो भन्ने बारेमा पनि नबोल्नु भन्ने निर्देशन छ ।’

उनको कुरा हामीलाई अचम्म लागेन । स्वास्थ्य मन्त्रालयको पुरानो गतिविधि याद गर्नुभएको छ भने तपाईलाई पनि अचम्म नलाग्न सक्छ ।

‘याद छ, एक वर्षअघिको बर्ड फ्लु संक्रमण भएर एकजना युवकको मृत्यु भएको घटना ?

याद छ, गत भदौको डेंगु महामारीमा सरकारको लापरवाहीको घटना ?

याद नभएको भए, ल फेरि थाहा पाउनुस् ।

गत बैशाख १९ गते स्वास्थ्य मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गर्दै भन्यो— ‘नेपालमै पहिलोपटक बर्ड फ्लुको इन्फ्लुएन्जा ए (एच ५ एन १) संक्रमणबाट एक २१ वर्षीय युवकको मृत्यु भयो ।’

तत्कालीन स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले यो जानकारी दिइरहँदा बारम्बार भनिरहेकी थिइन् ‘हामी स्तब्ध भयौँ, यो अत्यन्तै संवेदनशील घटना हो ।’

उनले पत्रकारहरुलाई लक्षित गर्दै भनिरहेकी थिइन्,‘यो सेन्सेसनल न्यूज होइन, बर्ड फ्लुबाट कसरी बच्ने, जनतालाई संवेदनशील भएर सूचना दिनुस् ।’

स्वास्थ्य मन्त्रालयले अत्यन्तै संवेदनशील र स्तब्ध हुने घटना भनेर अरुलाई जिम्मेवारी सम्झाइरहँदा आफ्नो जिम्मेवारी भने बिर्सिरहेको थियो । किनकी, उसले चैत १५ गते भएको घटना एक महिनापछि अर्थात् बैशाख १९ गते मात्र सार्वजनिक गरेको थियो ।

प्रश्न स्वाभाविक उठ्यो— ‘यति संवेदनशील घटना हुँदा पनि किन एक महिनासम्म जानकारी दिइएन ?’

‘के त्यत्रो एक महिनाको बीचमा अरु मानिसलाई बर्ड फ्लु सर्ने सम्भावना थिएन ?’

‘जनताको स्वास्थ्यमा किन गम्भीर देखिएन स्वास्थ्य मन्त्रालय ?’

‘मानिस मरेको एक महिनापछि जानकारी दिएर जनताहरुलाई सचेत हुन किन आग्रह गरिरहेको छ स्वास्थ्य मन्त्रालय ?’

यो घटनामा सरासर स्वास्थ्य मन्त्रालयले गम्भीर लापरवाही गरेको देखिएको थियो।

किनकी, यदि त्यो एक महिनाभित्र अरु मानिसहरुलाई बर्ड फ्लुको संकेत देखिएको भए उनीहरुले उपचारमा ध्यान दिने थिएनन् । मौसमी रुघाखोकी भनेर बेवास्ता गर्दा अरु गम्भीर समस्या देखिन सक्थ्यो । चिकित्सककै भाषामा भन्नुपर्दा अरु मानिसमा बर्ड फ्लु देखिएर महामारी फैलन सक्थ्यो ।

त्यसबेला पत्रकारहरुले सोधे, ‘किन यस्तो लापरवाही ?

‘बर्ड फ्लुको लक्षण देखिएर उपचार सुरु गरेको चार दिनमा उनी मरे । उनलाई बर्ड फ्लु भएको भन्ने कुरामा ‘कन्फर्म’ भए पनि विस्तृत थाहा पाउन जापानको रिपोर्ट कुर्नुपर्थ्यो’, स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले जवाफ दिएका थिए— ‘भाइरस र जेनेटिक थाहा पाउन जापानको रिपोर्ट कुर्नुको विकल्प थिएन । त्यसैले एक महिना ढिलो भयो ।’

‘बर्ड फ्लुको कारणले मृत्यु भएको’ भनेर ठोकुवा नगरिकन ‘बर्ड फ्लुको आशंका’ सम्म भनेर सूचना दिएको भए अरु मानिस सचेत हुन सक्थे । तर, स्वास्थ्य मन्त्रालयले त्यस्तो नगरिकन एक महिनाअघि मृत्यु भएका व्यक्ति कुन बिरामी थिए भनेर जानकारी नै दिएन ।

पत्रकारहरुले बारम्बार सोधिरहे, तर जवाफ आएन।

किन त ?

स्वास्थ्य सचिव पुष्पा चौधरीले ‘रेडिमेड’ जवाफ दिएकी थिइन्, ‘व्यक्तिको गोपनीयताको सम्मान गर्न !’

‘मृत्यु हुने व्यक्ति को र कुन क्षेत्रका थिए, त्योबारेमा जानकारी दिइएन भने त मानिसहरु कसरी सचेत हुने ? मृत्यु भएका मानिसको क्षेत्र उल्लेख गर्न पाए त्यताका मानिस सचेत हुन्थे नि ?’

प्रश्न खस्न नपाउँदै स्वास्थ्य सचिव चौधरी बोलेकी थिइन्,‘तपाईंहरु व्यक्ति र क्षेत्रमा जानुभन्दा राष्ट्रियतामा जोड दिनुस् । २०१७ पछि बर्ड फ्लुको कारण मानिसको मृत्यु भएको विश्वमै पहिलोपटक हो । र, त्यो नेपालमा भएको छ । तपाईंहरु यही कुरामा ध्यान दिनुस्, अरु कुरामा जोड नदिनुस् ।’

तर, उनको जवाफ ढुक्क हुने किसिमको थिएन । किनकी, उनले बारम्बार भनिरहेकी थिइन्, ‘जनतालाई बर्ड फ्लुबाट सचेत हुन सुसूचित गर्नुस् ।’

काठमाडौँमा ‘बर्डफ्लु’ फैलिएको अवस्थामा कर्णालीमा सचेत भएर के हुन्छ ?

कि देशभर बर्डफ्लुको फैलिने संकेत प्राप्त भएको छ ?

कुन क्षेत्रका जनता सतर्क हुने ?

जवाफ कोहीबाट आएको थिएन ।

१७ वर्षपछि पहिलोपटक बर्ड फ्लु लागेर मर्ने युवक को थिए, अझै कसैलाई आधिकारिक रुपमा जानकारी दिइएको छैन ।

अब स्वास्थ्य मन्त्रालयको अर्को हेलचेक्र्याइँको कुरा गरौं ।

गत भदौमा देशभरका ५६ जिल्लामा डेंगुको महामारी फैलँदा ६ जनाको मृत्यु भइसकेको थियो । तर, डेंगु नियण्त्रण गर्न सरकारले कुनै ठोस कदम चालेको थिएन ।

डेंगु नियन्त्रणका लागि दक्ष र तालिमप्राप्त इन्टोमोलोजिष्टहरु चाहिन्छ । उनीहरुले डेंगु जस्तो प्रकोप फैलिएको ठाउँमा औषधि छर्ने, संक्रमितको तथ्यांक संकलन गर्ने र बहुक्षेत्रीय सहकार्यमा नियन्त्रणका कार्यक्रम सञ्चालन गर्छन् । डेंगुको औषधि कसरी गर्ने भन्ने बारेमा उनीहरुलाई मात्र राम्रो जानकारी हुन्छ ।

तर, स्वास्थ्य मन्त्रालयले इन्टोमोलोजिष्टको दरबन्दी छुट्याएकै थिएन । डेंगुजस्तो रोग नियन्त्रण गर्ने कामका विशेषज्ञसहितका करीब ८० जनाको समूहलाई स्वास्थ्यमन्त्री उपेन्द्र यादवकै पालामा वर्ष जगेडामा राख्ने निर्णय भएको थियो ।

डेंगु नियन्त्रण नहुनुको कारण यति मात्र थिएन ।

डेंगुलगायतका किटजन्य रोग नियन्त्रणका लागि मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रकोप रहेको क्षेत्रमा औषधि पठाउने तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिने कार्य गर्ने गर्थ्यो ।

तर, संघीय संरचनामा गएसँगै त्यो अधिकार आफूहरुलाई नरहेको भन्दै महाशाखा पन्छियो । स्थानीय तह र केन्द्र सरकारबीच यस्ता विषयमा के कसरी काम गर्ने स्पष्ट मापदण्डसमेत नबनेका कारण डेंगुले महामारीको रुप लियो । डेंगु महामारी फैलँदा पनि स्वासथ्य मन्त्रालयले गतिलो एक्सन लिन सकेन।

यो पनि पढ्नुहोस डेंगु नियन्त्रणमा सरकार असफल हुनुका ५ कारण

यी त पुराना उदाहरण भए ।

गत शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयले चीनबाट नेपाल आएका एकजना विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको जानकारी दिँदा ती युवक अस्पतालबाट डिस्चार्ज भएको तीन दिन भइसकेको थियो । ती युवकले यत्रो तीन दिनमा कति जनालाई कोरोना सार्न सक्थे ?

यसको रेडिमेड जवाफ मात्र छ, स्वास्थ्य मन्त्रालयसँग ।

जनस्वास्थ्य वैज्ञानिकहरुका अनुसार कोरोनाजस्तो नयाँ भाइरसका लागि कुनै पनि देशले तत्काल सम्पूर्ण तयारी पूरा गर्न सक्दैन । यस्ता भाइरस नियन्त्रणको तयारी गर्न सरकारलाई केही समय दिनुपर्छ । सोही कारण पनि कोरोना भाइरस नियन्त्रण गर्न सरकारले जे–जति प्रयास गरेको छ, त्यसको विरोध सुरु भइसकेको छैन ।

तर, कोरोना भाइरसबारे जानकार रहेका जनस्वास्थ्य विज्ञहरुलाई नै यसबारे नबोल्न सर्कुलर जारी गर्नुको परिणाम के हुन्छ ? अस्पतालमा बिरामीको उपचार गरिरहेका चिकित्सकहरुले केही भन्न नपाउँदा जनताले कसरी सत्य–तथ्य थाहा पाउन सक्छन् ?

एकजना जनस्वास्थ्य वैज्ञानिक भन्छन्, ‘हामीले यसरी जानकारी दिदाँदिँदै त सामाजिक सञ्जाल र युट्युब जस्ता माध्यमबाट ‘फेक न्युज’ फैलिइरहेको छ भने हामी नबोल्दा त झन् के होला ?

हो, उनले भनेजस्तै सामाजिक सञ्जाल र युट्युबबाट कोरोना भाइरसबारे भ्रम फैलिरहेको छ । विदेशी मिडियाबाट चाइनामा मानिसहरु मरेको समाचार सुन्दा सुन्दै मानिसहरु अत्तालिइरहेका छन् । तिब्र गतिमा फैलिने कोरोना भाइरसबारे अनेकथरी अड्कलबाजी हुन थालेका छन्।

यस्तो अवस्थामा जनस्वास्वास्थ्य विज्ञहरुलाई केही नबोल्न निर्देशन दिनुको अर्थ के हो ?

स्वास्थ्य मन्त्रालयले कोरोनाबारे नबोल्ने सर्कुलर किन जारी गरेको छ त ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा सरुवा रोग केन्द्रको स्रोत भन्छ, ‘थाहा छैन, हामीले त निर्देशन पालना गर्नैपर्‍यो ।’

मन्त्रालय स्रोत भन्छ, ‘चिकित्सकहरुले जथाभावी बोल्दा जनता आतंकित हुने देखियो, अरु केही होइन, जनता आतंकित नबनुन् भनेर मात्र चिकित्सकहरुलाई नबोल्न सर्कुलर जारी गरेको हो, तर मन्त्रालयका प्रवक्ताले त बोलिहाल्नुहुन्छ नि ।’

यस्तो अचम्मको उपाय फुराउने स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले कोरोना भाइरस नियन्त्रण गर्न चीनले गरेको प्रयास कहिले सिक्ने होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment