Comments Add Comment

जब अपहरित बालिकाको उद्दारपछि पनि फिरौती माग्दै फोन आइरह्यो

१९ माघ, काठमाडौं । भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको एक निजी विद्यालयमा आइतबार बिहान सर्लाही घर भइ मध्यपुर ठिमी–६ बस्ने २० वर्षीय आशिष थापा पुगे ।

विद्यार्थीको आफन्तको रुपमा परिचय दिँदै भित्र छिरेका थापाले एलकेजीमा पढ्ने ६ वर्षीया बालिका सुनिता (नाम परिवर्तन) लाई बाहिर लैजान चाहेको सुनाए । बुबाले पठाएको भनेपछि विद्यालयले ‘अभिभावक कार्ड’ विनै सुनितालाई थापाको जिम्मा लगाए ।

बुबाको नाम लिएपछि थापाको मोटरसाइकलमा उनी सजिलै चढ्छिन् ।  थापा सुनिताको नातेदार भएको प्रहरी बताउँछ ।

भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधान भन्छन्, ‘तर, बालिकाले थापालाई चिने जस्तो देखिँदैन किनकि, उद्दारपछि उनले थापाको नाम लिएकी थिइनन् ।’

प्रहरीका अनुसार थापा बालिकालाई लिएर घ्याम्पे डाँडा पुगे । जंगल क्षेत्र पनि पर्ने पर्यटकीय स्थलमा पुगेर हात बाँधेपछि बालिका चिच्याएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

त्यसपछि थापा डरले भागेको देखिएको अधिकृतहरू बताउँछन् ।

जंगलमा अलपत्र अवस्थामा भेटेपछि सर्वसाधारणले उनलाई स्कुलसम्म फिर्ता ल्याइएको महानगरीय प्रहरी वृत्त, ठिमीले जनाएको छ ।

भागेपछि फिरौती लिने प्रयास

घटनास्थलबाट भागे पनि बालिकाको बुबालाई भने थापाले फिरौती माग्न छाडेका थिएनन् । साँझ ५ बजेसम्म १६ लाख रुपैयाँ फिरौती नदिए जे पनि हुने भन्दै उनले धम्क्याएको एसपी प्रधान बताउँछन् ।

बालिका अभिभावकको साथमा पुगेको केही घन्टापछि ५ बजेतिर भाटभेटनी क्षेत्रमा उनी फिरौती लिन आए । अपहरणकारी पक्राउका लागि प्रहरीले बुनेको योजनाबारे उनले भेउ नै पाएनन् ।

जब थापा फिरौतीको रकम लिन अघि बढे, त्यहीवेला सादा पोशाकमा परिचालित टोलीले उनलाई समात्यो । साथै, बालिका पनि अभिभावकको साथमै रहेको सुनायो ।

अनुसन्धान अधिकृतका अनुसार थापा पक्राउ परेको स्थान उनी बस्ने स्थान नजिकै हो ।

यो पनि पढ्नुहोस अपहरण र फिरौती : १० वर्षे द्वन्द्वले फैलाएको अपराध

बयान जारी 

अधिकृतहरुका अनुसार यो प्रकरणमा केही अनुत्तरीत प्रश्नहरू छन् ।

अपहरणका लागि उनले किन सार्वजनिक स्थल रोजे ? बालिका छाडेर भागिसकेपछि पनि उनी किन फिरौती लिन आए ?

यी प्रश्नको जवाफ खोज्दै प्रहरीले थापासँग बयान लिइरहेको छ । तर, हालसम्म थप विषय खुलिसकेको छैन ।

प्रारम्भिक अनुसन्धानमा थापा लागूऔषध प्रयोगकर्ता भएको देखिएको प्रहरीले जनाएको छ । त्यसैले आर्थिक लाभकै लागि अपहरण गर्ने प्रयास गरेको तर, डरले बीचमै छाडेर भागेको हुनसक्ने देखिएको प्रहरी बताउँछ ।

हालसम्म उनले घटनामा आफ्नो मात्र संलग्नता रहेको दाबी गरेका छन् भने थप तथ्य प्रहरीले केलाइरहेको छ ।

यस विषयमा बुझ्न पीडित बालिकाकी बुबासँग सम्पर्क गर्दा उनले आफूलाई घटनाबारे कुरा गर्न प्रतिबन्ध लगाइएको अनलाइनखबरलाई बताए ।

उनले भने, ‘मलाई प्रशासनबाट केही पनि मुख नखोल्नु जे भन्नु पर्छ, हामी आफैं बोल्छौं भन्नु भएको छ ।’

विद्यालयको लापरबाही 

राजधानीका निजी विद्यालयहरुले ‘अभिभावक कार्ड’ बोकेर आउने व्यक्तिलाई मात्र विद्यार्थी जिम्मा लगाउने गरेका छन् । यद्यपि, यो प्रकरणमा थापालाई विद्यालयले कसरी त्यत्तिकै लैजान दियो भन्ने खुलिसकेको छैन ।

सामान्य कुराकानीकै भरमा विद्यार्थीलाई जिम्मा लगाउँदा जघन्य अपराध पनि हुनसक्ने यो प्रकरणले देखाएको छ । त्यसैले यस विषयमा विद्यालय प्रशासन पनि सजग हुनुपर्ने देखिएको अधिकृतहरु बताउँछन् ।

यसअघि १३ मंसिर २०७५ मा ८ वर्षीय बालक प्रयास कुँवरको गोंगबुस्थित एक होटलबाट अपहरणपछि हत्या भएको थियो ।

२१ साउन २०७५ मा  काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएको थियो । जसमा संलग्न दुई जना प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment