Comments Add Comment

डब्लूएचओले भन्यो– कोरोना भाइरसबाट विश्व समुदाय सतर्क रहौं

१६ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनबाट फैलिएको कोरोना भाइरसबाट जोगिन पूरै विश्वलाई सतर्क रहन अपिल गरेको छ । कोरोना भाइरसको फैलावट रोक्न मिलेर काम गर्न पनि डब्लु एचओले विश्व समुदायलाई आह्वान गरेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल १६ देशमा फैलिइसकेको छ । कोरोना भाइरसका कारण निमोनियाको जस्तो लक्षण देखिने रोगबाट १७० जनाले ज्यान गुमाइसकेका छन् । चीनका सबै प्रान्तका बासिन्दा कोरोनाबाट प्रभावित भएका छन् ।

कोरोना भाइरसले विश्वव्यापी समस्या निम्त्याएपछि बिहीबार डब्लुएचओको आपतकालीन बैठक बस्दै छ । यो बैठकमा विश्वव्यापी स्वास्थ्य संकट घोषणा गर्नुपर्ने कि नपर्ने भन्ने विषयमा छलफल हुने बीबीसीले जनाएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोमले कोरोना भाइरसबाट संक्रमितको संख्या चीन बाहिर थोरै भए पनि यो संख्या बढ्ने सम्भावना रहेको बताएका छन् । मानिसबाट मानिसमा संक्रमण फैलिएको पुष्टि भएको भन्दै उनले त्यसलाई चिन्ताजनक भनेका छन् ।

सन् २०१२ मा चीनमा फैलिएको सार्स भाइरसको संक्रमणका कारण ७७४ जनाको ज्यान गएको थियो ।

भाइरसको आकार क्राउन (काँडा जस्तो) देखिने भएकाले यसलाई ‘कोरोना’ नाम दिइएको छ । कोरोना भाइरसले मानिसको फोक्सोमा घातक संक्रमण हुन्छ । सबैभन्दा पहिले संक्रमित व्यक्तिलाई ज्वरो आउँछ । त्यसपछि सुक्खा खोकी लाग्छ । एक हप्तापछि सास फेर्न गाह्रो हुन्छ र मानिसको ज्यानै जान्छ ।

चीनमा कोरोना भाइरस केबाट फैलियो भन्ने खुलेको छैन । यसअघि वुहानको साउथ चाइना सी–फुड होलसेल बजार कोरोना भाइरस फैलिएको बताइएको थियो । तर १ डिसेम्बर सन् २०१९ देखिकै दस्तावेजहरुले भने सी–फुड होलसेल बजारसँग कोरोना भाइरसको कुनै नाता नरहेको पुष्टि गरिसकेको बीबीसीले लेखेको छ ।

सार्स भाइरस चमेराबाट बिरालो र बिरालोबाट मानिसमा सरेको पुष्टि भएको थियो । तर कोरोना भाइरस केबाट फैलियो भन्ने पत्ता नलागेकाले यसको रोकथाममा समस्या भइरहेको विशेषज्ञहरुले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट जुध्न चीनले वुहानमा १ हजार शय्याको अस्पताल ४८ घण्टामै तयार पारेर उपचार सुरु गरेको छ । चीनले कोरोनाविरुद्ध चालेका कदमहरुको डब्लुएचओले प्रशंसासमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment