Comments Add Comment

क्रिकेट प्रशिक्षक पटवालले दिए राजीनामा

२० माघ, काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् ।

उनले काठमाडौंमा पर्सिबाट सुरु हुने नेपाल, ओमान र अमेरिकाको सिरिज सकिएसँगै लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएका हुन् । विश्वकप लिग टूमा नेपालको पहिलो सिरिज घरेलु मैदान कीर्तिपुरमा हुनेछ ।

पटवाल गत जेठमा एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । नेपाल क्रिकेट संघ निलम्बनमा रहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पहलमा आईसीसीले उनलाई मासिक ७ हजार डलर तलब दिने गरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

मुख्य प्रशिक्षक बनेपछि पटवालले २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा नेपाललाई पुर्‍याउने लक्ष्य सुनाएका थिए । तर साउनमा सिंगापुरमा भएको भएको टी–२० को विश्वकप छनोटको एसिया फाइनलमा नै नेपाल चुक्यो ।

त्यसपछि उनको प्रशिक्षणमा नेपालले १३औं दक्षिण एसियाली खेलकुद -साग) खेल्यो । तर चार देश मात्र सहभागी भएका प्रतियोगितामा बंगलादेश र श्रीलंकासँग हार्‍यो भने माल्दिभ्सलाई हराउँदै काश्य पदकमा चित्त बुझाएको थियो ।

पछिल्लो समय भने क्यान पदाधिकारी मुख्य प्रशिक्षक पटवालसँग असन्तुष्ट देखिएका थिए । त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षण सुरु गर्न समयमै नआएको भन्दै क्यानका पदाधिकारीहरुले विकल्प खोज्नेसक्ने संकेत समेत गरेका थिए ।

खेलाडीहरु पनि मनमोहन मेमोरियल कपमा व्यस्त भएकाले बन्द प्रशिक्षण समयमा सुरु भएन । पोखरामा बन्द प्रशिक्षणसँगै नेपालले मलेसियासँग तीन म्याचको मैत्रिपूर्ण सिरिज खेलेको थियो । पोखराबाट काठमाडौं आउनुअघि नै मुख्य प्रशिक्षक पटवालले आईसीसी समक्ष राजीनामा दिएको स्रोतको दाबी छ ।

मुख्य प्रशिक्षक पटवालले राजीनामाको बोधार्थ नेपाल क्रिकेट संघलाई पनि पठाएको स्रोतले बताएको छ । तर क्यान पदाधिकारीहरु यसबारे बोल्न चाहेका छैनन् ।

स्रोतकाअनुसार प्रशिक्षक पटवालले तलव समेत पाएका छैनन् । आईसीसीले राखेपमार्फत तलब दिने भनिएको थियो । र, सुरुको तीन महिनाको तलब पनि राखेपमा आएको छ । तर त्यसपछि लाग्ने करका कारण तलब दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment