Comments Add Comment

कुमार पौडेल प्रकरणमा संलग्नविरुद्ध कानूनी प्रक्रिया अघि बढ्यो : प्रहरी प्रवक्ता

२० माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरणमा संलग्न प्रहरीमाथि कारबाही गर्न निर्देशन दिएको तीन महिनापछि कानूनी प्रक्रिया अघि बढेको छ ।

गृह सचिव प्रेमकुमार राईले राजीनामा दिएको दिन शुक्रबार मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि प्रकरणमा संलग्न अधिकृतविरुद्ध कानूनी प्रक्रिया अघि बढेको हो ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापा क्षेत्री भन्छन्, ‘गृहमन्त्रायलको निर्देशनपछि कानूनी प्रक्रिया अघि बढाएका छौं ।’ उनले कारबाहीका लागि प्रदेश नं २ प्रहरी कार्यालयलाई पनि पत्राचार गरिएको अनलाइनखबरलाई बताए ।

यसअघि ५ असारमा सर्लाहीको लालबन्दी नगरपालिका–१, लखनदेहीस्थित जंगलमा भएको भनिएको दोहोरो भिडन्तमा पौडेल मारिएका थिए । प्रहरीले दोहोरो भिडन्त भने पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले नै प्रश्न उठाएका थिए ।

पूर्वगृहमन्त्री जनार्दन शर्मा लगायतकै सांसदले मृतकको हात ६/७ ठाउँमा भाँचिएको भन्दै दोहोरो भिडन्त भएको प्रहरी दाबीमा शंका गरेका थिए । मृतकको परिवारको पनि यही दाबी थियो ।

तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भने पौडल दोहोरो भिडन्तमा नै मारिएको दाबी गरेका थिए ।

आयोगले गरेको स्थलगत छानबिन र अनुसन्धानपछि प्रहरी दाबी गलत भएको भेटिएको थियो । आयोगले ४ कात्तिकमा पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको ठहर गरेको थियो ।

आदेश दिने र संलग्न प्रहरी दोषी

आयोगले प्रहरीलाई निर्देशन दिनेसहित तीन प्रहरीलाई तत्काल निलम्बन गर्न सिफारिस गरेको थियो ।

निर्देशन दिने तालुक निकायका पदाधिकारी तथा कर्मचारी, आदेश दिने अधिकारी तथा दुरुत्साहन गर्ने व्यक्तिहरुमाथि अनुसन्धान गरी कानून बमोजिम कारबाही गर्नुपर्ने आयोगको ठहर थियो ।

प्रकरणमा प्रत्यक्ष संलग्न प्रहरी निरीक्षक कृष्णदेव शाह र हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।

यो पनि पढ्नुहोस ‘प्रहरीले कुमार पौडेललाई नियन्त्रणमा लिई नौ राउण्ड गोली हान्यो’

घटनाको मुचुल्का त्रुटिपूर्ण रुपमा संकलन गर्ने प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र प्रहरी नायव निरीक्षक सूर्यकुमार कार्कीलाई सचेत गराउन आयोगले सिफारिस गरेको छ ।

प्रहरी निरीक्षक शाह प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल मातहतको विशेष ब्युरोमा दरबन्दी भइ सर्लाहीमा खटाइएका अधिकृत हुन् । यो मुठभेड पनि खनालकै निर्देशनमा भएको अधिकृतहरुले बताएका थिए ।

तर, निर्देशन दिनेमाथि कारबाही हुन्छ या हुँदैन भन्ने प्रश्नमा प्रहरी प्रधान कार्यालयका अधिकृतहरु मौन छन् । आयोगको निर्देशन छ, ‘घटनामा प्रहरीलाई निर्देशन दिने तालुक निकायका पदाधिकारी तथा कर्मचारीहरु, आदेश दिने अधिकारी तथा दुरुत्साहन गर्ने व्यक्तिहरुमाथि समेत अनुसन्धान गरी कानूनको दायरामा ल्याइ कानून बमोजिम कारबाही गर्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment