Comments Add Comment

कोरोना भाइरसलाई लिएर अमेरिकाले आतंक फैलाएको चीनको आरोप

२० माघ, काठमाडौं । चीनले कोरोना भाइरस संक्रमणलाई लिएर अमेरिकाले आतंक सिर्जना गरेको आरोप लगाएको छ ।

अमेरिकाले शुक्रबार स्‍वास्थ्य संकटकाल घोषणा गर्दै दुई हप्तायता चीन भ्रमण गरेका विदेशीलाई आफ्नो देश भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि चीनको यस्तो प्रतिक्रिया आएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङयिङले अमेरिकाको कदमले डर मात्र बढाउने बताइन् ।

चीनमा हालसम्म कोरोना भाइरसबाट १७ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । जसमध्ये ३ सय ६१ जनाको मृत्यु भइसकेको छ । चीनबाहिर १ सय ५० जनामा यो भाइरसको संक्रमण भएको छ । जसमा फिलिपिन्समा एक जनाको मृत्‍यु भएको छ ।

सोमबार पत्रकार सम्मेलनमा प्रवक्ता चुङयिङले सहयोग गर्नुको साटो अमेरिकाले आतंक मात्र बढाउने काम गरेको बताइन् । उनले भनेकी छन् कि चीन भ्रमण गर्नेलाई आफ्नो देश भ्रमणमा प्रतिबन्ध लगाउने र आंशिक रुपमा दूतावासका कर्मचारी फिर्ता गर्ने अमेरिका पहिलो देश हो ।

अमेरिकाको निर्णयपछि अष्ट्रेलियाले पनि चीन भ्रमण गर्नेलाई प्रतिबन्ध लगाएको छ ।

विश्व स्वास्थ्य संगठनले प्रवेशमा कडाइ गर्दा अवैधानिक रुपमा प्रवेश गर्ने यात्रीका कारण झन् भाइरस फैलन सक्ने खतरा रहेको बताएको छ ।

२३ जनवरीमा अमेरिकाले अत्यावश्यक काम नभएका अमेरिकी नागरिक र उनीहरुको परिवारलाई वुहानबाट स्वदेश फर्किन निर्देशन दिएको थियो ।

३० जनवरीमा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण स्वास्थ्य संकटकाल घोषणा गरेपछि अमेरिकाले चीनमा रहेका २१ वर्षमुनिका आफ्ना नागरिक र उनीहरुङ्को परिवारका सदस्यलाई स्वदेश फर्किन निर्देशन दिएको थियो ।

हुवे प्रान्तबाट फर्किने सबै अमेरिकी नागरिकलाई स्वेदश फर्किएपछि १४ दिन क्वारेन्नटाइनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment