Comments Add Comment
अपराध :

जब ‘मोस्ट वान्टेड’ व्यक्तिले प्रहरीलाई सोधे, ‘बंगलादेश कसरी जानू ?’

१६ माघ, काठमाडौं । बंगलादेशको गाइबन्धाका ४४ वर्षीया दुला मियाँ राम्रोसँग लेखपढ गर्न जान्दैनन् । ज्याला मजदुरी गरेर जीविका चलाइरहेका उनलाई वैदेशिक रोजगारीमा गएर राम्रो आम्दानी गर्ने चाह थियो ।

तर, न उमेरले साथ दिइरहेको थियो न बंगलादेशबाट विदेश जान सहज नै थियो ।

उल्लेख्य कमाइ गर्ने बाटोको खाजीमै रहेका वेला मियाँ एक जना विचौलियासम्म पुगे, जसले ३ लाख टाका (नेपाली चार लाख रुपैयाँ) मा लेबनान पुर्‍याएर आकर्षक रोजगारी दिने प्रलोभन देखाए । उमेरको पनि कुनै हदबन्दी नभएको सुनाए ।

त्यसपछि मियाँलाई के चाहियो ? उनी सहजै लोभिए । अलिकति बचाएको रकममा ऋण गरेर लिएको पैसा थपेर ३ लाख टाका पुर्‍याए ।

यद्यपि, विदेश गएर पैसा कमाउने बाटो उनले सोचे जस्तो सहज भएन ।

पैसा लिएकै दिनदेखि विचौलियाको बोली फेरिन थाल्यो । हप्ता र महिना हुँदै वर्ष दिन वित्दा पनि उनलाई झुलाउन छाडिएन ।

रकम फिर्ता माग्दा पनि दिएनन् । बरु सम्पर्कविहीन भए ।

तीन वर्षपछि उनी बल्ल भेटिए तर, आफूले सनव ट्राभल्सका अध्यक्ष ४५ वर्षीय मुहिउद्दिन अहमद परवेजलाई त्यो रकम दिएको बताए ।

यत्तिका समयपछि  भेटिएका अहमदले पनि फेरि विदेश पठाइदिने आवश्सन दिन थाले ।

‘विदेशै नपठाए पनि डुबेको पैसा त फर्किएला भन्ने लागेको थियो’, मियाँले भनेका छन्, ‘फेरि पैसा फसिसकेकाले जे–जे भन्यो, त्यही मान्नुको विकल्प पनि थिएन ।’

बंगलादेशमा ११ दिन राखेर नेपाल

बंगलादेशको राजधानी ढाकास्थित एक होटलमा करिब तीन साताअघि उनलाई बोलाइएको थियो । बाटोमा खर्च हुनसक्ने भएकाले गाउँबाट खोजखाज गरेर १० हजार टाका लिएर उनी आएका थिए ।

तर, ढाकाकै होटलमा ११ दिनसम्म बस्दा ६ हजार खर्च भयो ।

अहमदले भने विदेश पठाउने छाँट देखाएका थिएनन् । आश्वसन पनि दिन छाडेका थिएनन् ।

१२औं दिनमा नेपाल हुँदै लेबनान लैजाने सुनाए ।

योजनाअनुसार उनकै ट्राभल एजेन्सीबाट ६ माघका लागि ढाका–काठमाडौं उडानको दुई वटा टिकट काटियो । राहदानी नम्बर बीबी ०४२९२३६ वाहक अहमद पहिले पनि ६ पटक नेपाल आइसकेका थिए ।

उनले काठमाडौंको सोल्टीमोडमा रहेको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठा पहिल्यै बुक गरिसकेका थिए । सोहीअनुसार राति साढे ९ बजे काठमाडौंमा ओर्लिँने वित्तिकै उनीहरु ट्याक्सी लिएर होटलतिर लागे ।

भोलिपल्ट दिउँसो २ः४५ तिर दुवै जनासँगै खाना खान ओर्लिए । अपरान्ह ३ः४० बजे दुई जना बरण्डामा बसेर घाम ताप्दै विदेश जाने विषयमै कुराकानी गरे ।

तर, अहमदले उनलाई नेपालबाट विदेश पठाउने कुरामा पनि एकिन गराउन सकेनन् । मियाँले भिषाबारे सोध्दा पनि उनीसँग चित्त बुझ्दो जवाफ थिएन ।

पहिल्यै पैसा डुबेर पीडामा रहेका मियाँलाई फेरि उस्तै दुःख पाइएला भन्ने डर भयो ।

विवाद चर्किँदै गएपछि अहमदले पनि फ्याट्ट विदेश पनि नपठाउने र रकम पनि फिर्ता नहुने भनिदिए ।

यो पनि पढ्नुहोस काठमाडौंमा बंगलादेशी नागरिकको हत्या, मियाँ पुगे सीमापारि !

रिसको झोंकमा हत्या

अहमदको कुरा सुनेर रिसले चुर भएका मियाँले केही सोच्नै सकेका थिएनन् ।

ढाका विमानस्थलमा अहमदले नै एक बोतल ‘स्कच विस्की’ किनेर बोक्न दिएका थिए । त्यही उचालेर अहमदको टाउकोमा प्रहार गरे ।

‘टाउकोमा लागेपछि लरबराउँदै ओछ्याउनमा लड्यो’, मियाँले प्रहरीसँग भनेका छन्, ‘त्यसपछि घाँटीमा दुई पटक बोतलले नै हानेँ ।’

अहमद ढलेपछि मियाँले आफ्नो कपडा र शरीरमा लागेको रगत पनि धोइपखाली गरे । र, होटलको पछाडि रहेको भर्‍याङबाट लुसुलुसु सडकमा निस्किए ।

बाटोमा करिब २० मिनेट बसेका उनको मनमा कता जाने ? के गर्ने ? भन्ने सोच थिएन ।

त्यसैले भेटिएका एक व्यक्तिलाई सोधे, ‘बोर्डर किदर हे ?’

बङ्ला र हल्का हिन्दी मात्र बोल्न जान्ने उनलाई ती व्यक्तिले कलंकी जान सुझाए । त्यहीअनुसार कलंकी हुँदै वीरगञ्जको गाडी चढेर उनी सीमापारि पुगे ।

त्यतिञ्जेल होटलमा अहमदको हत्या भएको कसैलाई थाहा थिएन । मियाँ पारि पुगेको दिन ८ गते साँझ मात्र होटलका कर्मचारीले अहमदको शव रगतमा लतपतिएको अवस्थामा फेला पारे । र, प्रहरीलाई खबर गरे ।

जब भारतीय प्रहरीले रोक्यो..

रक्सौल नाकामा पुगेपछि भारतीय प्रहरीले मियाँसँग राहदानी मागे । तर, भारतको भिषा नदेखेपछि फर्काउन खोजे ।

‘नपढेको मान्छे यति सोझोपन देखाएछ कि इण्डियन पुलिसलाई नेपालमा हत्या गरेर आएको भनेर सबै बेलिविस्तार लगाएछ’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘पुलिसले पनि उनलाई कोलकत्तामा रहेको बंगलादेशी कन्सुलरको कार्यालयमा जान सुझाएछन् ।’

मियाँ कोलकता पुगे । कन्सुलर विभागका अधिकारीसमक्ष आफू अलपत्र परेको भन्दै बंगलादेश पठाइदिन आग्रह गरे ।

प्रहरी अधिकृतका अनुसार उनलाई बंगलादेशमा हत्याको सजाय फाँसी छ भन्ने पनि थाहा थिएन । त्यसैले उनी स्वदेश पुग्न पाए सजायबाट बचिन्छ भन्ने सोचमा थिए ।

तर, विभागका अधिकारीहरुले उनको राहदानी हेरेर नेपाल नै गएर त्यहीँबाट फर्किन सुझाए । उनी लुसुलुसु फर्किएर काँकरभिट्टा नाका पुगे ।

बुधबार नेपाल–भारत सीमा क्षेत्र काँकरभिट्टा आइपुगेका उनले पर्यटक प्रहरीका असई सुवास शेर्पालाई सोधे, ‘बंगलादेश जानु छ, अलपत्र परेँ । के गर्ने ?’

शेर्पाले सामान्य नै सोचेर काठमाडौंमा रहेको दूतावासमा जान भनिदिए र गाडी चढ्ने बाटो देखाइदिए ।

साँझ शर्पाले अनलाइनमा तस्वीरसहित समाचार देखे, ‘काठमाडौंमा बंगलादेशी नागरिकको हत्या, मियाँ सीमापारि ।’

बल्ल उनी झसंग भए । किनकि, दिउँसो भेट भएका व्यक्ति र समाचारमा भएको फोटो मिल्थ्यो ।

समाचारमा कालिमाटीका डीएसपी रुगम कुँवरलाई उदृत गरिएको थियो । त्यसैले उनले कुँवरलाई फोन गरेर दिउँसो भेटिएको व्यक्तिबारे जानकारी गराए ।

घटनाबारे जानकारी गराउँदै डीएसपीद्वय होविन्द्र बोगटी र रुगम कुँवर ।

‘मैले गाडी नम्बरसँगै चालकको सम्पर्क पनि पत्ता लगाउन आग्रह गरेँ’, कुँवर सम्झन्छन्, ‘चालकलाई सम्पर्क गरेर सोध्ने क्रममा गाडी लाहानमा पुगिसकेको खुल्यो ।’

शेर्पाले भनेको हुलिया र प्रहरीले अध्यागमनबाट प्राप्त गरेको मियाँको तस्वीर उस्तै थियो । त्यसैले प्रहरी गाडीमा भएको व्यक्ति नै खोजी सूचीमा रहेका  हत्या आरोपी हुनसक्ने आशंका गरेको थियो ।

बसका चालकलाई मियाँबारे संक्षिप्त जानकारी गराएर प्रहरी अधिकृतले गाडीलाई नजिकैको इलाका प्रहरी कार्यालय, लाहानमा रोक्न भने । चालकले सहमति जनाए ।

प्रहरीले लहानका डीएसपी शरद थापा क्षेत्रीलाई पनि मियाँबारे खबर गरिसकेको थियो ।

प्रहरी कार्यालय छेऊ गाडीलाई घेरा हालेर मियाँलाई पक्राउ गरी हेर्दा उनी राजधानीमा भएको अहमद हत्या प्रकरणकै आरोपी भएको खुल्यो । प्रहरी गरेको सोधपुछमा उनले आफू हत्या गरेर भागेको पनि स्वीकारे । र, राति नै प्रहरीले उनलाई काठमाडौंतिर ल्यायो ।

यो पनि पढ्नुहोस चार लाखका कारण काठमाडौंमा बंगलादेशी नागरिकको हत्या

दूतावासले पनि चासो दिएको घटना

बंगलादेशको घराना परिवारका व्यक्ति थिए, अहमद । उनी काठमाडौंको मल्ल होटल, होटल र्‍याडिसन, होटल सोल्टी लगायतमा रहेको क्यासिनोका नियमित ग्राहक थिए ।

अहमदको हत्या भएको जानकारी पाएलगत्तै नेपालस्थित बंगलादेशी दूतावासले पनि चासो दिएको थियो । दूतावासका अधिकारीहरूले गम्भीरतापूर्वक अनुसन्धान गरेर आरोपी पत्ता लगाइदिन नेपाल प्रहरीलाई आग्रह गरेका थिए ।

आरोपी भारततिर भागिसकेको देखिएकाले यो घटना वर्षौंसम्म ‘अनसल्भ्ड केश’का रुपमा रहन सक्नेमा प्रहरीलाई डर थियो । उनी भारतमै लुकेर बस्न सक्ने आशंका गरिएको थियो ।

तर, राम्रो अध्ययन नभएकै कारण फर्किएर नेपाल आउँदा मियाँ पक्राउ परेको प्रहरी अधिकृतहरु बताउँछन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी भन्छन्, ‘भारत पुगिसकेका व्यक्तिलाई पनि पक्राउ परेका छन् । हामीले उनीमाथि कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’

तस्वीरहरूः आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment