Comments Add Comment

मौनधारणमा मन्त्री भुसाल !

'बोल्ने तयारी नै हो, बेला आएपछि बोल्छु'

१७ माघ, काठमाडौं । तत्कालीन एमालेका उप-महासचिव धनश्याम भुसालले २२ वैशाख ०७६ को एक भाषणमा समृद्धि र समाजवादको अभियानमा लागेको क्रान्तिकारी पार्टीले बाटो बिराएको भन्दै नेतृत्वको चर्को आलोचना गरेका थिए । उनी यतिबेला कृषि मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् र सार्जजनिक मञ्चहरुमा उतिसाह्रो देखिँदैनन् ।

क्रान्तिकारीहरुले विकासको सवालमा कोरा परिकल्पना धेरै गरेको तर मानिसको विकासको कुरै नगरेको भन्दै उनले बैशाखको भाषणमा आक्रोश पोखेका थिए ।

‘मलाई रेल र पानीजहाज बिरोधी भनेर चित्रण गर्छन्’,त्यसबेला भुसालले भनेका थिए, ‘तर, मैले अफ्रिकामा नाच्न बाध्य नेपाली चेलीको मुद्दा कि प्रशान्त महासागमा नेपालको झण्डा फरफराउँदै गरेको पानीजहाजको परिकल्पना प्रधान हो भन्ने बहस गर्न चाहेको हुँ ।’

भुसालले जनताको जीवनस्तर उकास्ने समाजवादको बाटोमा अघि बढ्नुपर्ने दुईतिहाई बहुमतप्राप्त क्रान्तिकारीहरुको सरकार दलाल पूँजीवादको चंगुलमा फसेको आरोप पनि लगाएका थिए ।

नेकपा स्थायी समिति सदस्यसमेत रहेका भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘स्पिरिट’ बिरुद्व बोलेको भन्दै त्यसबेला संस्थापन पक्षधरबाट उनको कडा आलोचना पनि भएको थियो ।

आलोचकलाई मन्त्री पदले ‘कारबाही’

तीखो आचोलना गरेर पार्टी र सरकारको नेतृत्वलाई गाल पारिरहेका भुसाल गत मंसिर ४ गते एकाएक कृषि तथा पशुपंछी विकास मन्त्री नियुक्त भएको खबरले धेरैलाई आश्चर्यचकित बनायो ।

हुन पनि नेतृत्व सच्चिनुपर्छ भन्दै जसलाई उनले निशाना बनाइरहेका थिए, उसैबाट ‘कारवाहीमा परेर’ भुसाल मन्त्रिपरिषद् सदस्य बन्न पुगे ।

अध्ययनशील, सालीन, समाजवादी चिन्तक, नेकपाभित्रका आशलाग्दा नेता आदि उपमा पाएका भुसाल आम अनुमान विपरीत कृषि मन्त्री बनेपछि सामाजिक सञ्जालमा अनेक विचारहरु प्रकट भए । कसैले आफ्ना कटू आलोचकको मुख थुन्न प्रधानमन्त्री ओलीले भुसाललाई मन्त्री बनाएको भने त कतिले भुसालको लोकप्रिय छवि धमिल्याउन कामको नतिजा नदेखिने कृषि मन्त्रालय भिराइएको भने । कतिले चाहिँ जिम्मेवारी लिएर काम देखाउन र बाहिर बिरोध गर्दै हिँड्न फरक हुन्छ भन्ने सिकाउन भुसाललाई मन्त्री बनाइएको लख काटे ।

मन्त्री बनेपछिका भुसाल

मंसिर ४ गते शीतलनिवासमा शपथ खाएर कार्यभार सम्हाल्न सिंहदरबार छिरेपछि कृषिमन्त्री भुसालले प्रेसलाई छोटो प्रतिक्रिया दिँदै ‘परम्परागत कृषिलाई व्यवसायिक बनाउनेमा केन्दि्रत हुने’ परम्परागत अभिव्यक्ति दिएका थिए । सँगै उनले भनेका थिए, ‘म कुनै प्रलोभनमा पर्ने छैन ।’

मन्त्री भएको पाचौं दिनमा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले कृषिमा आधुनिकीकरण गर्न निजी क्षेत्रको अझ बढी सहयोग अपेक्षा गरेको र अमिल्दा कानुनहरु संशोधन गर्ने बताएका थिए ।

पुस पहिलो साता पार्टीको स्थायी समिति बैठकमा अलि खरै पारामा प्रस्तुत भएका मन्त्री भुसालले शीर्षनेताहरुलाई ‘धर्ती नछाड्न’ आग्रह गरे । त्यसलगत्तै मतदातालाई धन्यवाद दिन गृह जिल्ला रुपन्देही पुगेका उनले मणिग्राममा आयोजित कार्यक्रममा अहिलेको बजेटले निर्दिष्ट गरेको कार्यक्रम पूरा गरेर अर्को बजेटमा कृषि क्रान्तिमा टेवा पुग्ने योजना ल्याउने बताए ।

त्यसयता उनले मुख खोलेका छैनन् ।

पार्टी र सरकारको चर्को आलोचना गर्दा टपक्क टिपिएर मन्त्री बनेका घनश्याम भुसालले मौनधारण गरेपछि उनी आफैं मन्त्रालयमा हराएको भन्ने चर्चा पनि सुनिन थालेको छ

बोल्ने बेला भा’छैन

मन्त्री बनेको ७१ औं दिन १४ माघमा भुसालको निम्तो पाएर मन्त्रालय पुगेका कृषि बिटका करिब दुई दर्जन पत्रकारले लेख्नलाई गतिलै विषय पाइने अपेक्षा गरेका थिए । तर, मन्त्रीले सुरुमै आफू बोल्न होइन, कृषि क्षेत्र सुधारका लागि नीतिगत-व्यवहारिक सुझाव माग्न कृषि बीटका पत्रकारलाई बोलाएको बताए ।

पत्रकारको एक-एक सुझाव दुई घण्टासम्म आफैं डायरीमा टिपेका मन्त्री भुसालले न कुनै योजना सुनाए, न त दुई महिनाको प्रगतिबारे बताए ।

पत्रकारहरुले केही न केही त सुनाउन जोड गरेपछि उनले भने, ‘अहिले मसँग समाचारका लागि दिने केही छैन । यत्ति भन्छु- कृषिकर्ममा लागेका कसैलाई पनि निराश बनाउने छैन ।’

मन्त्रालयमै हराएका भुसाल

हृयाचरी व्यवसायीहरुले ब्रोइलर कुखुराको मासु र अण्डाको भाउ बढाउन जिउँदो चल्ला नष्ट गर्ने अभियान चलाउँदा मन्त्री भुसालले कुनै प्रतिक्रिया दिएनन् ।

प्याजको भाउले सगरमाथाको उचाइ नाघ्दा पनि उनी मौन रहे ।

लामो समयदेखिको भुक्तानी नपाएका उखु किसानहरुले राजधानीमै आएर माइतीघरबाट आफ्नो पीडा बताउँदा पनि कृषिमन्त्री भुसालले आफ्नो धारणा सार्वजनिक गरेनन् ।

गरिमा धानको नक्कली बिउबाट पिडीत कृषकहरुको पिडाबारे पनि उनले मुख खोलेनन् ।

भुसाल मन्त्री भएपछि धान र उखुको सर्मथन मूल्य तोकियो । उखुको बक्यौता माग्दै राजधानी आएका किसान र उद्योगीबीच बार्ता पनि भयो ।

तर, यी सबै विषयमा मन्त्री भुसालले मौनता तोडेनन् ।

पार्टी र सरकारको चर्को आलोचना गर्दा टपक्क टिपिएर मन्त्री बनेका घनश्याम भुसालले मौनधारण गरेपछि उनी आफैं मन्त्रालयमा हराएको भन्ने चर्चा पनि सुनिन थालेको छ ।

‘सिक्दै छु, बोल्ने समय आउँछ’

संघीयता कार्यान्वयनका क्रममा सबभन्दा बढी अस्तव्यस्त भएको मन्त्रालयमा पर्छ कृषि तथा पशुपंछी विकास मन्त्रालय । किसान, उपभोक्ता र व्यावसायिक प्रतिष्ठानदेखि दातृ निकायसम्मको प्रत्यक्ष सरोकार जोडिने भएकाले मन्त्रालयमा स्वार्थ समूह र बिचौलियहरुको भीड पन्छाइनसक्नुछ ।

मन्त्री भुसालले यी सबको मिहीन जानकारी लिइरहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘मन्त्रीज्यु उपलब्धीविहीन कार्यक्रम र भेटघाट सकेसम्म नगर्नेमा हुनुहुन्छ’, एक सहसचिव भने, ‘उहाँसँग जनताले धेरै आशा गरेको हुनाले हलुका भएर नबोल्ने गर्नुभएको हो ।’

ती कर्मचारीका अनुसार यसअघिका नयाँ मन्त्रीले पहिलो कामका रुपमा कर्मचारी सरुवा-बढुवा गर्ने गरेकामा भुसालले त्यसमा चासो दिएका छैनन् । ‘मन्त्रीज्यु भावी योजनाको गृहकार्यमा हुनुहुन्छ’, ती सहसचिव भन्छन्, ‘सरोकारवालासँग गहन छलफल गर्ने र जिम्मेवार कर्मचारीलाई नतिजामुखी कामको निर्देशन दिने गरिरहनुभएको छ ।’

मन्त्री भुसाल अबका दिन केही न केही बोल्ने र आफ्ना योजनाहरु सार्वजनिक गर्ने तयारीमा लागेको उनको सचिवालयका एक सदस्यले बताए । ‘त्यो कस्तो हुनेछ भन्ने जिज्ञासा बाहिरमात्र नभई मन्त्रालयका कर्मचारीहरुमा पनि उत्तिकै छ’, ती सदस्यले भने ।

१४ माघको अनौपचारिक कुराकानीमा मन्त्री भुसालले ब्रिफिङ सुन्ने, नोट गर्ने, नबुझेका कुरा दोहोर्‍याएर सोध्ने काम न सकिएको बताउँदै भने, ‘बोल्ने तयारी नै हो, बेला आएपछि बोल्छु । निराश नबनाउने गरी बोल्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment