Comments Add Comment

कलैयामा जनप्रतिनिधिका लागि एकै पटक २१ थान मोटरसाइकल खरिद

१४ माघ, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकाले एकै पटक २१ थान मोटरसाइकल खरिद गरेको छ । जनप्रतिनिधि र कर्मचारी चढ्नका लागि एकैपटक २१ थान मोटरसाइकल खरिद गरिएको हो ।

भ्याट बाहेक झण्डै २ लाख २६ हजार रुपैयाँको दरले टिभीएसको आरटीआर मोटरसाइकल खरिद गरिएको कलैया उपमहानगरपालिकाले जनाएको छ । खरिद गरिएका मोटरसाइकल मध्ये १६ वटा वडाध्यक्षका लागि र बाँकी अत्यावश्यक शाखामा पठाउने प्रमुख प्रशासकीय अधिकृत हरि नारायण बेल्वासेले जानकारी दिए । ‘७ वटा वडामा पहिले नै मोटरसाइकल खरिद भइसकेको छ । २१ थान अहिले आएको छ । १६ वटा जति वडामा पठाउँछौं,’ उनले भने, ‘कार्यालयमा इन्जिनियरहरुलाई समेत सवारी साधन छैन । बाँकी उनीहरुले प्रयोग गर्छन् ।’

यो पनि पढ्नुहोस जनतालाई एम्बुलेन्स छैन, आफ्ना लागि स्कोरपियो र पजेरो

कार्यालयमा काम गर्ने र कार्यालय परिसरमै क्वाटर भएकोले आफ्नो लागि गाडीको आवश्यकता नपर्ने दाबी उनको छ ।

कलैयामा नगर प्रमुख राजेश राय यादवले ७३ लाख रुपैयाँको स्टोम गाडी चढ्छन् । उपप्रमुख रहिमा खातुनले ६० लाखको स्कारपियो चढ्दै आएकी छिन् । २ जना वडा अध्यक्षले टिभीएस अपाची नचढ्ने अडान लिएका छन् । उनीहरुका लागि नगरपालिकाले स्प्लेन्डर मोटरसाइकल खरिद गर्न प्रक्रिया अघि बढाएको उपमहानगरपालिकाले जनाएको छ ।

नगर प्रमुख यादवले फिल्डमा दौडने स्टाफ र वडाध्यक्षका लागि मोटरसाइकल खरिद गरिएको बताए । ‘फिल्डमा दौडनुपर्ने कर्मचारीलाई सवारी थिएन । वडाध्यक्षहरु पनि टाढा टाढादेखि आउनुपर्छ,’ नगर प्रमुख यादवले भने, ‘ उहाँहरुको सहजताका लागि मोटरसाइकल खरिद गरेका हौं ।’

लाखौंको गाडी र मोटरसाइकल खरिद गर्ने कलैया उपमहानगरपालिकाले एउटा एम्बुलेन्स समेत खरिद नगरेकोमा भने नागरिक समाजका अगुवा असन्तुष्ट छन् । जनप्रतिनिधि आउनु अघिदेखि नै कलैयामा एउटा मात्र दमकल सञ्चालनमा छ ।

जनताको पसिनामा मोजमस्ती गर्ने छुट छैन

बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले जनप्रतिनिधिलाई जनताको नाममा मोजमस्ती गर्न छुट नभएको बताए । गाडी घोडामा अनावश्यक खर्च गरिनुले जनप्रतिनिधिमा जिम्मेवारी बोध नभएको प्रष्ट हुने दाबी उनको छ ।

‘पहिला पनि जनप्रतिनिधि थिए, तर गणतन्त्रका जनप्रतिनिधिहरु जस्ता थिएनन् । जनतलाई स्मार्ट सिटीको सपना देखाउने तर शीतलहरमा जनता कठ्याग्रिंदा कम्बल समेत वितरण नगर्ने ?’ दासले भने ‘जनतालाई करको भारी बोकाएर गाडी खरिद गर्नु आवश्यक छैन । जनताको पसिनामा मोजमस्ती गर्ने, महंगो गाडी चढ्ने गरेर विलासी जीवन जीउन खोज्नु नैतिकता विहीन काम हो ।’

पालिकाले गाडी खरिद गर्दा जनतामा अनावश्यक आर्थिक भार थपिने उनको भनाइ छ । ‘चुनाव ताका घर घरमा पैदल गएर भोट माग्न सक्ने अहिले गाडी चाहिने ?,’ उनले भने, ‘गाडीमा तेल लाग्छ, त्यसको मर्मत गर्नुपर्छ, पालिकामा अनावश्यक आर्थिक भार थपिन्छ । त्यसको मारमा जनता नै पर्ने हुन् । त्यसैले यस्ता गतिविधिलाई राम्रो मान्न सकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment