Comments Add Comment

‘युनिभर्स बोस’ माथि अग्रवाल घरानाको जुवा !

ईपीएल : क्रिस गेलले लगाउलान् छक्काको भेल ?

१८ माघ, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको चौथो संस्करण सुरु हुन झण्डै डेढ महिना बाँकी छ, तर माहौल अहिल्यै गर्माइसक्यो । यसपालिको ईपीएल अघिल्ला संस्करणहरुभन्दा विशेष र प्रतिक्षित किन बनेको छ भने टी-२० का ग्लोबल सुपरस्टार क्रिस गेल यसमा जोडिएका छन् ।

(गेलसँगै अरु केही प्रख्यात क्रिकेटरहरु पनि चौंथो ईपीएलमा आवद्ध भएका छन् । तर, यो आलेख चाहिँ टी-२० क्रिकेटका ‘युनिभर्स बोस’ भनेर चिनिने गेलमाथि केन्द्रित छ ।)

टी-२० क्रिकेटमा विश्वकिर्तिमानका विस्कुन लगाएका गेललाई त्रिवि क्रिकेट मैदानमा ब्याट घुमाइरहेको हेर्न पाउनु नेपाली क्रिकेटप्रेमीहरुका लागि गजबको मौका हो । चाहे क्रिस गेलको ब्याटबाट ठूल्ठूला छक्का निस्किउन्, चाहे नेपाली बलरले उनको विकेट उखेडुन्, दुवै अवस्थामा रोमाञ्चकताको कमि हुने छैन । अर्थात् फ्यानहरुका लागि दुवै हातमा लड्डु ।

(तथापि, गेल चाँडै आउट हुँदाको रोमाञ्चकता भन्दा उनले ठूला सटहरु हान्दाको रोमाञ्चकता लामो हुने छ।)

पोखरा राइनोजमा आवद्ध हुनासाथ गेलले टि्वटरमा भिडियो सन्देश जारी गरे । उनले आफैंले आफूलाई ‘किङ अफ टी-२० क्रिकेट’ संज्ञा दिँदै भनेका छन्, ‘मेरो आँधी हेर्न तयार हुनुस् ।’

हो पनि । आफ्नो उत्कृष्ट फर्ममा रहँदा गेल आँधीतुल्य हुन्छन् । २० ओभरको क्रिकेटमा त उनका लागि असम्भव केही लाग्दैन । जुनसुकै अवस्थाबाट टिमका लागि जित निकाल्न सक्छन् । खासगरी ठूला छक्काका लागि कहलिएका छन् उनी । भिडियो गेम खेलेजस्तो एकपछि अर्को बलमा छक्कामाथि छक्का हान्नसक्ने क्षमता उनमा छ ।

टी-२० क्रिकेटमा सर्वाधिक म्याच स्कोर, सर्वाधिक सतक, सर्वाधिक छक्का, सर्वाधिक करिअर स्कोर लगायत विश्वकिर्तिमान गेलका नाममा छन् । उनले अहिलेसम्म दुई अन्तर्राष्ट्रिय सहित २२ वटा टी-२० सतक हानिसके । यो रेकर्डको आसपास पनि छैनन् अरु ब्याट्सम्यान ।

एउटा क्रिकेटिङ वेबसाइटले सूत्रको हवाला दिँदै ७० हजार डलरमा गेललाई किनिएको समाचार प्रकाशित गरेको छ । यसमा जमैकादेखि प्लेनको विजनेस क्लासमा आउजाउ र पाँचतारे होटलमा बसाइँ खर्चसमेत जोड्दा ८ अंकको रकम पुग्न सक्छ

अँ, गेलका कमजोरी पनि थुप्रै छन् । ‘स्ट्राइक रोटेट’ मा उनी त्यति विश्व्ाास गर्दैनन् । प्रायः ठूला सटमै निर्भर हुन्छन् । शून्य फुटवर्कमा ‘स्ट्यान्ड एन्ड डेलिभर’ गर्ने गेलको शैली क्रिकेटमा त्यति अनुकरणीय मानिँदैन । उनी संयमित ब्याटिङ गर्न जान्दैनन् । उनको ब्याटिङ ‘कन्सिस्टेन्ट’ पनि छैन । कहिलेकाहीँ सिंगो प्रतियोगितामा उनी चल्दैनन् ।

खराब फर्ममा रहँदा साह्रै दयनीय बन्छन् गेल । यस्तो अवस्थामा पनि पुग्छन्, मानौं उनले ब्याटिङ गर्नै बिर्सिए । सबैभन्दा धेरैपटक शून्यमा आउट हुने ब्याट्सम्यानको सूचीमा गेल दोस्रो नम्बरमा छन् । २७ पटक खाता नखोलि आउट भएका गेलभन्दा अगाडि रहेका वेस्ट इन्डिजकै ड्वेन स्मिथ २८ चोटि डक आउट भएका छन् । यस हिसाबले क्रिस गेलमाथि लगानी गर्नु भनेको एक हिसाबको जुवा नै हो ।

गेल अहिले आफ्नो उत्कृष्ट लयमा छैनन् । हार्मस्ट्रिङ इन्जुरीका कारण केही समय क्रिकेटबाट अलग रहेका उनले हालै बंगलादेश प्रिमियर लिगको ‘सेकेन्ड हाफ’ मा पुनरागमन गरेका थिए । उनले चटोग्राम च्यालेन्जर्सका लागि चार खेल खेल्दै १ सय ४४ रन बटुले । यो मामुली प्रदर्शन हो ।

त्यसअघि उनले अघिल्लो सिजनको जान्सी प्रिमियर लिग खेलेका थिए । त्यसमा फ्लप रहेका गेलले २०१९ को बाँकी सिजन क्रिकेटबाट रेस्ट लिए । भारतविरुद्ध वेस्टइन्डिजको एकदिवसीय सिरिजमा समेत उनी उपलब्ध भएनन् । त्यसपछि उनले क्रिकेटबाट सन्यास लिनसक्ने अनुमान गरिएको थियो । तर, हालैको एउटा प्रेस मिटमा गेलले अझै केही समय टी-२० क्रिकेट खेल्ने बताएका छन् ।

गेलले सन् २००० बाटै अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका हुन् । उनका धेरैजसो समकालिन क्रिकेटरहरुले सन्न्यास लिइसकेका छन् ।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान विनोद दास गेलको आगमनले उत्साहित र त्रसित दुवै भएको बताउँछन् ।

उनले भने, ‘पर्सनल्ली भन्नुपर्दा उत्साहित त छु नै, यो स्तरको ब्याट्सम्यानलाई हाम्रै मैदानमा खेलेको हेर्न पाउनु पनि ठूलो अवसर हो । अर्कोतर्फबाट चिन्तित पनि छु । किनभने पनि एउटा फ्रेन्चाइज टिमसँग आवद्ध छु । यदि हाम्रो टिमविरुद्ध उनको ब्याटिङ चल्योे भने त्यो हाम्रोलागि दुस्वप्न बराबर हुन सक्छ ।’

उनले हाँस्दै थपे, ‘मेरो टिम बाहेकका खेलमा भने गेलले छक्का चौका वर्षाएको हेर्न चाहन्छु ।’

गेलको मूल्य कति ?

यतिबेला सबैलाई कौतुहल छ, पोखराले गेललाई भित्र्याउन कति रकम खर्चियो ? तर, ईपीएलको आयोजक र फ्रेन्चाइजले विदेशी खेलाडीहरुको खरिद मूल्य गोप्य राख्ने गरेका छन् । स्वदेशी खेलाडीसँग ठूलो अन्तराल भएकाले यस्तो गरिएको हुन सक्छ ।

यस विषयमा हामीले पोखरा राइनोजकी प्रमुख दीपा अग्रवालसँग प्रश्न गर्दा उनले खुलाउन नमिल्ने बताइन् । ‘ईपीएलमा विदेशी खेलाडीहरुको मूल्य सार्वजनिक नगर्ने नीति छ । त्यसैले म यसमा केही बताउन सक्दिनँ,’ उनले भनिन् ।

एउटा क्रिकेटिङ वेबसाइटले सूत्रको हवाला दिँदै ७० हजार डलरमा गेललाई किनिएको समाचार प्रकाशित गरेको छ । यसमा जमैकादेखि प्लेनको विजनेस क्लासमा आउजाउ र पाँचतारे होटलमा बसाइँ खर्चसमेत जोड्दा ८ अंकको रकम पुग्न सक्छ । अर्थात् एक करोडको नजिक । ईपीएलको कुनै पनि फ्रेन्चाइजका लागि यो रकम अथाह हो ।

यदि गेलका लागि एक करोड खर्चिन पोखरा राइनोज तयार भएको हो भने त्यो अत्यधिक महंगो मान्नुपर्ने हुन्छ । किनकी ईपीएलमा एउटा टिमले अधिकतम ७ वटा म्याच खेल्ने हो । त्यसमा पनि गेलले २ वटा म्याच मात्रै खेल्ने सम्भावना रहेको बताइँदै छ । किनकी २९ मार्चबाट आईपीएल सुरु हुँदैछ । त्यसको सेड्यूलले ईपीएलमा गेलको सहभागिता प्रभावित बन्ने छ ।

गेलसँग सम्झौता गर्दा उनले कतिवटा म्याच खेल्न सक्छन् भन्नेबारे छलफल नभएको पोखरा राइनोजकी अग्रवाल बताउँछिन् ।

उनले भनिन्, ‘उहाँले कतिवटा म्याच खेल्नुहुन्छ भन्ने मात्रै महत्वपूर्ण होइन । उहाँको उपस्थिति नै ठूलो कुरा हो । उहाँ सबै म्याचमा उपस्थित हुन सक्नुभएन भने पनि हामीसँग रिप्लेसमेन्ट प्लेयरहरु हुनुहुन्छ ।’

आईपीएलमा गेललाई २ करोड भारु (२ करोड २० लाख रुपैयाँ) मा पञ्जाबले किनेको थियो । करिब दुई महिना चल्ने यो प्रतियोगितामा उनले अधिकतम १७ म्याच खेल्न सक्छन् । यस हिसाबले हेर्दा पोखरा फ्रेन्चाइजले उनलाई आईपीएलमा भन्दा पनि महंगोमा खरिद गरेको प्रतित हुन्छ । जबकि आईपीएल र ईपीएलका फ्रेन्चाइजले गर्ने आम्दानी तुलनायोग्य नै छैन ।

सन्दिप लामिछानेसहित भेट्रान बसन्त रेग्मी, ललित राजवंशीजस्ता स्पिनरहरु गेललाई अप्ठेरोमा पार्न सक्ने क्षमता राख्छन्

गेलजस्तो खेलाडीलाई नेपाल ल्याउन पोखरा राइनोजले देखाएको साहसलाई सह्राना गर्नुपर्छ । तर, अर्को सिजनमा पनि उनी वा उनी स्तरका खेलाडीलाई निरन्तरता दिन सक्छन् वा सक्दैनन् भन्ने प्रश्न पनि उत्तिकै टड्कारो छ ।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान विनोद दासको भनाइमा फ्रेन्चाइजहरुले धान्न सकिने देखेर नै ठूलो लगानी गरी गेल लगायतका महंगा खेलाडीहरु भित्र्याएका हुन् ।

दास भन्छन्, ‘हाम्रो क्रिकेट पनि विस्तारै ग्लोबल हुने क्रममा छ । विश्वचर्चित खेलाडीहरुले ईपीएलमा सहभागिता जनाउँदा यसको मार्केट भ्यालु बढ्छ नै । यही विश्वासमा फ्रेन्चाइजहरुले लगानी गरेको हुनुपर्छ । यो नेपाली क्रिकेटका लागि राम्रो संकेत हो ।’

यसकारण उनलाई रोज्यौं : दीपा अग्रवाल 

व्यापारिक घरानासँग जोडिएको पोखरा राइनोज अरु फ्रेन्चाइजभन्दा आर्थिकरुपमा सवल छ । अरु व्यवसायबाट कमाएको पैसालाई यस घरानाले क्रिकेटमा खन्याएको देखिन्छ ।

यस फ्रेन्चाइजकी प्रमुख दीपा अग्रवाल क्रिस गेललाई भित्र्याउने निर्णय लिँदा आर्थिक लाभको दृष्टिकोणबाट मात्रै आफूहरुले नसोचेको बताउँछिन् । समग्र नेपाली क्रिकेटकै हितलाई लिएर आफूले जोखिम उठाएको उनको भनाइ छ ।

अग्रवालको भनाइ जस्ताको त्यस्तै :

क्रिकेटप्रेमीहरुमा क्रिस गेलको डिमान्ड हाई छ । विश्वमै उहाँको फ्यान फलोइङ धेरै छ र ईपीएलको स्तर पनि बढ्दैछ । त्यसो ह्वाइ नट ? फ्यानहरुको जे डिमान्ड छ हामीले त्यो हेर्ने हो ।

क्रिस गेल नेपालमा आउँदा त्यसको फाइदा पोखरा राइनोजलाई मात्र हुँदैन । समग्र नेपाली क्रिकेटलाई नै हुन्छ । उहाँसँगै खेल्दा वा उहाँविरुद्ध खेल्दा नेपाली खेलाडीहरुले धेरै कुरा सिक्न सक्छन् । अर्को कुरा, नेपाली क्रिकेट प्रेमीहरुले आफ्नै मैदानमा उनको खेल प्रत्यक्ष हेर्न पाउनेछन् । यस्तो कहिल्यै सोचिएको थियो ? यो समग्र नेपाली क्रिकेटकै लागि उत्साहको कुरा हो ।

नेपालमा सबै चिज गाह्रै छ । यो सजिलो छनोट होइन । बल्ल हिजो कन्ट्राक्ट साइन भयो । बिस्तारै आर्थिक व्यवस्थापनको प्लानहरु गरिरहेका छौं । त्यसलाई कति एक्जिक्यूट गर्न सक्छौं भन्ने आफ्नो ठाउँमा छ । हाम्रो आम्दानीको स्रोत भनेको जर्सीको लोगो, स्पोन्सरसीप, एसोसिएट स्पोन्सरहरु हुन् ।

आर्थिकरुपले हेर्ने हो भने हामी तीन संस्करणसम्म माइनसमै छौं । तर, हामीले दीर्घकाललाई हेरेर काम गरिरहेका छौं । बच्चा जन्मिनेवित्तिकै एकैचोटि ठूलो हुँदैन नि । हामी पनि आशावादी छौं कि भविष्यमा राम्रो हुन्छ ।

नेपाली स्पिनरविरुद्ध गेल

ईपीएल आयोजकले यसपालि प्रत्येक फ्रेन्चाइजलाई टेस्ट राष्ट्रबाट खेलिसकेको कम्तिमा एकजना खेलाडी समावेश गर्नैपर्ने नियम बनायो । यसमा सबै फ्रेन्चाइजहरुले बलरभन्दा ब्याट्सम्यानमा नै रुचि देखाएका छन् । अहिलेसम्म कुनै पनि टिमले विश्वस्तरीय बलर भित्र्याउने पहल गरेका छैनन् ।

यो स्वाभाविक पनि हो । किनकी नेपालमा बलरभन्दा पनि राम्रा ब्याट्सम्यानको खडेरी छ । टी-२० लिगहरुमा प्राय टिमहरु विदेशी ब्याट्सम्यानमै निर्भर रहेको पाइन्छ । त्यसैले विदेशी ब्याट्सम्यान भित्र्याएर ब्याटिङ पक्ष मजबुत बनाउने होडमा छन् टिमहरु ।

क्रिस गेलको कुरा गर्दा, तुफानी मुडमा रहेको बेला उनले कुनै पनि बलरलाई बाँकी राख्दैनन् । तर, सामान्यतया स्पिनरभन्दा फास्ट बलरमाथि गेलको ब्याट बढी जाग्छ । अहिले नेपालमा स्तरीय फास्ट बलर छैनन् । त्यसैले उनले टीयू क्रिकेट ग्राउन्डमा नेपाली फास्ट बलरहरुको राम्रै धुलाई गर्न सक्ने अनुमान गरिएको छ ।

गेलको आँधी रोक्ने हो भने कुनै पनि टिमले स्पिनर प्रयोग गर्नुको विकल्प छैन । सन्दिप लामिछानेसहित भेट्रान बसन्त रेग्मी, ललित राजवंशीजस्ता स्पिनरहरु गेललाई अप्ठेरोमा पार्न सक्ने क्षमता राख्छन् ।

विदेशी बलरहरु हायर नगरिएकाले यो प्रतियोगितामा सहभागी एक मात्र विश्वस्तरीय बलर नेपालकै सन्दिप हुन् । सबैजसो अन्तर्राष्ट्रिय टी-२० लिग खेलेर एकसे एक ब्याट्सम्यानको विकेट चट्काइसकेका उनले घरेलु मैदानमा क्रिस गेलविरुद्ध गर्ने बलिङ प्रतियोगिताकै हेर्नलायक पक्ष हुनेछ । हालै बिग बासमा उत्कृष्ट प्रदर्शन गरेर नेपाल फर्किएका सन्दिपले ईपीएलमा काठमाडौं किङ्स ११ बाट खेल्दैछन् ।

सन्दिपसँग आईपीएल लगायतका विभिन्न फ्रेन्चाइज लिगमा गेलविरुद्ध बलिङ गरेको अनुभव छ । अघिल्लो आईपीएलमा उनले गेलको विकेट पनि लिएका थिए । दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पञ्जाबबीचको खेलमा गेल र सन्दिपको रोचक भिडन्त भएको थियो । उक्त म्याचमा सन्दिपको बलिङमा गेलले आक्रामक रवैया देखाएका थिए । तर, अन्ततः उनको विकेट सन्दिपको पोल्टामा गयो । सन्दिपमाथि ४ चौका र एक छक्का प्रहार गरेका गेल ६९ रनको स्थितिमा सन्दिपकै बलमा क्याचआउट भएका थिए ।

क्यारेबियन लिगको २०१८ को संस्करणमा सन्दिप पनि गेलकै टिममा थिए । गेलको कप्तानीमा रहेको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका सन्दिप अघिल्लो वर्षको सीपीएलमा भने बार्बाडोस ट्राइडेन्ट्समा आवद्ध भए ।

रमाइलो के भने सन्दिप जन्मिनुभन्दा एक वर्ष अगाडि नै क्रिस गेलले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका हुन् ।

टिम मालिकहरुलाई धन्यवाद : पारस खड्का

ईपीएलमा क्रिस गेलको उपस्थिति र यसले पार्ने प्रभावलाई लिएर नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग गरिएको संक्षिप्त कुराकानीः

क्रिस गेल नेपालमा ईपीएल खेल्न आउने कुराले कति उत्साहित हुनुहुन्छ ?

विश्वस्तरीय खेलाडीहरु आउनु हाम्रो क्रिकेटको लागि राम्रो संकेत हो । यसलाई नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा हासिल गरिरहेका उपलब्धीकै परिणामको रुपमा हेर्नुपर्छ । हामी अहिले ओडीआई कन्ट्री हौं । टी-२० विश्वकप पनि खेलिसकेका छौं । त्यसैले विश्वभरका खेलाडीको ध्यान तानिएको छ । साथै, नेपालमा फ्रेन्चाइज क्रिकेटको चार्मले गर्दा पनि उनीहरु आकर्षित भएको हुनुपर्छ ।

यसो भनिरहँदा गेल जस्ता विश्वस्तरीय खेलाडीहरु भित्र्याउने टिम वनर्सहरुलाई धन्यवाद दिन पनि हामीले बिर्सिनु हुँदैन । यसले हाम्रा युवा खेलाडीहरुलाई ठूलो एक्सपोजरको मौका दिएको छ ।

अहिले पनि घाटामै चलिरहेका छन् फ्रेन्चाइजहरु । गेलजस्ता खेलाडीहरु भित्र्याउने सिलसिलालाई आगामी संकरणमा निरन्तरता दिन सकिएला त ?

टिमहरुले आफ्नो प्लान बनाएका होलान् । हामी आशावादी हुनुपर्छ । भावि दिनमा नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रदर्शनले पनि धेरै कुरा निर्धारण गर्ने छ ।

व्यक्तिगत रुपमा तपाईंचाहिँ क्रिस गेलको खेल हेर्न कति उत्साहित हुनुहुन्छ ? कि विपक्षी टिमको खेलाडी भएकाले त्रसित हुनुहुन्छ ?

हा…हा… । त्यस्तो हुँदैन । गेम हो । खेलिसकेपछि प्रतिस्पर्धा गर्नैपर्छ । कस्तो हुन्छ भने खेल सुरु भएपछि बल र ब्याटबीचको फाइट हुने हो । इन्डिभिजुअल खेलाडीलाई मात्र हेरेर हुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि उहाँ आउँदै हुनुहुन्छ । उहाँजस्ता खेलाडीको आगमनले लिगको स्तर बढेको छ । नेपाली क्रिकेट राम्रो हुँदैछ भन्ने विश्वस्तरमा सन्देश गएको छ ।

तपाईंले क्रिस गेलको गेम कत्तिको फलो गर्नुहुन्छ ? उहाँलाई कसरी चिन्नुभएको छ ?

उहाँ एउटा ठूलो नाम हो । हामी सबैले फलो गर्छौं । टी-२० मा त सबैले उहाँलाई मानेका छन् ।

व्यक्तिगतरुपमा कस्तो हुनुहुन्छ थाहा छैन । अहिलेसम्म प्रत्यक्ष भेटेको छैन । सामाजिक सञ्जालमा हेर्दा रमाइलो खालको देखिनुहुन्छ । तर, सामाजिक सञ्जालमा मात्रै हेरेर व्यक्तिको मूल्यांकन हुँदैन ।

गेललाई बलिङ गर्नचाहिँ कत्तिको लालायित हुनुहुन्छ ?

त्यो म्याचको सिचुयसनमा भर पर्छ । हामीले कस्तो खालको रणनीति बनाउँछौं त्यसमा भर पर्छ । गेल क्रिजमा आउनेबित्तिकै मैले नै बलिङ गर्नुपर्छ भन्ने छैन । तर, पनि उहाँजस्तो ब्याट्म्यानलाई बलिङ गर्नु हामी सबैका लागि राम्रो अवसर हो । यदि नेपालको क्रिकेटले राम्रो गर्दै गयो भने आगामी दिनमा पनि उहाँजस्तो खेलाडीहरुसँग खेल्ने मौका धेरै आउने छन् ।

नेपालका फ्रेन्चाइज लिगहरुमा स्वदेशी खेलाडी र विदेशी खेलाडीको पारिश्रमिकमा ठूलो अन्तराल पाइन्छ । यसलाई कसरी लिनुहुन्छ ? 

खेलाडीहरुकै बलबुतामा नेपालको क्रिकेट यहाँसम्म आएको हो । त्यसैले उनीहरुले राम्रो पारिश्रमिक पाउनुपर्छ । मलाई लाग्छ भोलि नेपाली खेलाडीले पनि राम्रो मूल्य पाउनेछन् । नेपाली क्रिकेटरहरुको फाइनान्सियल स्टाटस माथि उक्लिनुपर्छ भन्ने पक्षमा छु म ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment