News Summary
Generated by OK AI. Editorially reviewed.- लेखमा आरोग्यलाई शरीर, मन र आत्माबीचको सन्तुलन भन्दै नेपालले आफ्नो आरोग्य पर्यटनको कथा खोज्नुपर्ने सुझाव दिइएको छ।
- विश्वभरि १ अर्बभन्दा बढी मानिस मानसिक स्वास्थ्यसम्बन्धी अवस्थासँग बाँचिरहेको र करिब प्रत्येक ७ मध्ये १ जना मानसिक विकारमा रहेको उल्लेख गरिएको छ।
- लेखले नेपालको बिस्तारैपन, प्रकृति, गाउँ र मानवीय सम्बन्धलाई आरोग्य पर्यटनको सम्भावना र नयाँ विलासिता भनेको छ।
अस्पतालको एउटा भित्तामा पढेको एउटा वाक्य लामो समयदेखि मनमा बसेको छ । अंग्रेजीको ‘आई’ अर्थात् ‘म’ को ठाउँमा ‘वी’ अर्थात् ‘हामी’ राख्दा ‘इलनेस’ अर्थात् ‘रोग’ पनि ‘वेलनेस’ अर्थात् ‘आरोग्य’ मा बदलिन सक्छ ।
कति सरल । कति गहिरो ।
सायद, आरोग्यको अर्थ पनि यहीँ कतै लुकेको छ ।
आरोग्य औषधिमात्र होइन । उपचार मात्र पनि होइन । ध्यान, योग वा हिमालको टुप्पोमा बसेर शान्त हुने अभ्यासमात्र पनि होइन । आरोग्य शरीर, मन र आत्माबीचको सन्तुलन हो । आफूभित्र फर्किने अवसर हो । मानिससँग जोडिने, प्रकृतिसँग नजिकिने र केही समय आफैंलाई सुन्न पाउने अवस्था हो ।
र, त्यसका लागि आजको संसारमा सबैभन्दा दुर्लभ के हो ?
समय ।
हामी एउटा यस्तो संसारमा बाँचिरहेका छौं, जहाँ सबै कुरा छिटो हुनुपर्छ । छिटो उठ्ने, छिटो खाने, छिटो काम गर्ने, छिटो पुग्ने, छिटो फर्किने । मोबाइलले संसारलाई हाम्रो हातमा ल्याइदिएको छ । क्षणभरमै संसारको जुनसुकै कुनामा पुग्न सकिन्छ । मानिससँग तुरुन्त कुरा गर्न सकिन्छ । सूचना सेकेन्डमै आइपुग्छ ।
तर, एउटा अनौठो विरोधाभास छ । संसार हाम्रो हातमा आयो, तर आफू भने आफैंबाट टाढिँदै गयौं । मोबाइलले दुरी घटायो, बेचैनी बढायो । सम्पर्क बढायो, संवाद घटायो । सूचना बढायो, शान्ति घटायो । हामी सधैं जोडिएका छौं । तर, कताकता सधैं थाकेका पनि छौं ।
आज मानिसलाई विलासिताभन्दा शान्ति चाहिएको छ । धेरै कमाउनुभन्दा केही क्षण मन शान्त राख्न सक्नु ठूलो सम्पत्ति हुँदै गएको छ । संसारमा सुविधाको कमी छैन, तर फुर्सदको कमी छ । सम्पर्कको कमी छैन, तर आत्मीयताको कमी छ । आवाजको कमी छैन, तर मौनताको कमी छ ।
विश्वभरि १ अर्बभन्दा बढी मानिस मानसिक स्वास्थ्य सम्बन्धी अवस्थासँग बाँचिरहेका छन्। अर्थात्, विश्वका करिब प्रत्येक ७ मध्ये १ जना मानसिक विकारसँग बाँचिरहेका छन् । यी अंक केवल तथ्यांक होइनन् । प्रत्येक अंकभित्र एउटा मानिस छ । तनावमा, चिन्तामा, एक्लोपनमा, थकानमा र निरन्तर दौडिँदा आफैंलाई बिर्सिरहेको मानिस ।
आधुनिक संसारले हामीलाई धेरै काम गर्न सिकायो ।
तर, कहिले रोक्ने भन्ने सिकाएन ।
हामीसँग कामको तालिका छ । विश्रामको तालिका छैन । भेटघाटको समय छ । आफैंसँग भेट्ने समय छैन । मोबाइलको ब्याट्री चार्ज गर्ने चिन्ता छ । आफ्नै मन कहिले रित्तिँदैछ भन्ने चिन्ता छैन ।
सायद यहीँबाट नेपाली पर्यटनको अर्को कथा सुरु हुन सक्छ ।
हामीले पर्यटनलाई लामो समयसम्म धेरै हेर्ने, धेरै गर्ने, धेरै ठाउँ पुग्ने यात्राका रूपमा बुझ्यौं । एउटा यात्रामा सकेसम्म धेरै ठाउँ भ्याउने । बिहानदेखि बेलुकासम्म तालिका भर्ने । फोटो खिच्ने । अर्को ठाउँ दौडिने । एउटा गन्तव्य सकिन नपाउँदै अर्को गन्तव्य सुरु गर्ने ।
यात्रा सकिन्छ ।
मोबाइलमा सयौँ तस्विर हुन्छन् ।
तर, मनमा कति क्षण बाँकी रहन्छन् ?
आरोग्य पर्यटनले यही प्रश्न उल्ट्याउँछ ।
धेरै हेर्न होइन, गहिरो महसुस गर्न यात्रा गर्ने ।
प्रकृतिमा हिँड्ने । जंगलमा बस्ने । नदीको आवाज सुन्ने । गाउँका मानिससँग कुरा गर्ने । कुनै निश्चित समयमा बाँधिएर यात्रा नगर्ने । समयलाई फुर्सद दिने । केही समय मोबाइल बन्द गर्ने । एक्लै बस्ने । चुप लाग्ने ।
कहिलेकाहीँ यात्राको सबैभन्दा ठूलो उपलब्धि नयाँ ठाउँ पुग्नु होइन ।
आफैंलाई फेरि भेट्नु हो ।
काठमाडौंको पूर्वमा पर्ने दाप्चालाई सम्झौं ।
त्यहाँ पुगेपछि समयको गति केही फरक लाग्छ । कहाँ कति बजे पुग्ने भन्ने हतार हराउँछ । हिँडिन्छ । रोकिन्छ । कुरा गरिन्छ । फेरि हिँडिन्छ ।
बाटो सोध्दा कुनै वृद्ध आमाले नक्सा देखाउनुहुन्न । उहाँ हातले एउटा बाटो देखाउनुहुन्छ- ‘उताबाट जानुस् !’
हामी त्यही बाटो लाग्छौं ।
अनि, बिस्तारै मिनेट र घण्टा हराउन थाल्छन् ।
दिन बाँकी रहन्छ ।
सायद यही नै यात्राको अर्को अर्थ हो ।
नेपालमा यस्तो अनुभव बनाउन छुट्टै कारखाना खोल्नुपर्दैन । धेरै ठाउँमा यो जीवनकै स्वाभाविक गति हो । हामीले वर्षौंसम्म यही कुरालाई कमजोरी भन्यौं ।
नेपाल ढिलो छ भन्यौं । नेपाल सुस्त छ भन्यौं । नेपालमा काम बिस्तारै हुन्छ भन्यौं ।
तर, अब प्रश्न गर्नुपर्ने बेला आएको छ- के संसार धेरै छिटो भएको हो कि नेपाल धेरै ढिलो ?
सायद उत्तर दुवैमा छैन ।
सायद संसारलाई अलिकति नेपालजस्तो हुनु आवश्यक छ ।
यसको अर्थ हाम्रो कमजोरीलाई गौरव बनाउनु होइन । जहाँ गति आवश्यक छ, त्यहाँ नेपाल छिटो हुनैपर्छ । सडक चाहिन्छ । अस्पताल चाहिन्छ । प्रविधि चाहिन्छ । दक्ष सेवा चाहिन्छ । पूर्वाधार चाहिन्छ ।
तर, सबै कुरा छिटो हुनुपर्छ भन्ने पनि त छैन ।
केही कुरा बिस्तारै भए मात्रै सुन्दर हुन्छन् ।
रुख बढ्न समय लाग्छ ।
सम्बन्ध बन्न समय लाग्छ ।
विश्वास बन्न समय लाग्छ ।
मन निको हुन समय लाग्छ ।
आरोग्यलाई पनि समय लाग्छ ।
त्यसैले नेपालको सम्भावना केवल हिमाल, नदी, जंगल र सांस्कृतिक सम्पदामा छैन। नेपालको सम्भावना यसको गतिको संस्कृतिमा पनि छ ।
आरोग्य शरीर, मन र आत्माको विषय हो ।
उपचारका लागि अस्पताल चाहिन्छ ।
निको हुन ठाउँ पनि चाहिन्छ ।
खुला आकाश । जंगल । नदी । गाउँ । शान्ति । प्रकृति । मानवीय सम्बन्ध ।
नेपालसँग यी सबै छन् ।
हाम्रा परम्परागत उपचार पद्धति, धामीझाँक्री, तान्त्रिक अभ्यास र स्थानीय ज्ञान पनि हाम्रो सांस्कृतिक स्मृतिका हिस्सा हुन् । तिनलाई आधुनिक चिकित्सा विज्ञानको विकल्प बनाउनु हुँदैन । शरीरसँगै मन र आत्माको सन्तुलन खोज्ने हाम्रो परम्परागत दृष्टिलाई आरोग्यको ठूलो कथाभित्र राख्न सकिन्छ ।
अब नेपालले अरूको आरोग्यको नक्कल गर्नुभन्दा आफ्नो आरोग्यको कथा खोज्नुपर्छ ।
त्यो कथा धेरै जटिल पनि छैन ।
बिस्तारै हिँड्ने ।
गहिरो हेर्ने ।
कम बोल्ने ।
धेरै सुन्ने ।
प्रकृतिमा बस्ने ।
आफैंसँग भेट्ने ।
हाम्रा आफ्नै शब्दहरू छन् । मनमाया, सन्चै-शान्ति, बिस्तारै बाटो ।
यी शब्दभित्र एउटा नयाँ पर्यटन दर्शन लुकेको छ ।
हामीले पर्यटकलाई सधैं सोध्यौं- नेपालमा के हेर्ने ?
अब सोधौं- नेपाल आएर कस्तो हुने ?
यही एउटा प्रश्नले पर्यटनको चरित्र बदल्न सक्छ ।
गन्तव्य बेच्ने होइन, अनुभूति दिने ।
ठाउँ देखाउने होइन, मन छुने ।
तस्विर थप्ने होइन, स्मृति बनाउने ।
आरोग्य वर्ष मनाइराख्दा कार्यक्रमको सूचीमात्र नबनाऔं । एउटा विचार बनाऔं । एउटा अनुभव बनाऔं । एउटा यस्तो यात्रा बनाऔं, जहाँ पर्यटकलाई हतारिनुपर्ने नहोस् ।
संसारलाई सोधौं- थाक्नुभएको छ ? आउनुस् ।
हतारिएको जीवनबाट केही दिन बाहिर निस्कनुस् ।
मोबाइल थन्क्याउनुस् ।
बाटोमा हिँड्नुस् ।
कसैसँग कुरा गर्नुस् ।
चुप लागेर बस्नुस् ।
आकाश हेर्नुस् ।
आफैंलाई सुन्नुस् ।
नेपालले संसारलाई अर्को विलासी होटलमात्र दिनुपर्दैन ।
समय दिन सक्छ ।
संसारले गति सिकिसक्यो ।
नेपालले विराम दिन सक्छ ।
संसार दौडिरहेको छ ।
नेपालले केहीबेर बस्न निम्तो दिन सक्छ ।
संसार सबै कुरा तत्काल चाहन्छ ।
नेपालले भन्न सक्छ- बिस्तारै ।
जीवनलाई सधैं अगाडि बढाउन दौडिरहनुपर्दैन ।
रोकिएर पनि जीवन भेटिन्छ ।
हिजोसम्म हामीले कमजोरी ठानेको नेपालको बिस्तारैपन नै भोलिको सबैभन्दा ठूलो शक्ति बन्न सक्छ ।
संसारले विलासिताको अर्थ बदल्दै छ ।
हिजो विलासिता भनेको महँगो होटल थियो ।
आज विलासिता भनेको आफ्नै लागि केही समय हो ।
हिजो विलासिता भनेको सुविधा थियो ।
आज विलासिता भनेको शान्ति हो ।
हिजो विलासिता भनेको धेरै पाउनु थियो ।
आज विलासिता भनेको केही समय केही नगर्न पाउनु हो ।
त्यसैले नेपालले आफ्नो बिस्तारैपन लुकाउनुपर्ने समय सकियो ।
अब त्यसलाई बुझ्ने, जोगाउने र संसारसामु प्रस्तुत गर्ने समय आएको छ ।
किनकि, संसारले गति जितिसकेको छ । नेपालले समय जित्न सक्छ ।
र सायद, बिस्तारै हुनु नै नयाँ विलासिता हो ।
प्रतिक्रिया 4