Comments Add Comment

सचिवालयमा एक्लिए प्रधानमन्त्री ! एमसीसीमा बन्यो अध्ययन कार्यदल

१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको इच्छा विपरीत अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न कार्यदल बनाएको छ ।

आइतबार सकिएको केन्द्रीय कमिटी बैठकमा नेताहरुले जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अध्ययन कार्यदल गठन गरेको घोषणा गरेका थिए ।

वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्यहरू भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य छन् । र, कार्यदललाई १० दिनको समय दिइएको छ ।

सचिवालयमा एक्लिए प्रधानमन्त्री 

केन्द्रीय कमिटी बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो । स्रोतकाअनुसार ‘बैठक एकदमै राम्रो भयो, एमसीसीबारे अलिअलि कुरा आएछ । केहीले इज्जत धान्न पनि उठाउँछन्’ भन्दै प्रधानमन्त्रीले बैठक सुरु गरेका थिए ।

उनको प्रष्ट आशय एमसीसी संसदबाट अनुमोदन गर्ने गरी निर्णय गरौं भन्ने थियो । तर अर्का अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले खण्डन गरे ।

बैठकमा करिव ८० प्रतिशतले एमसीसीबारे आलोचनात्मक धारणा राखेको भन्दै उनीहरुले यथास्थितिमा संसदबाट अनुमोदन गर्ने निर्णय गर्नु वा बैठकमा उठेको मतलाई सम्बोधन नगर्नु घातक हुने धारणा राखेका छन् । यसबारे थप अध्ययन गरेर मात्र निर्णयमा पुग्नु उपयुक्त हुने अधिकांश नेताको जोड थियो ।

त्यसपछि भने ओली ‘एमसीसी अस्वीकार गर्छौं भनेर निर्णय गरे भइहाल्यो, किन घुमाएर कुरा गर्नु पर्‍यो’ भन्दै कडि्कएको एक नेताले बताए । ती नेताले भने, ‘प्रधानमन्त्रीले कम्युनिस्टहरुले सरकार चलाउन सक्दैनन् भन्ने प्रमाण हो योसमेत भन्नभुयो ।’

तर प्रचण्ड, नेपाल, खनालसँगै अरु नेताहरुले पनि हतारमा निर्णय गर्न नहुने धारणा राखे । स्रोतकाअनुसार एमसीसीबारे पारित गर्ने वा अस्वीकार गर्ने एक रोज्नुपर्ने प्रस्तावमा प्रधानमन्त्री ओली सचिवालयमै एक्लिएका छन् । एमसीसी पास गर्नुपर्ने मत राख्ने ईश्वर पोखरेल लगायतका नेताहरुले समेत खुलेर साथ नदिएपछि प्रधानमन्त्री ओलीले ल त ल …भन्दै अध्ययन कार्यदल गठन गर्न सहमति जनाएको स्रोतको दाबी छ ।

त्यही सहमतिका आधारमा प्रचण्डले केन्द्रीय कमिटी बैठकमा अध्ययन कार्यदल गठनको जानकारी गराएका हुन् । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने एमसीसीबारे निकट भविश्यमा टुंगो लगाउने बताए ।

के गर्छ कार्यदलले ?

कार्यदलका सदस्य रावलले एमसीसी, अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अंग भएको दाबी गर्दै आएका छन् । अर्का सदस्य परराष्ट्रमन्त्री ज्ञवालीले भने त्यसको खण्डन गर्दै आएका छन् ।

नेताहरुकाअनुसार यो कार्यदलले सुरुमा एमसीसी सम्झौता र इण्डो प्यासिफिक रणनीतिका डकुमेन्टहरुको अध्ययन गर्नेछ र तथ्यहरु प्रष्ट्याउने काम गर्नेछ । त्यसपछि यसबारे के गर्ने भन्ने उपाय पनि पार्टीलाई सुझाउनेछ ।

नेकपा सचिवालयका एक सदस्य भन्छन्, ‘पहिलो त यो कार्यदलले पार्टीमा भएको बहस निरर्थक होइन भन्ने प्रष्ट पार्नेछ । त्यसपछि यसमा संशोधन वा अर्को कुनै प्रस्ताव पास गरेर जाने कि कसरी जाने भनेर पार्टीलाई पनि उपाय सुझाउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment