Comments Add Comment

छाउगोठमा प्रशासन–स्थानीय दोहोरी, भत्काउन खोज्दा हवल्दार कुटिए

२० माघ, डोटी । अछाम बान्नीगढी जयगढ गाउँपालिका–३ धारासैन गाउँमा शनिबार छाउगोठ भत्काउने अभियान थियो । छाउगोठ भत्काउन जयगढबाट प्रहरी हबल्दार धनबहादुर कैलासहितको टोली पुग्यो ।

प्रहरी सहितको टोलीले छाउगोठ भत्काउन लाग्दा स्थानीय एक महिलाले बिरोध गरिन् । तर टोलीले उनको कुरा सुन्दै नसुनी भत्काउन थाल्यो । आक्रोशित महिलाले दाउराले प्रहरी हबल्दार कैलामाथी प्रहार गरिन् । कैला घाइते भए । उनको कम्मरमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

हवल्दार कैलामाथी आक्रमण गर्ने स्थानीय ५४ वर्षीया धना साउँदलाई अछाम प्रहरीले नियन्त्रणमा लिएको छ । अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीले घटनाको पुष्टि गर्दै यसबारे थप अनुसन्धान भइरहेको बताए ।

०००

करिब एक महिनाअघि अछाम साँफेबगर नगरपालिका–१४ पातलकोटकी रम्भा थापाको छाउगोठ प्रहरी, जनप्रतिनिधि र स्थानीय मिलेर भत्काए । उनको परिवारले फेरि छाउगोठ बनाएको छ । ‘छाउगोठ भत्काएपछि सर्प आयो,’ रम्भा भन्छिन्, ‘अचेल घर नजिकै फराकिलो गोठ बनाएका छौं ।’ पहिलेको भन्दा अहिलेको छाउगोठ सुरक्षित भएको उनको दाबी छ ।

०००

बझाङ, खप्तडछान्ना गाउँपालिका–७ गडराय गोर्खाली गाउँका वंश खड्काको घरमा रहेको छाउगोठ पनि गोठ भत्काउने अभियानअन्तरगत नै भत्काइयो । भत्काएको केही दिनमै खड्काले नयाँ गोठ बनाइहाले । ‘बुहारी सुत्केरी हुने समय नजिकिएकाले गोठ बनाउनु पर्‍यो,’ उनले भने, ‘परिवारका महिला सदस्यहरु सुत्केरी र महिनाबारी हुँदा बस्ने छाउगोठ त चाहियो नि !’

०००

गैरसरकारी संस्थाहरुको समेत सहभागीतामा प्रहरी र जनप्रतिनिधिहरुले छाउगोठ भत्काइए पनि स्थानीयले पुनः बनाउन थालेका छन् । छाउगोठ पुनः बनाउँदा स्थानीयले ४०/५० हजार रुपैयाँसम्म खर्च गरिरहेको पाइएको छ । अछाम साँफेबगर–१४ कि मोतीकला थापाले भनिन्, ‘छाउगोठ फेरि बनाउँदा ४० हजारजति खर्च भयो । घर सानो भएकाले सुत्ने ठाउँ नपुग्दा नयाँ छाउगोठ बनाउनुपर्‍यो ।’

छाउगोठ भत्काउने अभियानले समुदायमा विवाद सिर्जना गरेको अछामका पत्रकार विष्णु भण्डारी बताउँछन् । ‘भत्किएका छाउगोठहरु पनि फेरि बनाइँदैछन्, फेरि भत्काइँदै छन्,’ उनले भने, ‘कसैले भत्काऔं भन्छन्, कसैले भत्काउन पाइँदैन भन्छन् । विवाद बढ्दै गएको छ ।’ केही दिनअघि जुम्लाबाट निर्वाचित सांसद गजेन्द्रबहादुर महतले छाउगोठ भत्काइएको विरोध संसद बैठकमै गरेका थिए ।

अछाम प्रहरी प्रमुख भारती भने भत्काइएका छाउगोठहरु पुनः बनाइँदै गरेको जानकारी आफूहरुलाई नभएको दाबी गर्दछन् । उनले नयाँ गोठहरु बन्न लागेको कुरा आएपछि प्रहरीले अनुगमन गरिरहेको बताए । अछाम प्रहरी प्रमुख भारतीले भने, ‘हामीले अनुगमन गरिरहेका छौं, अहिलेसम्म त्यस्तो (नयाँ बनाउन लागेको) भेटिएको छैन ।’

पाँच हजार गोठ भत्काइए

गत पुस ९ गते संघीय सरकारको गृह मन्त्रालयले छाउगोठ भत्काउन निर्देशन दिएपछि अहिले सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाहरुमा गोठ भत्काउने अभियान जारी छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका अनुसार शनिबारसम्म पाँच हजार आठ सय ८० छाउगोठहरु भत्काइएका छन् । अछाममा सबैभन्दा बढी चार हजार सात सय ३३ गोठ भत्काइएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

यस्तै बाजुरामा तीन सय ३५, कैलालीमा दुई सय ७३ र डोटीमा दुई सय १७ छाउगोठहरु भत्काइएको कार्यालयले जानकारी दियो । कञ्चनपुरमा एक सय ९१, बझाङमा एक सय आठ र डडेल्धुरामा २३ छाउगोठ भत्काइएको उक्त कार्यालयसँग तथ्यांक छ ।

बैतडी र दार्चुलामा भने छाउगोठ नभएको स्थानीय प्रशासनको दावी छ । ‘हामीले प्रहरी र स्थानीय तहमार्फत खोजी गर्‍याैं,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल भन्छन्, ‘एउटा पनि छाउगोठ नभेटिएको भन्ने रिपोर्ट हामीलाई आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment