+
+
Shares

प्रहरीबाट भागेका परदेशी गीतकार ‘रोवर्ट’

रुपेश अधिकारी रुपेश अधिकारी
२०७६ माघ १७ गते ११:५१

युएई । इलामको चुलाचुली गाउँपालिका-४ स्थित पेल्टिमारीका रोवर्ड सिप्तुङ्खा राई सन् २००५ बाट युएईमा श्रम गरिरहेका छन् ।

१५ वर्षयता राई युएईमा सेक्युरिटी गार्डको काम गरिरहेका छन् । तर, उनलाई गीत लेख्न १२ घण्टे ड्युटीले कहिल्यै छेक्दैन । उनी ड्युटीमै गीत लेखेर तयार पार्छन् ।

रोवर्डले लेखेका गीतहरु प्रमोद खरेल, मेलिना राई, श्रेया राई, सन्दीप ग्यावा तामाङलगायतले गाएका छन् । प्रमोद, मेलिना र श्रेया नेपालका चर्चित कलाकार हुन् । रोवर्डले लेखेको पहिलो गीत गाएका सन्दीप भने युएईमै श्रम गरिरहेका छन् ।

उनले लेखेका गीतका शब्दहरु मिठा छन् । पीडा र बेदनाका गीत लेखनमा उनको दख्खल छ । आफूले रहरै रहरमा यो क्षेत्रमा पाइला चालेको रोवर्ड बताउँछन् । ‘गीत ड्युटीमै लेखिन्छ, ड्युटी १२ घण्टाको छ, प्रायः छुट्टी हुँदैन,’ उनी भन्छन्, ‘अहिलेसम्म सबैबाट राम्रो प्रतिक्रिया पाएको छु ।’ नेपाल फर्किएपछि यही क्षेत्रमा निरन्तर लाग्ने उनको अठोट छ ।

साहित्य र संगीतप्रतिको झुकाव

४१ वर्षीय रोवर्ट सानैदेखि साहित्य मन पराउँथे । सानो छँदा उनको गाउँमा मुक्तक र गजलको चलन थियो । बलिभद्र कोइराला, प्रकाश आङ्देम्बे, सुन्दर कुरुपहरुका लेखन र प्रस्तुति उनले कहिल्यै छुटाएनन् । उनीहरुबाटै आफूले लेख्न सिकेको रोवर्ड बताउँछन् ।

उनी ९, १० कक्षामा पढ्दा गाउँमा ‘चुलाचली दर्पण गजल संग्रह’ प्रकाशित भयो । त्यसैबाट आफूले लेख्न सुरु गरेको रोवर्डले सुनाए । ‘अहिले पनि थुप्रै गीत लेखेर राखेको छु, दुई/चारवटा डायरी नै भरिएका छन्, संगीत हालेर बाहिर ल्याइएको चाहिँ छैन,’ रोवर्ड भन्छन्, ‘दुईवटा गीत भने रेकर्डिङको तयारीमा छन् ।’

‘ढुंगा पनि देउता बन्छ मन्दिरमा राखेपछि
माया गर्छन् मान्छेहरु हुनेखाने भएपछि’

रोवर्डको गीत ‘भेट किन भयो भन्थे’ मा मेलिना राईको आवाज छ । प्रमोदले गाएको ‘तिमीबिना जीउन सकिनँ भने’ अहिले निकै चर्चित छ । मेलिना र प्रमोदले गाएका यी दुई गीतको म्युजिक भिडियो धेरैले मन पराएका छन् ।

श्रेयाले गाएको ‘ढुंगा पनि देउता बन्छ’ बोलको गीतको पनि रेकर्डिङ भिडियो युट्युवमा देख्न सकिन्छ । रोवर्डले लेखेका गीतहरुमा निराजन प्रधान, लक्ष्मी बर्देवा, डिम्बल योङ्हाङलगायतको अभिनय छ ।

तीन साताअघि गायक प्रमोद खरेलको आवाजमा रहेको गीत ‘तिमीबिना जीउन सकिनँ भने’ सार्वजनिक भयो । ओएसआर डिजिटलको युट्युव च्यानलमा राखिएको म्युजिक भिडियोलाई ८ लाखपटक भन्दा बढी हेरिसकिएको छ ।

प्रेमिकाको यादमा डुबेर तयार पारिएको यो गीतका लेखक भने युएईमा कार्यरत छन् । उनी युएईमा बसेर पनि आफ्नो देशका लागि गीत लेख्न तल्लीन छन् ।

प्रहरीबाट भागेपछिको यात्रा

कक्षा १० मा पढ्दा रोवर्ड प्रहरीमा भर्ना भए । ६ महिने तालिमका लागि उनलाई विराटनगरको रानीमा हालियो । लगभग ५ महिना बितेको थियो, उनी तालिम छाडेर भागे । भाग्नुको कारण पनि महत्वपूर्ण थियो ।

एसएलसीमा उनले कम्पार्ट पाएका थिए । झापाको चन्द्रगढी पुगेर एकाउण्टको परीक्षा दिनु थियो । ‘तालिम छाडेर परीक्षा लिन जान पाइँदैन भनेपछि भागेर गएँ,’ उनी भन्छन्, ‘विराटनगरको रानीबाट रातारात भागेँ, चन्द्रगढी पुगेर परीक्षा दिएको छु ।’

एसएलसीपछि इलाम क्याम्पसमा पढेका रोवर्डले केही न केही कोरिरहे । लेख्न कहिल्यै छाडेनन् । तर, समय र परिस्थितिले उनलाई युएई ल्यायो । केही वर्ष पैसा कमाएर स्वदेश फर्किने सपना थियो उनीसँग । तर १५ वर्ष बितिसक्यो, उनी युएईमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?